हेटौडा/साउन १५ गतदेखि रिक्त मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. प्रदीप ज्ञवाली नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले डा. ज्ञवालीलाई प्रतिष्ठानको उपकुलपति नियुक्त गर्ने निणर्य गरेको हो । पाल्पाका डा. ज्ञवालीलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरिएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
ज्ञवालीलाई सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको सिफारिस र स्वास्थ्य मन्त्री किरण थापाको सहमतिमा मन्त्रिपरिषद् बैठकले उपकुलपति नियुक्त गरेको हो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत् इन्स्टिच्युट अफ मेडिसिन क्लिनिकल फर्माकोलोजिमा मास्टर्स गरेका डा. ज्ञवाली महाराजगञ्ज मेडिकल क्याम्पस एसोसिएट प्रोफेसर हुन् । उनले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिव भएर काम गरिसकेका छन् ।