हेटौंडा/वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका हेटौंडा-काठमाडौं जोड्ने खण्डअन्तर्गत् सडक यथाशीघ्र सञ्चालनमा ल्याउने गरी तीव्ररुपमा पहिरो पन्छाउने काम भइरहेको छ । चाडपर्वमा आवागमन सहज बनाउने उद्धेश्यले अवरुद्ध भएका सबै सडक सञ्चालनमा ल्याउन सडक विभाग, सुरक्षाकर्मी तथा वागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको टोलीले तीव्रतासाथ पहिरो पन्छाउने काम गरिरहेको जिल्ला सुरक्षा समिति प्रमुख एवम् प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए । उनका अनुसार हेटौंडा-काठमाडौं जोड्ने सडकमध्ये हेटौंडा-भैंसे-रातोमाटे खण्डअन्तर्गत् गोल्पिङबेसीमा ठूलाठूला ढंगासहित खसेको पहिरो पन्छाउन चार वटा उपकरणसहित काम भइरहेको छ । असोज ११ र १२ गतेको वर्षाले खसेको पहिरो पन्छाएर सडक मंगलबार सञ्चालन आएकोमा केही समयपछि पुनः पहिरो खसेपछि अवरुद्ध भएको प्रजिअ चिलुवालले बताए ।
सडक विभाग र सुरक्षाकर्मीको टोलीले मकवानपुरको सोही खण्डअन्तर्गत् भीमफेदी गाउँपालिका-६ स्थित देउरालीबाट इन्द्रसरोवर गाउँपालिका-२ सिमखोलासम्मको पहिरो पन्छाइसकिएको जनाउँदै प्रजिअ चिलुवालले इन्द्रसरोवर-२ स्थित बाढीले बगाएको कुलेखानी पुल तीव्रतासाथ निर्माण भएको जानकारी दिए । दक्षिणकाली-फर्पिङ खण्डअन्तर्गत् महालक्ष्मी खोलाबाट पाकेलसम्म र पाकेलबाट फर्पिङसम्मको पहिरो पन्छाउन दुई वटा जेसीबीसहित प्रहरी टोली परिचालन गरिएको भन्दै प्रजिअ चिलुवालले महालक्ष्मीखोलाको पुलछेउमा बाढीले बगाएको सडक पुनर्निर्माण भइरहेको उल्लेख गरे । बाढीले महालक्ष्मी खोलाको पुलछेउमा करिब एक सय ५० मिटर सडक बगाएको थियो ।
बाढीपहिरोका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीमा गएको पहिरोले सडक, पुललगायत भौतिक संरचनामा क्षति भएको प्रजिअ चिलुवालले बताए । त्यहाँका पीडितलाई राहत सामग्री पुर्याउन, सिस्नेरीमा अलपत्र सवारीसाधनलाई गन्तव्यतर्फ पठाउन काठमाडौं-दक्षिणकाली-सिस्नेरी खण्डको पहिरो पन्छाउने काम भएको उनले जानकारी दिए । प्रजिअ चिलुवालका अनुसार काठमाडौंबाट सिस्नेरीसम्म सडक एकतर्फीरुपमा सञ्चालनमा आइसकेको छ भने हेटौंडाबाट सिस्नेरीसम्मको सडक खुलाउने प्रयास भइरहेको छ । आपत्कालीन सेवाका लागि हेटौंडा-भीमफेदी-कुलेखानी-कलंकी-मार्खु र तथा हेटौंडा-चित्लाङ-चन्द्रागिरि-काठमाडौं सडक सञ्चालनमा आइसकेको उनले जानकारी
दिए । काम तीव्ररुपमा भइरहेकाले केही दिनभित्र हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल-काठमाडौं खण्ड सञ्चालनमा ल्याइने भन्दै कुलेखानीको पुल निर्माण नभएसम्म वैकल्पिक मार्ग बनाउने कार्य भइरहेको प्रजिअ चिलुवालले जानकारी दिए ।
अवरुद्ध सडक खुलाउन वागमती प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री अमनकुमार मास्के प्राविधिक जनशक्तिसहित आवश्यक उपकरण लिएर आफैं खटिएका छन् । हालसम्म काठमाडौंतर्फको सडकका पहिरा पन्छाएर फर्पिङ आइपुगेका
छौं । अब हेटौंडासम्म बाटो खुलाउने गरी काम गरिरहेका छौं, उनले भने । फर्पिङ-हुमाने खण्डमा ग्राभेल थुप्रिएकाले त्यसलाई हटाएर सडक सञ्चालन गरी नागरिकको यात्रा सहज गर्न प्रदेश सरकारले निरन्तर प्रयास गरिरहेको मन्त्री मास्केले बताए । प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले विपद्बाट अवरुद्ध भएका सडक सञ्चालन गराउन मन्त्रालयअन्तर्गत् यातायात पूर्वाधार निर्दशनालयका निर्देशक पुष्करप्रसाद पोखरेलको संयोजकत्वमा क्युआरटी समूह गठन गरी काम गरिरहेको जनाइएको छ ।
क्युआरटी टोलीले हेटौंडा हुँदै भैंसेअन्तर्गत् दुई स्थानमा खसेको पहिरो पन्छाएर भीमफेदीसम्म पुगेको पोखरेलले बताए । अवरुद्ध सडकमध्ये मकवानपुरको हेटौंडा-काठमाडौं र हेटौंडा-धरान-चतरा जोड्ने दुई वटा सडक पूणर्रुपमा सञ्चालनमा आइसकेका छन् भने अन्य सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ, उनले भने । कान्ति लोकपथ सडकखण्डको बकैया गाउँपालिका-१२, घट्टेपाखा र ११ नम्बर वडाको लाम्राङ, आँपचौरमा पहिराले र भीमफेदी गाउँपालिका-८ स्थित वागमती खोलाले पुल कटान गरी सडक अवरुद्ध भएकामा उक्त खण्ड सञ्चालनमा आउन नसकेको उनले जानकारी दिए ।
दक्षिणकाली-छैमले-सिस्नेरी खण्डअन्तर्गत् इन्द्रसरोवर-३, रामचन्द्र भञ्याङमा पहिरो खस्दा कुलेखानी-फाखेल-फर्पिङ बाटो पूणर्रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले बताए । दक्षिणकाली-छैमले-सिस्नेरी खण्डअन्तर्गत् इन्द्रसरोवर-२, सिमखोलास्थित लच्कामा सिमखोलमा आएको बाढीले कटान गरी कुलेखानी-सिस्नेरी-फर्पिङ बाटो पूणर्रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । कुलेखानी-मार्खु भित्री सडकको इन्द्रसरोवर-१, सिम्लाङमा पहिरो खस्दा थानकोट-कुलेखानी पूणर्रुपमा अवरुद्ध बनेको छ । भीमफेदी गाउँपालिका-४ रातोमाटे, भीमफेदी-६ ढोकाफेदीमा पहिरो खसेर हेटौंडा-कुलेखानी जोड्ने बाटो पूणर्रुपमा अवरुद्ध बनेको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए ।