Homeमकवानपुर विशेषहेटौँडाडाइभर्सन बनाएर हेटौंडा-काठमाडौंको छोटो दूरीको सडक सुचारु

डाइभर्सन बनाएर हेटौंडा-काठमाडौंको छोटो दूरीको सडक सुचारु

हेटौंडा/असोज १० गते बिहीबारबाट परेको अविरल बर्षाका कारण काठमाडौंबाट हेटौंडाका आउजाउका लागि छोटो दूरीको यो सडकबाट खोला हिड्यो । इन्द्रसरोवर गाउँपालिका-४ स्थित महालक्ष्मी खोला र सोही गाउ“पालिकाको २ नम्बरमा पर्ने कुलेखानी खोलाले पुल एकातिर र सडक अर्कातिर बनाइदियो । कुलेखानी जलविद्युत् केन्द्रको जलाशाय भरिएर बाँध खोल्दा हेभी नजिक रहेको कुलेखानी खोलाले सडक नै बगायो । सडक खोलाले बगाएपछि डाइसर्भन बनाएर भएपनि दशैंका लागि सवारी चलाउने जमर्कोमा राज्यका संयन्त्र जुटे । खोलाले सडक बगाएपछि यहाँको सडक सुचारु गर्न के गर्न सकिन्छ भनेर प्रदेश सरकारसँग छलफल भयो, इन्द्रसरोवर गापा-२ का वडाध्यक्ष सुमन श्रेष्ठले भने, लगानी प्रदेश सरकारले गर्‍यो, यहाँको डाइभर्सन बनाउँदा प्रगोग हुने जग्गाको समन्वय हामीले गर्‍र्यौं ।

सबै मिलेपछि हरेक कुरा सम्भव हुँदो रहेछ । दशैंको मुखमा यो सडक भएर आउजाउ गर्नपर्ने यात्रुहरु सडक बगाएपछि यात्रुहरु कसरी घर जाने भन्ने चिन्तामा थिए । यति मात्रै होइन, यहाँका स्थानीयहरुलाई समेत यो सडक अवरुद्ध हुँदा दशैं मनाउन सास्ती हुने चिन्ता उत्तिकै थियो । सडकमै खोला हिडेंपछि यो सडक स्थानीयहरुले हिउंद लागेपछि मात्रै बन्ला भन्ने सोचेका थिए । तर, सडक भत्किएको हप्तादिनमै गाडी गुड्न थालेपछि स्थानीयहरु दंग छन् । हेटौंडा काठमाडौं भएर गुड्ने गाडीको त के कुरा, हामीले हिड्डुल सम्म गर्न नसक्ने गरी सडक बगाएको थियो, स्थानीय धनविर स्याङ्तानले भने, खोला कता, सडक कता खोज्नु पर्ने जस्तै भएको थियो । यत्ति छिट्टो बाटो बनेर सुमो चल्ला भन्ने सोचेका पनि थिएनौं । दशैंको बेला किलमेल गर्न बजार झर्न पाइने भयो । यो नै हाम्रो लागि खुसीको कुरा हो । दशैंअघि सडक बन्ला भन्ने सोच्दै नसोचेकोमा सडक बनेकोले स्याङ्तानलगायत अन्य स्थानीयसमेत खुसी देखिएका छन् ।

त्यतिमात्रै होइन, धेरैदिनसम्म यो सडक अवरुद्ध हुँदा मारमा परेका चालकहरु समेत छोटो दूरीको सडक सञ्चालनमा आउँदा खुसी देखिएका छन् । बाढीले बगाएको सडक सुचारु गर्न बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको टीम तथा मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास निर्देशनालयका टीम नै फिल्डमा खटियो । जसको निरीक्षण तथा सहयोग स्थानीय सरकारहरुले गरे । प्रदेश सरकारसंग भएको स्रोत र साधनको प्रयोग गरेर छोटो समयमै यो सडकबाट सवारी चलाउन मिल्ने बनाइएको प्रदेशका भौतिक पूर्वाधार मन्त्री अमनकुमार मास्के बताउँछन् । उनका अनुसार हेटौंडा-भीमफेदी-कुलेखानी हुँदै काठमाडौं पुग्ने दुवै सडक आइतबारबाट नै सञ्चालनमा आएका छन् ।

आइतबार सडक सञ्चालनमा आएको जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री मास्केले चाडपर्वको समयमा सडक अवरुद्ध हुँदा यात्रुहरुमा पर्ने मारलाई ध्यानमा राखेर तीव्र गतिमा सडक मर्मतको काम गरिएको बताए ।बाढीले क्षतिग्रस्त ईन्द्रसरो-वरका पालिकाको कुलेखानी सिमखोलाको सडकको डाइभर्सन तयार भएपछि हेटौंडा-भीमफेदी, कुलेखानी, फाखेल, फर्पिङ र हेटौंडा, भिमफेदी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली सडक सञ्चालनमा आएको भौतिक पूर्वाधार मन्त्री मास्केले जानकारी गराए ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here