Homeमकवानपुर विशेषहेटौँडापतिको अत्याचार सहन नसकेर माइती

पतिको अत्याचार सहन नसकेर माइती

सुनिता बिष्ट
हेटौंडा/मकवानपुरगढी गाउँपालिका-५, सामरीकी २३ वर्षीया सरिता घिमिरे चितवनको रत्ननगरस्थित आफ्नो माइतीघरमै मृत भेटिइन् । घरमा पतिको अत्याचार सहन नसकेर माइती गएकी घिमिरेले सोमबार माइतीघरमै आफ्नो प्राण त्यागेकी हुन् । आइतबार राति खाना खाएर सरिताका बुबा, आमा र भाउजु सुते । सरिता पनि आफू सुत्ने कोठामा सुत्न गइन् । भोलिपल्ट अर्थात् सोमबार घरका सबैजना उठे । तर, सरिता सुतेको कोठाको ढोका अबेरसम्म खुलेन । परिवारका सदस्यहरुले उनलाई बोलाए ।

सरिता नबोलेपछि घरका मान्छेहरुले छिमेकीको सहारामा ढोका फुटाएर हेर्दा सिलिङ पंखामा सलको पासो लगाएर झण्डिएको अवस्थामा फेला परेकी थिइन् । २०७३ सालमा सामरीकै सुजन सापकोटास“ग विवाह बन्धनमा बा“धिएकी सरिताको वैवाहिक जीवन केही वर्ष राम्रै चल्यो । १५ वर्षको कलिलो उमेरमै परिवारले सुजनस“ग विवाह गराइदिएका थिए । मागी विवाह गरेका उनीहरुको वैवाहिक जीवन तबसम्म राम्रो भयो, जबसम्म सन्तानको जयजन्म भएन । २०७५ सालतिर सरिताको गर्भ बस्यो । सोही बेलादेखि उनका पति सुजनको अत्याचार सुरु भएको सरिताकी सानीआमा पुष्पा सापकोटा बताउँछिन् । उनका अनुसार सुजन जाँडरक्सी खाएर सरितामाथि कुटपिट गर्थे । सुजनले पिटेका चोट सरिताको
शरीरभरि निलडाम थियो ।

सानो निहुँमा पनि रक्सी खाएर पिट्ने गरेकै कारण सरिताले पटकपटक आफू पतिसँग घरमा बस्न नसक्ने माइती पक्षलाई बताउँदै आएकी थिइन् । परिवारका अन्य सदस्यले राम्रै गरे पनि पतिको अत्याचार सहेर उसैसँग बस्न नसक्ने भन्दै केही दिनअघि सरिताले पुष्पा (सरिताकी सानिमा) सँग पनि रुँदै गुनासो गरेकी थिइन् । त्यसले ज्वाईंसँग धेरै दुःख पाएकी थिइ, पुष्पाले भनिन्-सकेसम्म मिलेर घरजम गरेको राम्रो भनेर हामीले सल्लाह पनि दियौं । केही सीप नलागे माइतीमै बस पनि भनेका थियौं । माइती आएर दुई रात सुतेकी थिइ, तेस्रो रातमा त आत्महत्या गरिछे ।

उनका अनुसार सुजनले निकै कुटपिट गर्न थालेपछि जनप्रतिनिधिहरुकै सल्लाहमा सरितालाई एक महिना माइत बस्न भनिएको थियो । एक महिना माइतीघरमा बसे यता सुजन पनि सुध्रने र माया गर्नसक्ने आँकलन गरेर उनलाई माइती पठाइएको बताइएको छ । तर, घरमा ६ वर्षकी छोरी र ४ वर्षका छोरा छाडेर आफू एक्लै माइत बस्न नसक्ने सरिताले बताएकी थिइन् । यता, परिवारका सदस्यहरुले बच्चाहरुको पढाइ छुटाउन नहुने भन्दै उनलाई मात्र माइती पठाएको पुष्पा बताउँछिन् । माइती पुगेकी उनले बच्चाहरुको याद आएको भन्दै रोइरहेकी थिइन् । चाडपर्वको मुखमा घर र बच्चाहरु छाडेर म कसरी माइतीमा बसौं भन्दै रुँदै फोनमा कुरा गरेकी थिइन्, पुष्पाले भनिन्-छोराछोरी साथमै भइदिएका भए तिनका अनुहार हेरेर पनि यस्तो गलत बाटो रोज्दिन थिइन् होला कि ।

