हेटौंडा/महिलामिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक साधारणसभा शुरु भएको छ । संस्थाको साधारणसभाको ३ दिने कार्यक्रमअन्तर्गत् पहिलो कार्यक्रम बिहीबार हेटौंडा-४ स्थित क्लब हेटौंडामा मनाइएको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर-४ का अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता र संस्था सञ्चालक समिति अध्यक्ष मीना थापाको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा ३ जना ज्येष्ठ नागरिक सदस्यलाई नगदसहित सम्मानसमेत गरियो । सम्मानित हुनेमा मीरादेवी घलान, दुर्गा पौडेल र सुमित्रा शर्मा छन् । सभामा सञ्चालक समिति सचिव शर्मिला दोङ, कोषाध्यक्ष रमाकुमारी रिजाल र लेखा सुपरीवेक्षण समिति संयोजक विष्णु लामाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाको साधारणसभाको कार्यक्रम दोस्रो दिन शुक्रबार हेटौंडा-१२ स्थित बुद्ध माध्यमिक विद्यालयमा र तेस्रो दिन हेटौंंडा-१३ स्थित महेन्द्र माध्यमिक विद्यालयमा हुने जनाएको छ । संस्था २०५८ बैशाख ४ मा महिलामिलन बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको नाममा दर्ता भइ सञ्चालनमा आएको हो । हेटौंडा उपमहानगरपालिका वडा-४, ८, ९, १०, १२, १३ र १४ भित्र सहकारी संस्थाको समिति छ । संस्थाको कार्यक्षेत्रका महिला जनसंख्या ३९ हजार ६२८ छ । जसमध्ये साकोसले महिला सदस्य ६,४१७ जनालाई आवद्ध गराएको छ ।