हेटौंडा/हेटौंडा उपमहानगरपालिकाको प्रतिनिधित्व गर्दै काठमाडौंमा हुने म्याराथन प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई बिदाइ गरिएको छ । असोज १२ गते काठमाडौंमा एनआरएस स्पोर्ट्स् फाउण्डेसनको आयोजनामा हुने राष्ट्रिय म्याराथनमा सहभागी २० खेलाडीलाई हेटौंडा उपमहानगरपालिकाले बिदाइ गरेको हो । बिहीबार कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले खादा लगाउँदै विजयी हुन शुभकामना दिएका थिए । उपमहानगरका विभिन्न विद्यालयमा अध्ययनरत् विद्यार्थीमध्ये २० जनालाई प्रतियोगितामा प्रतिस्पर्धाका लागि छनौट गरिएको एथ्लेटिक्स संघ मकवानपुर सचिव राजाराम पोखरेलले जानकारी दिए ।
विभिन्न विद्यालयमा अध्ययनरत् ४५ विद्यार्थीमध्ये छनौटमा परेकालाई हेटौंडामा ३ महिना क्लोजक्याम्पमा राखेर प्रशिक्षणपश्चात् प्रतियोगितामा सहभागी हुन पठाइएको हो । बिदाइ कार्यक्रममा हेटौंडा उपमहानगरपालिका विज्ञ सल्लाहकार कृष्णप्रसाद धिताल, नगर खेलकुद विकास समिति अध्यक्ष रवीन्द्र घिमिरे, सदस्य विजय गौतमको उपस्थिति थियो । हेटौंडाबाट प्रतियोगितामा सहभागिता जनाउन गएका खेलाडीहरुले ३ किलोमिटर र ५ किलोमिटर दौंडमा प्रतिस्पर्धा गर्नेछन् ।