हेटौंडा/हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीको कुलेखानी-सिस्नेरी सडक १२ दिनका लागि बन्द भएको छ । मंगलबारदेखि असोज १९ गतेसम्मका लागि सडकमा सवारी आवागमन बन्द गरिएको हो । वागमती प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको उक्त सडक प्रादेशिक सडक गुरुयोजनाअन्तर्गत् प्रदेश लोकमार्ग कायम गरिएको छ ।
हेटौंडा-काठमाडौं आउजाउ गर्ने दक्षिणकाली-छैमले सडक कालोपत्र गर्नका लागि १२ दिन बन्द गर्ने निणर्य गरिएको दक्षिणकाली नगरपालिकाको कार्यालयले जानकारी दिएको छ । नगरपालिकाले उक्त सडक बन्द हुँदा सवारीसाधनलाई बैकल्पिक मार्गबाट डाइभर्सन गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौं र मकवानपुरलाई समन्वयका लागि आग्रह गरेको छ ।
उक्त सडकमा कालोपत्र कार्य अगाडि बढाउनका लागि सडकमा सवारी चापका कारणले कठिनाइ भएकाले उक्त सडकखण्डमा गुड्ने सवारीसाधनलाई असोज ८ गतेदेखि १९ गतेसम्म रोक लगाइएको जानकारी गराइन्छ, दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेतद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ । उक्त सडक राजधानी पूर्वाधार विकास विशेष आयोजना, हेटौंडाअन्तर्गत् ठेक्का लगाएर निर्माण कार्य भइरहेको छ ।