Homeमकवानपुर विशेषहेटौँडाप्रदेशको खेलविज्ञमा श्रेष्ठ

प्रदेशको खेलविज्ञमा श्रेष्ठ

हेटौंडा/वागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले दीपक श्रेष्ठलाई खेलविज्ञ मनोनित गरेको छ । मन्त्री मीनकृष्ण महर्जनले ललितपुरको गोदावरी-११ निवासी श्रेष्ठलाई खेलविज्ञ मनोनित गरेका हुन् । दक्षिण एसियाली खेलकुद
(सँग) मा लगातार दुई पटक स्वणर् पदक विजेता श्रेष्ठले सक्रिय खेलाडीबाट अवकाशपश्चात् राष्ट्रिय टिम प्रशिक्षकको जिम्मेवारीबहन गरी राष्ट्रका लागि पदक जित्ने सफल खेलाडी उत्पादनमा योगदान पुर्‍याउँदै आएका छन् । श्रेष्ठलाई वागमती प्रदेशको समग्र खेलक्षेत्रको विकासका लागि सल्लाह/सुझाव दिन र आवश्यक विभिन्न खेलकुदसँग सम्बन्धित गतिविधि सञ्चालन गर्न उक्त जिम्मेवारी प्रदान गरिएको मन्त्री महर्जनले बताए । खेलाडीहरुको हकहितका लागि लामो समयदेखि काम गर्दै आएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहेका श्रेष्ठ २०४९ सालदेखि खेलकुद क्षेत्रमा क्रियाशील छन् ।

उनले पछिल्लो समय राष्ट्रिय खेलकुद परिषद् राष्ट्रिय टिम तयारी समितिको उपनिर्देशक तथा नेपाल कराते महासंघको सहायक मुख्य प्रशिक्षकको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन् । प्रदेशको समग्र खेलकुद क्षेत्र विकास र खेलकुदको स्तर बढाउने तथा संरचनागत् र जनशक्ति विकासको कार्यक्रमलाई तीव्रता दिइने श्रेष्ठले बताए । उनकै पहलमा २०७९ असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सम्पन्न ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा वागमती प्रदेशबाट प्रतिनिधित्व गर्दै पदक जितेका खेलाडीले प्रोत्साहन पुरस्कार प्राप्त गर्ने भएका छन् ।

प्रदेशका युवा तथा खेलकुद मन्त्री महर्जनले प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई नगदसहित पुरस्कार गर्न लागिएको जानकारी दिएका हुन् । प्रतियोगिता सम्पन्न भएपश्चात् तत्कालीन खेलकुद मन्त्री रत्नप्रसाद ढकालले पदक प्राप्त खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने घोषणा गरेका थिए । मन्त्रालयले स्वणर् विजेता खेलाडीलाई जनही १ लाख, रजत विजेता खेलाडीलाई जनही ७५ हजार र कास्य पदक विजेता खेलाडीलाई जनही ५० हजारसहित सम्मान गर्ने निणर्य गरेको थियो ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले उक्त राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको यति लामो अवधिसम्म पनि प्रदेश सरकारबाट पूर्वघोषित सम्मान प्राप्त नभएको भनी खेलाडीहरुको बारम्बार गुनासो आइरहेको र पदक प्राप्त खेलाडीमा निराशाजनक अवस्था सिर्जना भएको भन्दै निकट भविष्य हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताअगावै उक्त पूर्वघोषित नगद पुरस्कार पदक प्राप्त खेलाडीलाई उपलब्ध गर्न सके खेलाडीहरु अझ हौसिएर धेरै भन्दा धेरै विगतभन्दा बढी पदक प्राप्त गर्न सकिने सम्भावना भएको मन्त्रीसमक्ष पत्र दिएर आग्रह गरेको थियो । अघिल्लो आर्थिक वर्षमा खेलकुद मन्त्रालयले पुरस्कार प्रदानका लागि २ करोड २४ लाखका लागि अर्थ मन्त्रालयसँग सहमति मागे पनि सहमति आएको थिएन ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here