हेटौंडा/सिस्नेरी पहिरोमा ज्यान गुमाएका अखिल नेपाल फुटबल संघ (एन्फा) फुटबल एकेडमीका ६ विद्यार्थीको सम्झनामा दीप प्रज्ज्वलन गरिएको छ । मकवानपुरको मनहरी गाउँपालिका-१ स्थित मोडर्न युथ क्लबले पहिरोमा ज्यान गुमाएका एन्फाका ६ जनाको सम्झनामा श्रद्धाञ्जलीसभाका साथै दीप प्रज्ज्वलन गरेको हो । असोज १२ गते मकवानपुरका ३ विद्यार्थीसहित ६ जना विद्यार्थीको पहिरोले पुरेर निधन भएको थियो ।
पहिरोमा ज्यान गुमाउनेहरुमा मकवानपुरका अनुपम घलान, साइमन योञ्जन र दिवस बानियाँ थिए भने सर्लाहीका आदित्य बलम्पाकी, काठमाडौंका रियान्स आचार्य र बारा निजगढका विकल रेग्मी थिए । कार्यक्रममा मनहरी-१ का वडाध्यक्ष शिवप्रसाद खनाल, क्लब सचिव रामगोपाल पराजुली, रामकुमार उप्रेती, पदाधिकारी तथा स्थानीयको सहभागिता थियो ।