हेटौंडा/यौनलालच देखाइ ५० वर्षीय व्यक्तिलाई कोठामा बोलाइ अन्य केटाहरु ल्याएर कुटपिट गरी अपहरण गरेको भनी परिवारसँग फिरौती रकम पाँच लाख असुली गरेपछि हत्या गरेर लासलाई काभ्रे लगेर फाल्ने सिन्धुपाल्चोककी मुख्य योजनाकार २१ वर्षीया युवती मनिषा महतसहित हनीट्रयाप टोलीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । असोज ५ गते १० बजे मनिषाले मेरो नागरिकताको प्रतिलिपि बनाउन जान सहयोग गर्नुपर्यो भनी फोन गरेर काठमाडौंको कीर्तिपुर नगरपालिका-५ बस्ने ५० वर्षका बिनोद खड्गीलाई खाना खान बोलाउँछिन् । बोलाएको डेढ घण्टापछि बिनोद गाडीमा मनिषाको डेरामा पुग्छन् । शिवम् र मनिषा खाना पकाउँदै गर्दा बिनोद अण्डा र रक्सी खाँदै बैठक कोठामा बस्छन् । खाना तयार भएपछि हतारहतार खाएर शिवम् बाहिर जान्छन् ।
बिनोदले खाना खाइरहेको समयमा मनिषा खुर्सानी किन्ने बहानामा बाहिर जान्छिन् र अंसुलाई फोन गरी भन्छिन्-सबै तयार छ । अबको ५ मिनेटमा हिमालय गेटबाट हिँड्नू । हिमालय गेटमा अंसु, शिवम्, सरिन, रिकेश, प्रतीक र आशीष जम्मा भएका थिए । प्रतीक र शिवम् स्कुटरमा मनिषाको डेरातर्फ बाटो लाग्छन् । उनीहरुले पहिल्यै योजना बनाइसकेका हुन्छन् । मनिषाको कोठामा पुगेर ढोका खोल्नेबित्तिकै बिनोदलाई कुट्ने सल्लाह हुन्छ । उनीहरुले त्यहाँ पुगेपछि पूर्वयोजनाअनुसार बिनोदलाई लात्ती, मुड्कीले शरीरका संवेदनशील भागमा पनि प्रहार गरी सख्त घाइते बनाउँछन् ।
त्यसपछि उनीहरुले सुरु गर्छन् फिरौती रकमको बार्गेनिङ । सुरुमा सबैले ३० लाख माग्ने कुरा हुन्छ । तर, मनिषाले ३० लाख बढी भयो भन्दै १० लाखसम्म माग गर्छिन् ।
बिनोदले मसँग त्यति पैसा छैन, ५ लाखसम्म हुन्छ भने म दिन तयार छु भन्छन् । बिनोदले सुरुमा आफ्नै मोबाइलबाट फोन गर्न खोज्छन् । तर, मोबाइल ह्याङ भएको कारण अंसुको फोनमा बिनोदको सिम हालेर आफ्नो बधशालामा काम गर्ने कर्मचारी प्रदीप थापामगरलाई फोन गर्छन् । तत्काल ५ लाख चाहियो । भक्तपुरको राधेराधे भाटभटेनीअगाडि मोटरसाइकलमा आउने व्यक्तिलाई उक्त रकम दिनू भन्छन् । साँझ ५ बजेर १० मिनेटमा पैसा लिएर प्रदीप उक्त स्थानमा पुग्छन् । आशीष पासवान बिनोदले पठाएको मानिस म नै हुँ भनेर प्रदीपसँग रकम माग्छन् । प्रदीपले बिनोदलाई फोन गरेर फेरि निश्चित गर्छन् र ५ लाख दिन्छन् । १५/२० मिनेटपछि आशीष पैसा लिएर मनिषाको कोठामा पुग्छन् । उनले अंसुलाई पैसा दिन्छन् ।
त्यसपछि मनिषा, अंसु, शिवम्, आशीष र प्रतीक मिलेर यसले हामीलाई भोलिको दिनमा छाड्दैन यसलाई मारेर फालिदिउँ भनी योजना बनाउँछन् । आशीषले गाडी चलाउँछन् । अंसु र शिवम्ले गाडीको बीचमा बिनोदलाई राख्छन् । मनिषाले गेट खोल्छिन् । गाडीको ढोका खोलेर घरवरिपरि रेक्की पनि मनिषाले गर्छिन् । प्रतीकले गाडीको अगाडि स्कुटरबाट एस्कर्ट गर्दै जाने सल्लाह उनीहरुको हुन्छ । त्यहीअनुसार राति १० बजे मनिषाको कोठाबाट भक्तपुरको सूर्यविनायक नगरपालिका-७ स्थित गणेश मन्दिर हुँदै गुन्डुतर्फ जान्छन् । गुन्डु जाने बाटोमा गाडी रोकेर बिनोदको छातिमा ढुंगाले हान्छन् । त्यहीं उनको हत्या गरेर साँगा, धुलिखेल हुँदै पाँचखालस्थित ४९ किलो पुर्याएर सडकबाट ८ मिटर तल झाडीमा बिनोदको शव फालिदिन्छन् ।