मृतक सरिताको पारिवारिक स्रोतका अनुसार उनले घरेलुहिंसा सहन नसकेर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा केही महिनाअघि घरेलु हिंसाको उजुरीसमेत दिएकी थिइन् । तर, प्रहरीले मिलापत्र गराएर सुजनकै घर पठाएको सरिताकी सानिमा पुष्पा बताउँछिन् । प्रहरीले भने प्रहरीले जबर्जस्ती कसैको घटनामा मिलापत्र गर्न दबाब दिने नगरेको बताउँछ ।
मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीका अनुसार उक्त समयमा दुवै पक्षका परिवारकै उपस्थितिमा एक पटकलाई मिलापत्र गरेर बस्ने सहमति भएको थियो । प्रहरीले मिल्नुस्, मिल्नपर्छ कसैलाई पनि भन्दैन, डीएसपी भण्डारीले भने-एक पटकमा समस्या सुल्झिएन भने दोस्रो पटक, तेस्रो पटक गरेर पनि प्रहरी कार्यालय आउन सक्नुहुन्थ्यो । परिवारले मिलाउँछौं भनेर लानुभएपछि प्रहरीले त्यसमा चासो देखाइरहनु आवश्यक पनि होइन ।

भदौ पहिलो साता सुजनले समेत विषसेवन गरेका थिए । रक्सीको नसाको तालमा विषसेवन गरेका सुजनलाई १५ दिन भरतपुर अस्पतालमा उपचार गराएर घर लगिएको मकवानपुरगढी-५ का वडाध्यक्ष दीपेश घिमिरे बताउँछन् । उनका अनुसार विषसेवन गरेर उपचारपछि निको भएका सुजनको मानसिक सन्तुलनसमेत बिग्रिएको थियो । जसका कारण छोराछोरीलाई पिट्ने, पत्नीलाई पिट्ने गर्दै आएका थिए । केही दिनअघि सुजनका बुबाले घरको दुःख सुनाउनुभएको थियो, वडाध्यक्ष घिमिरेले भने-हामीले सरिताका बुबासँग पनि कुरा गर्‍यौं । उहाँले नै बच्चाहरुको पढाइ छुट्छ । उनीहरुलाई त्यहीं राम्ररी राख्नु ।

छोरीलाई ८/१० दिनका लागि रत्ननगर (माइती) पठाइदिनु भन्नुभएको थियो । सल्लाहमै माइती पठाइएको हो ।
सरिताले आत्महत्या गरेपछि चितवन प्रहरीले उनका पति सुजनलाई नियन्त्रणमा लिएको थियो । तर, माइती र घर पक्षको सहमतिपछि सुजनलाई प्रहरीले घर पठाएको वडाध्यक्ष घिमिरे बताउँछन् । छोराछोरीलाई पढाउने, हेरचाह गर्नेलगायत विषयमा दुई पक्षबीच सहमति भयो । सरिताको शव दाहसँस्कार भइसकेको छ, वडाध्यक्ष घिमिरेले भने । सुजन र मृतक सरिताको परिवार मिलाउन वडाध्यक्ष आफैं चितवन पुगेको उनले जानकारी दिए । सरिताको काजकिरिया भने सुजनका बुबा अर्थात् मृतक सरिताका ससुराले गरेको वडाध्यक्ष घिमिरेले बताए ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here