हेटौंडा/काठमाडौं बागबजारको रत्नपुस्तक भण्डार भएको गल्लीतिर भेटिन्छन् गोपी अर्याल । ४८ वर्ष टेकेका गोपी निरक्षर हुन् । फेरि पनि यिनको जागिर नेपालकै पुरानो पुस्तक पसल रत्नपुस्तक भण्डारमा छ । निरक्षर भए पनि पुस्तक भण्डारमा काम पाएको छु, मज्जाले हाँसे गोपी । तर, उनको हाँसोभित्रको पीडा भने भयंकर चोटिलो छ । उनको परिवार छ, पत्नी र एउटा छोरा । उनी आफंै भने बेसाहरा हुन् । गोपी अर्याल काठमाडौं छिरेको ४० वर्ष नाघेको छ । यो अवधिमा उनले धेरै हन्डर-ठक्कर खाएका छन् । केटाकेटी उमेरदेखि होटल र घर-हरुमा मजदुरी गर्न थालेका गोपी आफू भने घरबार विहीन हुन् । मेरोे जन्मघर कहाँ हो म आफैंलाई थाहा छैन, अनि कर्मथलोमा घर बनाउने हैसियत नै पुगेको छैन, गोपीले भने । काठमाडौं छिर्नुअघिको बालापन उनले गाउँमै बिताएका हुन् ।
तर कुन जिल्लाको कुन गाउँ हो भन्ने उनलाई थाहा छैन । गाँउमा बजैस“ग बसेका गोपीलाई त्यस्तै ६-७ वर्षको उमेरमा एउटा बैनीसँगै बुबाले हेटौंडा ल्याएको थाहा छ, कुन गाउँबाट किन हेटौंडा ल्याएका हुन् भन्ने कुरा भने थाहा छैन । बुबाले हेटौंडा ल्याएपछि म एकदिन उनीसँगै कोठामा बसे र भोलिपल्ट बजारको बसपार्कतिर घुम्दै गर्दा एक जना मानिसले काठमाडौं ल्याएको याद छ,’ गोपीले भने ।
आमा र बुबाले समेत धेरै माया नगर्ने भएपछि आफू घरमा बस्न नसकेको गोपी सम्झन्छन् । उनले सानोमा देखेको आमा जन्म दिने आमा हो कि सौतेनी आमा हो भन्ने पनि गोपीलाई थाहा छैनन् । हाल चाहिं मलाई ती सौतेनी आमा थिइन् कि भन्ने लाग्छ, गोपीले भने-आफ्नै जन्मदिने आमा भए त माया गर्थिन् होला, हराउँदा खोजी गर्थिन् होला नि । विगत ४० वर्षदेखि म परिवारकै खोजीमा छु तर कसरी, किन काठमाडौं गएको हो र बाबुआमा को हो, के गर्नुहुन्छ भन्ने थाहा नभएकाले यतै (काठमाडौं) तिरै भौतारिरहेको छु, गोपीले भने ।
गोपी अर्याल नाम र हेटौंडा घर हो भन्न चाहिं उनलाई गाउकै बजैले सिकाएकी हुन् रे । बुबाले गाउ“बाट हेटौंडा बजार ल्याउने बेला बजैले कतै हराइस् भने गोपी अर्याल नाम र हेटांैडा घर हो भन्नू है भनेर सिकाउनुभएको थियो । त्यसैले मलाई विगतबारे यही दुई कुरामात्र याद छ, गोपीले भने । काठमाडौं गएपछि उनले २-३ वर्ष होटलमा भाँडा माझ्ने काम गरे । त्यसपछि एक दिन इन्द्रचोकमा बसिरहेको बेला त्यहींकी स्थानीय विष्णुदेवी गोवद्र्धनले उनलाई घर ल्याएर पालनपोषण गरेको हो रे ।
म त्यस्तै १० वर्ष उमेरको हुँदा विष्णुदेवी आमाले घर ल्याएर पालनपोषण गर्नुभयो र उहाँको छोरासमेतको सहयोगमा २०६६ सालमा विवाह गरिदिनु भयो, गोपीले भने । विष्णुदेवी गोवद्र्धनको परिवार इन्द्रचोकबाट बागबजार सरेपछि उनी पनि त्यतै गएका हुन् । कोरोनापछिबाट भने गोपीले विष्णुुदेवीको घर छाडेर रत्नपुस्तक भण्डारमा काम गर्न थालेका हुन् ।
मलाई सानोमा पालनपोषण गर्ने मेरो गाउँको बजै र विष्णुदेवी आमाको निकै याद आउँछ, गोपीले भने । गाउँको बजैको पनि निधन भइसक्यो वा जीवितै हुनुहुन्छ कसरी थाहा पाउनुहोला ?, गोपीले पीडा सुनाए । हाल उनका छोरा १३ वर्षका भए । पत्नीको राम्रै जागिर भएकोले उनीहरुले छोरालाई बागबजारकै रोयल पब्लिक स्कुलमा पढाएका छन् ।
आफ्नो घरपरिवारको ठेगान नहुँदा गोपीलाई छोराको जन्मदर्ता गर्न र पछि नागरिकता बनाउन समस्या हुुने कुराले पिरोलेको छ । मेरो घरपरिवारको ठेगान नभएकाले नागरिकता बन्न सकेको छैन,’ गोपीले दुःखी हुँदै भने-त्यसैले छोराको जन्मदर्ता र अरु कानुनी कुरामा समस्या भएको छ । सानैदेखि मुटुरोगी गोपीलाई बाबुआमाको सम्पत्तिको लालच छैन । तर, बाबुआमाको पहिचान भए आफ्नो नागरिकता बनाएर पछि छोरालाई सहज गरिदिन सकिन्थ्यो कि भन्ने आश छ । पत्रिकातिर खबर आउँदा धेरैको परिवारसँग भेट भएको भन्ने सुनेको छु, गोपीले भने-मेरो खबर पनि पत्रिकामा छापिएपछि बाबुआमा र परिवारसँग भेट हुन्छ कि ।