काठमाडौं/उद्यमशीलता तथा रोजगारी वृद्धिका लागि कर्जा सुरक्षण अत्यावश्यक रहेको विज्ञहरुले बताएका छन् । शुक्रबारदेखि सुरु भएको एसियाली सुरक्षण संस्था (एसिक) हरुको ३६ औं सम्मेलनको दोस्रो दिन शनिबार वक्ताले नवप्रवर्तन र उद्यमशीलता विकासमा कर्जा सुरक्षण महत्वपूणर् हुने धारणा राखे । दोस्रो दिनको उद्घाटन सत्रमा प्रधानमन्त्रीका मुख्य आर्थिक सल्लाहकार पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा निकै कमले मात्र बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने प्रवृत्ति रहेको उल्लेख गरे । कुल जनसंख्याको अत्यन्त कम अर्थात् १८ प्रतिशत्ले मात्र कर्जा लिएको उनले जानकारी दिए ।
बैंक तथा वित्तीय संस्थाले महिलालाई कर्जाप्रवाह गर्दा प्रतिफल दर उच्च हुने उनको धारणा थियो । तर, महिलामा धितो राख्ने सम्पत्ति कम हुने गरेकाले ऋण लिएर काम गर्ने अवस्था नभएको उनले बताए । समृद्ध राष्ट्र बन्न महिलासहित सुबिधाबाट वञ्चित समुदायसम्म समाजका सबै वर्गमा कर्जाको सहज पहुँच हुनुपर्ने उनको भनाइ छ । सम्मेलनमा नवप्रवर्तनमा लगानी ः कर्जा सुरक्षण संस्थाको भूमिका विषयक सत्रका सहभागीले नवप्रवर्तन र उद्यमशीलतामा कर्जा सुरक्षणको आवश्यकतासहित आफ्नो देशको अभ्यास र अनुभव आदानप्रदान गरेका थिए । कोरिया कर्जा सुरक्षण कोष (कोडिट) अध्यक्षका नीति सल्लाहकार जुंगिन योनले कोडिटले नयाँ सोच र योजना भएका तर वित्तीयरुपमा अप्ठेरोमा परेका उद्यमीमा लगानी गरेको बताए ।
मलेसियाली क्रेडिट ग्यारेन्टी कर्पोरेसन (सीजीसी) अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मोहम्मद इसकले मलेसियाका साना तथा मझौला उद्योग (एसएमई) मध्ये एक तिहाइलाई सीजीसीले सहयोग गरिरहेको बताए । खासगरि सुरक्षा, वित्तीय व्यवस्था र आवश्यक अन्य काममा सहयोग गरिरहेको उनले जानकारी दिए । फिलिफिन्सको कर्जा सुरक्षण निकाय फिलिपिन ग्यारेन्टी कर्पोरेसन (पीजीसी) का वरिष्ठ उपाध्यक्ष सेल्सो गुटिअरेजले फिलिपिन्सको नवप्रवर्तनसम्बन्धि कानुन र कार्यक्रमले साना उद्योगी विकासलाई निरन्तरता दिन सहयोग गर्दै आएको जानकारी दिए । ॅहामी ग्रामीण विकासका माध्यमबाट देश विकासको प्रयास गरिरहेका छौं, उनले भने-कर्जा सुरक्षणका लागि हामीले सहरी क्षेत्रबाहिरका मानिसलाई आवेदन दिन प्रोत्साहित गर्छौं ।
ताइवानको एसएमई क्रेडिट ग्यारेन्टी फन्ड (टीएसएमईजी) का युसिन कुओले आफूहरुले एसएमईलाई जुनसुकै अवस्थामा पनि सहयोग गर्दै आइरहेको बताइन् । सरकार र बैंकसँगको सहकार्यमा उद्यमीलाई सहयोग गरिरहेको उनको भनाइ थियो । सम्मेलनको दोस्रो सत्रमा नवप्रवर्तन फाइनान्सिङमा एसियाली देशका उत्कृष्ट अभ्यासबारे छलफल भएको थियो । उक्त सत्रमा क्रेडिट ग्यारेन्टी कर्पोरेसन अफ कम्बोडिया (सीजीसीसी) डेपुटी प्रमुख कार्यकारी अधिकृत (सीईओ) लिडा नोले विशेषगरि साना तथा मझौला उद्योग र अन्य व्यवसायलाई सहयोग गर्ने उद्धेश्यले कर्जा र बन्ड ग्यारेन्टी आफ्नो संस्थाले प्रदान गर्दै आएको बताइन् ।
जापान फाइनान्स कर्पोरेसन (जेएफसी) का वरिष्ठ अर्थशास्त्री योहेइ यामागुचीले सन् २०२७ सम्ममा नवप्रवर्तनको क्षेत्रमा लगानी बढाएर ७ अर्ब अमेरिकी डलरभन्दा बढी पुर्याउने उद्धेश्यले जापानी सरकारले पाँच वर्षे विकास योजना ल्याएको जानकारी गराए । उनका अनुसार स्टार्टअप संख्या र गुणस्तरमा उल्लेख्य वृद्धि गर्ने उक्त योजनाको लक्ष्य छ । ॅजापानका वाणिज्य बैंकहरुले बिजनेसलाई प्रोत्साहन गर्दा अन्य देशका तुलनामा इक्विटी फाइनान्स मार्केटको क्षेत्रमा विकास कम भएको देखियो,’ यामागुचीले भने-जेएफसी जस्ता संस्थाबाट नवप्रवर्तन र साना तथा मझौला उद्यम एसएमईलाई प्रोत्साहन गर्न सरकारले हस्तक्षेप गर्नुपर्ने देखिएको थियो ।
कार्यक्रममा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका सीईओ अनिर्वाण घोष दस्तीदारले स्टार्टअप र एमएसएमई बढिरहेको क्षेत्र/स्थानमा क्रेडिट ग्यारेन्टीको काम अझ महत्वपूणर् भएको बताए । नेपालमा २७ प्रतिशत् जनसंख्यामा बैंकको पहुँच पुग्न बाँकी रहेको उल्लेख गर्दै उनले वित्तीय पहु“चलाई समावेशी बनाउन पर्याप्त अवसर भएको पनि उल्लेख गरे । सोही क्रममा उनले नेपालमा उदीयमान र विस्तार हुँदै गएकाले स्टार्टअपहरुसँगै आर्थिक सम्भावना बढाउन क्रेडिट ग्यारेन्टीको आवश्यकता बढिरहेको धारणा राखे ।
भारत हैदरावादस्थित फिनटेक कम्पनी टी-हबका सल्लाहकार सञ्जय ठाकुरले एसियाली क्षेत्रमा कर्जा सुरक्षाले साना तथा मझौला उद्योगलाई विस्तार गर्न सहयोग पुग्ने बताए । तर, कर्जा सुरक्षा योजना वास्तविक समस्यामा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो । जापानका ५१ क्षेत्रमा ५१ प्रकारकै कर्जा सुरक्षण योजना रहेको उल्लेख गर्दै उनले यसबाट पनि एसियाली देशले पाठ सिक्नुपर्ने बताएका थिए । सोमबारसम्म सञ्चालन हुने सम्मेलनमा एसियाका १६ देशका सुरक्षण निकायको उपस्थिति छ । नेपालले ३० वर्षपछि सम्मेलन आयोजना गरेको हो ।