हेटौंडा/हेटौंडा उपमहानगरपालिका—१०, बसपार्कस्थित होटलको कोठामा युवतीको हत्याका आरोपित युवालाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ । अदालतले तीन जनालाई जनही ५० हजार धरौटी लिइ तारेखमा छाड्न आदेश गरेको छ । हेटौंडा उपमहानगरपालिका—११, सरस्वतीकी २३ वर्षीया एलिसा न्यौपानेको होटलको कोठामा हत्या गरेको आरोपमा पक्राउ गरिएका हेटौंडा उपमहानगरपालिका—४ का ३२ वर्षीय समिर खान भनिने चाँद खाँपैठानलाई जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको
हो । भुटनदेवी मन्दिररोडस्थित रत्न होटलमा युवतीको हत्या भएको हो । होटलमा करिब ३० वर्षीय एक युवा र एलिसा पुगेका थिए ।
विहान अबेरसम्म पनि उनीहरु बसेको २०५ नम्बर कोठाको ढोका नखुलेपछि होटल सञ्चालक नवीन रानामगरले प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए । जनप्रतिनिधि र प्रहरीको रोहबरमा ढोका खोलेर हेर्दा एलिसा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । सँगै आएका युवाले एलिसाको हत्या गरेर कोठाको ढोकाभित्रबाट बन्द गरी झ्यालबाट बाहिर निस्किएको प्रहरीको भनाइ छ । होटलको आगन्तुक पुस्तिकामा उल्लेख गरिएको विवरणअनुसार मोबाइल नम्बर गलत टिपाइएको बताइएको छ । राति नै हत्या गरेर करिब ९ बजे ती युवा बाहिरिएको देखिन्छ । साँझ ५ बजे होटल पुगेपछि उनीहरुले बियर र मम मगाएर खाएको र साँझ ७ बजेर ५९ मिनेटमा ती युवा होटलबाट बाहिरिएको दृष्य सीसी क्यामेरामा कैद भएको थियो । बियरको बोतल प्रहारबाट मृतकको आँखामा चोट लागेको, कोठा रक्ताम्य भएको शवका एक प्रत्यक्षदर्शीको दाबी छ । खाटमाथि उत्तानो परी सिरकले मुख छोपिएको अवस्थामा एलिसाको शव देखिएको प्रहरीले जनाएको छ ।