हेटौंडा/जिल्ला प्रशासन कार्यालय मकवानपुरले राति ९ बजेपछि देउसीभैलो खेल्न रोक लगाएको छ । प्रशासनले मंगलबार विज्ञप्ति जारी गर्दै राति ९ बजेपछि देउसीभैलोलगायत साँस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम नगर्न आग्रह गरेको हो ।
प्रशासनले देउसीभैलोलगायत साँस्कृतिक कार्यक्रम गर्दा अन्य व्यक्ति, छिमेकी, टोल, समुदाय र सार्वजनिक जीवनमा असर नपर्ने गरी गर्नसमेत आग्रह गरेको छ । प्रशासनले पाटका, आतिसबाजी, झिरझिरे, भुईंचम्पाजस्ता विष्फोटजन्य पदार्थ प्रयोग नगर्न र यस्ता पदार्थ निकासी, ओसारपसार एवम् बिक्रीवितरणमा नगर्न आग्रह गरेको छ ।
जुवातास, लंगुरबुर्जा खेल्ने र खेलाउने जस्ता कानुनले निषेध गरेका क्रियाकलाप नगर्न, सार्वजनिकस्थलमा मादकपदार्थ सेवन गरी होहल्ला तथा झैझगडा नगर्न पनि प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । २०७९ साउन ११ को नेपाल राजपत्रअनुसार नेपाल सरकारले नेपालभर प्लाष्टिकजन्य फूलगुच्छा उत्पादन, आयात, बिक्रीवितरण वा भण्डारण गर्न पूणर्रुपमा रोक लगाएकाले उक्त कार्य नगर्न/नगराउन अनुरोध गर्दै प्रचलित कानुनविपरीत गतिविधि/क्रियाकलाप सञ्चालन गरिएको पाइए प्रचलित सम्बद्ध कानुनबमोजिम कारबाही हुने व्यहोरा उल्लेख गरिएको छ ।
प्रशासनले दीपावली एवम् छठ पर्वको अवसरमा सम्पूणर् जिल्लाबासीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, उत्तरोत्तर प्रगति एवम् दीर्घायुको कामना पनि गरेको छ । हेटौंडा वडा नम्बर-८ ले तिहारमा खेलिने देउसीभैलोमा सक्दो मितव्ययिता अपनाउन वडाबासीमा अनुरोध गरेको छ । मंगलबार वडा अध्यक्ष राम थापाको अध्यक्षतामा बसेको बैठकले यस्तो अनुरोध गरेको हो । असोज १२ र १३ गते परेको अविरल वर्षाका कारण मुलुकले भोग्नुपरेको विपत्ति र ठूलो जनधन क्षति एवम् अर्थ बजारमा आर्थिक गतिविधि सुस्त र बजार चलायमान नभएका कारण तिहारलाई भड्किलो नबनाउन वडाबासीमा आग्रह गरिएको छ ।
यस वर्षको तिहारलाई खर्चिलो र भड्किलोरहित तरिकाले मनाउन र देउसीभैलोमा आउने कुनै पनि समूह, क्लब, टोली तथा संघसंस्थालाई दानदक्षिणा दिँदा सक्दो आर्थिक मितव्ययिता अपनाउन अपिल गरिएको छ । बैठकमा वडा अध्यक्ष थापासहित वडा सदस्यहरु रिता सार्की, राजु मुक्तान, गोरखनाथ राय, वडा सचिव भगवति रिमालको उपस्थिति थियो । नगर कार्यपालिका सदस्य मञ्जु भुर्तेल, लेखापाल सुरक्षा पहारीलगायत उषा मिश्र, बिना अर्याल र जीवन रेग्मीको पनि उपस्थिति थियो ।