Homeमकवानपुर विशेषहेटौँडाबढ्यो डेंगी संक्रमण

बढ्यो डेंगी संक्रमण

हेटौंडा/मकवानपुर जिल्लामा डेंगु संक्रमितको संख्या ६ सय ४५ पुगेको छ । जिल्लाका १० स्थानीय तहमा गरी डेंगी संक्रमितको कुल संख्या ६ सय ४५ पुगेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार डेंगी संक्रमण पुष्टि हुनेमा ३ सय ७ जना महिला छन् । हेटौंडा उपमहानगरपालिकामा २ सय ५८ पुरुष र २ सय ४७ महिला गरी ५ सय ५ जना, थाहा नगरपालिकामा ३ पुरुष र २ महिला गरी ५ जना, मकवानपुरगढी गाउँपालिकामा १५ पुरुष र ९ महिला गरी २४ जना, वागमती गाउँपालिकामा एक पुरुष, कैलाश गाउँपालिकामा ४ पुरुष छन् ।

मनहरी गाउँपालिकामा २० पुरुष र १६ महिला गरी ३६ जना, भीमफेदी गाउँपालिकामा ४ पुरुष र ८ जना महिला गरी १२ जना, बकैया गाउँपालिकामा ६ पुरुष र ५ महिला गरी ११ जना र राक्सिराङ गाउँपालिकामा एक पुरुष संक्रमित छन् । हाल ठेगाना नखुलेका १२ पुरुष र १४ महिला गरी २६ जना र अन्य जिल्लाका १३ पुरुष र ५ महिला १८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । चितवनमा एक हजार ५ सय जना चितवनमा उपचारका लागि गएका बिरामीमध्ये एक हजार चार सय ९२ जनामा डेंगी संक्रमण देखिएको छ । यहा“का विभिन्न अस्पतालमा उपचार गर्न आएकामध्ये एक हजार एक सय ५५ जना चितवनका हुन् भने तीन सय ३७ जना बाहिरी जिल्लाका हुन् ।

साउनयता जिल्लामा डेंगीको संक्रमण र स्क्रब टाइफसका बिरामी बढ्दै गएको जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले बताए । उनका अनुसार हालसम्म पाँच हजार एक सय १३ जनाको परीक्षण गर्दा एक हजार चार हजार ९२ जनामा डेंगीको संक्रमण देखिएको हो । सबभन्दा बढी भरतपुर महानगरपालिकामा चार सय ६२ जनामा डेंगी संक्रमण देखिएकामा दुईजनाको मृत्यु भएको प्रमुख रुपाखेतीले जानकारी दिए । उनका अनुसार इच्छाकामना गाउँपालिकामा तीन सय ७६, रत्ननगर नगर- पालिकामा एक सय ८४, खैरहनी नगरपालिकामा ६५, राप्ती नगरपालिकामा २९, कालिका
नगरपालिकामा ३१ र माडी नगरपालिकामा ८ जनामा डेंगी संक्रमण देखिएको छ ।

प्रमुख रुपाखेतीका अनुसार गत आवमा २३ हजार आठ सय ४० जनाको परीक्षण गर्दा एक हजार आठ सय ३१ जनामा डेंगीको संक्रमण देखिएको थियो । वर्षा हुने र घाम लाग्ने समय लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले भदौ, असोजमा डेंगी संक्रमण देखिने गर्दछ । उनले भने-साउन सुरुदेखि डेंगी संक्रमण बढ्दै गएको हो । यो रोग घरवरिपरि बस्ने एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायः विहान र बेलुकाको समयमा टोक्ने भएकाले यस समयमा बढी सतर्कता अपनाउनुपर्ने उनले उल्लेख गरे ।

यो लामखुट्टेले प्लाष्टिक, टिनका डब्बा, ड्रम, पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुला पानीको ट्यांकीलगायत स्थानमा फुल पार्ने गर्दछ । यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको संक्रमण बढ्ने जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत बिमल पट्टेलले जानकारी दिए । डेंगी लगेमा पाँचदेखि सात दिनसम्म
ज्वरो रहनसक्ने उनले बताए ।

यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउने जस्ता लक्षण देखा पर्दछन् । वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने उनले बताए । डेंगीबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । आफू बस्ने ठाउँवरिपरि फालिएका खाली बट्टा, अलकत्रा वा मट्टीतेलका खाली ड्रम, पुराना टायरलगायतमा पानी जम्न नदिने जनस्वास्थ्य अधिकृत पट्टेलले आग्रह गरे ।

दुई सय २१ जनामा स्क्रब टाइफस जिल्लाका विभिन्न अस्पतालमा साउनयता दुई सय २१ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । उपचारका गर्न आएका एक हजार छ सय २१ को परीक्षण गर्दा उक्त संख्यामा स्क्रब टाइफसको संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय प्रमुख रुपाखेतीले जानकारी दिए । उनका अनुसार संक्रमितमध्ये एक सय १५ चितवन र एक सय छ जना बाहिरी जिल्लाका हुन् । गत आर्थिक वर्षमा सात सय ६२ को परीक्षणका क्रममा दुई सय
४८ जनामा स्क्रब टाइफस देखिएको थियो ।

स्क्रब टाइफस मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित कीर्नाले मानिसलाई टोकेपछि सर्ने उनले जानकारी दिए । स्क्रब टाइफस भएमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी लाग्ने, वान्ता हुने, पेट दुखाइ र पखालाले सताउने, श्वास फेर्न समस्या हुने, धेरै टाउको दुख्ने, जोर्नी र मांसपेशी दुख्ने, बिमिरा देखिने, टोकेको ठाउँमा कहिलेकाहीं कालो दागजस्ता लक्षण देखिने गर्दछ । यसबाट बच्न खेत, झाडी वा वनजंगल जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने, शरीरको खुला भागमा कीटनाशक मलम प्रयोग गर्ने, घरवरिपरिका खेताबारिमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रण गर्न उपयुक्त किसिमले अन्न भण्डारण गर्नुपर्ने रुपाखेतीले बताए ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here