हेटौंडा/मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताको पाँचौं संस्करण उपाधि पदमपोखरी युवा क्लबले जितेको छ । शनिबार हेटौंडा-५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको फाइनल खेलमा सहिद स्मृति क्लबलाई ३-१ ले हराउँदै पदमपोखरीले उपाधिमा आफ्नो नाम लेखाएको हो । ३५ दिन सञ्चालन भएको लिगको ९१ खेलपश्चात् प्रतियोगिता विजेता टोलीको टुंगो लागेको हो । प्रतियोगिता विजेता पदमपोखरीले एक लाख रुपियाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता सहिद स्मृति क्लबले ५० हजार रुपियाँमा चित्त बुझाउन बाध्य भएको छ । लिग विजेता पदमपोखरीले वागमती प्रदेश लिग खेल्नेछ । लिगमा मकवानपुरका २८ क्लबको सहभागिता थियो ।
खेलको २४ मिनेटमा दिवस गोलेको गोलमार्फत् पदमपोखरीले अग्रता लिएको थियो । ३९ औं मिनेटमा उप्रान्त आलेको उत्कृष्ट गोलमार्फत् सहिद स्मृति खेलमा फर्किएको थियो । त्यसअघि आलेको पेनाल्टी प्रहारलाई पदमपोखरीका गोलरक्षक रोजक थिङले बचाएका थिए । पदमपोखरीले दोस्रो हाफमा २ गोल थपेको थियो । पदमपोखरी विजेश तितुङले ६८ औं मिनेटमा अग्रता दोब्बर बनाए । अतिरिक्त समयको अन्तिम मिनेटमा पदमपोखरीका लागि बिकी जिम्बाले निणायक गोल गरेका हुन् । फाइनल खेलको म्यान अफ दी म्याच पदमपोखरीका विजेश तितुङ घोषित भए । पदमपोखरीका रोजक थिङ उत्कृष्ट गोलरक्षक र सर्वोत्कृष्ट खेलाडी घोषित हुँदा नमराज थिङ उत्कृष्ट मिडफिल्डर र ज्ञानेन्द्र मोक्तान उत्कृष्ट प्रशिक्षक घोषित भए ।
वागमतीका अरुण आले उत्कृष्ट डिफेण्डर र उप्रान्त आले उत्कृष्ट फरवार्ड घोषित भए । प्रतियोगिता विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई वागमती प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, मकवानपुर जिल्ला फुटबल संघ अध्यक्ष टीकाराम लामा, प्रतियोगिता संयोजक युवराज लामालगायतले पुरस्कार वितरण गरेका थिए । यससँगै जिल्ला लिगको एउटा चक्र मकवानपुरमा पूरा भएको छ । अब मकवानपुरमा ए, बीे, र सी, डिभिजन टोली आगामी वर्षबाट लिगको ढाँचाका लागि तयार भएका छन् । यस वर्षबाट लिगमा रेलिगेशनको प्रावधान राखिएको थियो ।