हेटौंडा/मकवानपुरको बकैया गाउँपालिका र काठमाडौं विश्वविद्यालयबीच शैक्षिक सुधारका लागि सम्झौता भएको छ । आइतबार गाउँपालिकामा पालिका र विश्वविद्यालयबीच शैक्षिक सुधारको सम्झौता भएको हो ।
केयु बकैया फेलोसिप कार्यक्रमअन्तर्गत् कार्यक्रम कार्यान्वयनका लागि सम्झौता भएको हो । पालिकाका विद्यालयमा शैक्षिक अवस्था कमजोर भएकोमा पालिकाले शैक्षिक सुधारका लागि सम्झौता गरेको हो । बकैया गाउँपालिकाको चालु आव २०८१/०८२ को स्वीकृत शैक्षिक गुणस्तर सुदृढीकरण कार्यकम एवम् केयुको सहकार्यमा शैक्षिक गुणस्तर सुदृढीकरण कार्यक्रमअन्तर्गत् आवश्यकता पहिचान, फेलोसिप कार्यक्रम कार्यान्वयनका लागि सम्झौता भएको छ ।
पालिका र विश्वविद्यालयबीच २०८२ कार्तिक १० गतेसम्मका लागि सम्झौता भएको छ । सम्झौतापत्र साटासाट गर्दै गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले आफू निर्वाचित भएपश्चात् पालिकामा कृषि र शिक्षा सुधारका लागि संघर्ष गर्दै अएको तर शिक्षाको अवस्था अझै कमजोर भएकाले सुधारमा लागिपरेको बताए । यस कार्यक्रमले शिक्षकलाई उत्प्रेरित गरी शिक्षा सुधारमा जोड दिन उनले निर्देशन दिए ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले पालिका कार्यक्रम सफल पार्न दृढ रहेकोमा जोड दिए । उक्त कार्यक्रमले शैक्षिक सुधारमा व्यवहारिकरुपमा काम गर्नुपर्ने उनको भनाइ छ । उक्त कार्यक्रमले पालिकाको शैक्षिक गुणस्तरमा परिवर्तन आउने उनले आशा व्यक्त गरे । सम्झौताका क्रममा पालिका अध्यक्ष लामिछाने, प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ, काठमाडौ विश्वविद्यालय स्कुल अफ एजुकेसनका शिक्षक रिसर्चर केवल खत्री, रिसर्चर साहस भण्डारी, पालिका शिक्षा अधिकृत आइतराम तामाङलगायत पालिकाका महाशाखा प्रमुखको उपस्थिति थियो ।