हेटौंडा/हेटौंडा-४ मा रहेको प्राकृतिक उपचार अस्पताल अबदेखि लायन्स क्लब अफ हेटौंडाले सञ्चालन गर्ने भएको छ । प्रतिष्ठानको पाँचौं वार्षिक साधारणसभाले प्रतिष्ठानलाई थप सेवासुबिधासहित सञ्चालनका लागि लायन्स क्लबसँग हातेमालो गर्ने निणर्य गरेको हो । शनिबार प्रतिष्ठान अध्यक्ष ललितबहादुर बस्नेत र लायन्स क्लब अफ हेटौंडा अध्यक्ष तुलसी रिजालले प्रतिष्ठानलाई हेटौंडा-४ को भाडाको घरबाट लायन्स भवन कर्रामा स्थानान्तरण गरी आफ्नै भवन निर्माण गरी सोही भवनबाट प्राकृतिक उपचारसहित अस्पताल सञ्चालन गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
२०७६ फागुन १६ गते सुरु भएको प्रतिष्ठानले प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गराउने सेवाग्राहीको संख्यामा पहिलाभन्दा क्रमशः घट्दै गएकाले केही वर्षदेखि घाटामा चल्दै आएको थियो । प्राकृतिक उपचारको विषयमा जनमानसलाई बुझाउन नसकेको तथा कोभिड तथा डेंगुलगायत महामारीबाट प्रतिष्ठान चपेटामा परेको अध्यक्ष बस्नेतले बताए ।
प्राकृतिक चिकित्सा पद्धतिबाट माटो चिकित्सा, वायु चिकित्सा, मालिस तथा स्टिम बाथ, लिहावलिटेसनसहित फिजियोथेरापी, अकुपञ्चर, जल चिकित्सा तथा रोगअनुसार परामर्श, योगलगायत सेवा सञ्चालन गर्दै आएको अध्यक्ष बस्नेतले जानकारी गराए । काठमाडौं युनिभर्सिटीका प्राकृतिक योग चिकित्सक हेमराज कोइरालाले आधुनिकताका नाममा प्राकृतिक खानापानलाई बेवास्ता गर्दै र शरीरलाई आवश्यक शारीरिक व्यायाम नगर्दा बिभिन्न किसिमका नसर्ने रोगको आक्रमण बढ्दो क्रममा रहेको भन्दै प्राकृतिक उपचार पद्धतिले त्यस्ता रोगहरुबाट बच्च सकिने बताए ।
सभाका प्रमुख अतिथि कोइरालाले चिकित्सक अभावका कारण काठमाडौं युनिभर्सिटीले पनि अध्यापान सुरु गरेको बताए । विश्वका सम्पन्न मुलुकका जनताले प्राकृतिक योग र चिकित्सा पद्धति अपनाउन थालेको अवस्थामा नेपालमा भने ओझेलमा परेकाले अन्तर्राष्ट्रिय संस्था लायन्स क्लबले हात हालेपछि पक्कै पनि अस्पतालको भविष्य उज्ज्वल देखेको उनले बताए । कार्यक्रममा राष्ट्रियसभा सदस्य गोमादेवी तिमल्सिना, लायन्स क्लब अध्यक्ष रिजाल, २ नम्बर वडा अध्यक्ष विष्णुगोपाल महर्जन, मउवा संघ अध्यक्ष कृष्ण अग्रवाललागायतले शुभकामना व्यक्त गरेका थिए । प्रतिष्ठानका ध्रुव भुजेलले सञ्चालन गरेको कार्यक्रममा प्रतिष्ठानको आर्थिक प्रतिवेदन मदनकुमार सुबेदीले र गणेश कठायतले स्वागत मन्तव्यसहित समापन गरिएको थियो ।