हेटौंडा/साहित्य संगम मकवानपुरका अध्यक्ष तथा मुक्तक मञ्च मकवानपुर संस्थापक अध्यक्ष डीबी बतौ लाको नवीन तेस्रो मुक्तक संग्रह उज्यालोका बाछिटा नयाँ शैलीमा विमोचन गरिएको छ । उक्त संग्रह भारतको रेल सत्याग्रह एक्सप्रेसमा विमोचन भएको हो । विमोचन कार्यक्रममा सभाध्यक्ष साहित्यकार रमेशमोहन अधिकारी तथा प्रमुख अतिथि हयग्रीव आचार्य थिए । प्रमुख अतिथि आचार्यले मुक्तक संग्र्रहको सूक्ष्म समीक्षा गर्ने क्रममा यस प्रकारको विमोचन सायद विश्वमै दुर्लभ रहेको र ऐतिहासिक रहेको बताए । उखान प्रयोग गरी ९२ वटा मुक्तकभित्र राजनीतिक, सामाजिक विषयवस्तुमाथि तिखो व्यङ्ग्य प्रहार गरिएको उनले बताए ।
फरक स्वाद र तीव्र व्यङ्ग्यका साथै हास्यात्मक भाव र प्रत्येक मुक्तकमा उखान प्रयोग हुनु आफैंमा नौलो रहेको पाइएको बताउँदै आचार्यले कृतिगत् सफलताको शुभकामना दिए । कृतिकार बर्तौलाले अनौठो र पृथक्रुपमा मुक्तक संग्रह विमोचन भएकोमा हर्ष व्यक्त गर्दै धन्यवाद दिए । सभाध्यक्ष अधिकारीूले ११ दिने साहित्यिकयात्रा गर्ने क्रममा असोज १४ गते जुरेको अनौठो र ऐतिहासिक तरिकाले मुक्तककार बर्तौलाको कृति विमोचन तथा वाचन कार्यक्रम सफल भएकोमा खुशी व्यक्त गरे । बर्तौलाका अघिल्ला कृतिभन्दा उत्कृष्ट रहेको बताउँदै उनले कृतिको सफलताको कामना गरे ।
मुक्तक संग्रह विमोचन तथा वाचनका क्रममा मकवानपुर, बारा, कपिलवस्तु तथा भारतका साहित्यकार, साहित्य अनुरागीको उपस्थिति थियो । कार्यक्रममा साहित्यकारहरु मिथिला अधिकारी, अप्सरा पुडासैनी, विष्णुप्रसाद गौतम, माधब पोखरेल र राजबाबु पहाडीले मुक्तक संग्र्रहबाट केही मुक्तक वाचन गरे भने किसन पौडेलले आफ्ना मुक्तकहरु वाचन गरेका थिए । इन्डिगो इन्कद्वारा प्रकाशित पुस्तक विमोचनको औपचारिक कार्यक्रमलाई साहित्यानुरागी सीताराम दाहालले सञ्चालन गरेका थिए ।