सुनिता बिष्ट\हेटौंडा/हिन्दु नेपालीहरुको महान् पर्व दशैं सुरु भएको छ । दशैंको पहिलो दिन घटस्थापनामा विधिवत्रुपमा जमरा राखेर दशैंको सुरुवात भएको छ । दशैंमा नवदुर्गा भवानीको पूजाराधना गर्ने प्रचलनअनुसार हेटौंडाका विभिन्न स्थानहरुमा नवदुर्गाको मूर्ति प्रतिस्थापन गरेर सामूहिक जमरा राखिएको छ । भगवान् नवदुर्गा भवानीको मूर्ति तयार गरेर सामूहिक जमरा राखिएको हो । दशैंको सुरुवातसँगै हेटौंडाका शक्तिपीठहरुलाई दुलहीझै सिंगारिएको छ । यहाँ विभिन्न शक्तिपीठहरुमा भव्य र आकर्षक बनाएर सजाइएका छन भने विभिन्न चोकमा दुर्गाको मूर्ति प्रतिस्थापन गरेर सामूहिकरुपमा जमरा राखेर दुर्गापुजा गरिदै आएको छ ।
हेटौंडा उपमहानगरपालिका-८ कर्रा पुलनजिक रहेको पशुपति युवा क्लबले पनि सामूहिक जमरा राखेको छ । विगत ५/६ वर्षदेखि नै नियमितरुपमा जमरा राख्दै आएको क्लबका पूर्वअध्यक्ष तथा दुर्गापूजा समितिका सदस्य जीतेन्द्र कर्माचार्यले बताए । सामूहिक जमरा राखेर पूजाराधना गर्दा सबै मन्दिरमा गएजस्तै आस्था राखेर दर्शन गर्न आउन गरेका छन् । यसरी दुर्गाको मूर्ति प्रतिस्थापन गरेर पूजा गर्दा विधिवत्रुपमा पूजा गरिएको जमरा लगाउन पाउनेदेखि प्रसाद ग्रहण गर्नका लागि भक्तजन आउने गरेका छन् । केही दिनअघिदेखि छिमेकी देश भारतबाट कालीगढ ल्याएर मूर्ति निर्माण गरेर जमरा राख्न तयार बनाइएको हेटौंडा-२ स्थित दुर्गापूजा समिति अध्यक्ष कुनाल श्रीवास्तबले बताए । उनका अनुसार हेटौंडा उपमहानगरपालिका-२ नम्बर वडासँगको सहकार्यमा यहाँ पनि रहेक वर्ष जमरा राख्ने गरिएको छ । यहाँ राखिएको जमरा नवमीको दिनमा सबैले घरघरमा लैजाने र पूजा गरेर विजयादशमीको दिनमा लगाउने प्रचलन रहेको अध्यक्ष श्रीवास्तब बताउँछन् ।
दुर्गामूर्ति निर्माण तथा पूजाका लागि ३ लाख लाग्ने अनुमान गरिएको उनी बताउँछन् । जसका लागि वडा कार्यालय तथा स्थानीयहरुको सहयोगमा जमरा राखिएको हो । हेटौंडाको स्कुलरोड, कर्रा, संगमचाबेक तथा पिप्लेलगायत स्थानहरुमा विभिन्न क्लबले पाण्डाल तयार गरेर दुर्गा भगवान्को मूर्ति स्थापना गरेर जमरा राखेका हुन् । भगवान्ले दुर्ग नामक राक्षसको वध गरेर विजय प्राप्त गरेकाले देवताको जय भएको भन्दै विजयादशमी मनाउने गरिएको पण्डित रामचन्द्र लम्सालको भनाइ छ । यसरी सामूहिक जमरा राखेर दशैं मनाउँदा भाइचारा तथा आत्मीयता बढ्ने लम्साल बताउँछन् । यहाँ जमरा राखेपछि हरेक दिन भ्याउनुहुने स्थानीयहरु पूजा गर्न तथा प्रसाद ग्रहणका लागि आउनुहुन्छ, पण्डित लम्सालले थपे-यसरी सबै जना मिलेर दशैंमा मनाउँदा वडाका सबैसँग आत्मीयता बढ्छ । स्थानीय सरकारले पनि यसका लागि अपनत्व देखाएको छ ।
दुर्गादेवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवम् आराधना गर्ने परम्परा नेपाली समाजमा छ । नवरात्र भनेर समेत चिनिने दशैं विजयादशमीदेखि कोजाग्रत पूणिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ ।