हेटौंडा/नेपाल लोकतान्त्रिक संस्थागत् तथा निजी विद्यालय शिक्षक संघ (निस्टा) को मकवानपुर जिल्ला तदर्थ समिति गठन गरिएको छ । नेपाली कांग्रेसको भ्रातृ संस्थाका रुपमा मान्यता पाएको निजी तथा संस्थागत् विद्यालयहरुमा काम गर्ने शिक्षकको संस्था नेपाल लोकतान्त्रिक संस्थागत् तथा निजी विद्यालय शिक्षक संघ (निस्टा) को पहिलोपटक शनिबार हेटौंडामा तदर्थ समिति गठन गरिएको हो ।
समितिमा गोपालप्रसाद खतिवडा संयोजक छन् । सात सदस्यीय तदर्थ समितिका सदस्यहरुमा शोभा गुरुङ, रचना बज्राचार्य, स्वस्तिका दाहाल, सुमंगला श्रेष्ठ, आयुष सुबेदी र सदस्यसचिवमा युवराज बिश्वकर्मा छन् । नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्ध लामा, निस्टा केन्द्रीय महासचिव सुदीप बर्तौला, कांग्रेस वागमती प्रदेश सदस्य चम्फुरत्न लामा, जिल्ला सचिव भीमसेन महत, कांग्रेस मकवानपुर जिल्ला सदस्य एवम् अनुशासन समिति संयोजक प्रभात दाहाललगायतको उपस्थितिमा समिति गठन गरिएको हो ।
पार्टी सभापति लामाले संस्थागत् विद्यालयमा काम गर्ने नेपाली कांग्रेसमा आस्था राख्ने शिक्षकलाई सहभागी गराउँदै पेशागत् मर्यादासँगै आफ्नो हकहितका लागि पनि एकजुट भएर लाग्न आग्रह गरे । केन्द्रीय महासचिव बर्तौलाले जिल्लामा विभिन्न निजी तथा संस्थागत् विद्यालयहरुमा कार्यरत् लोकतान्त्रिक विचारधारा बोकेका शिक्षकहरुलाई एकतबद्ध गर्दै उनीहरुको क्षमता अभिवृद्धिसँगै आवश्यकता पर्दा हकहितका विषयमा आवाज उठाउने उद्धेश्यले निस्टा जिल्ला समिति गठन गरिएको बताए ।
तदर्थ समिति संयोजक खतिवडाले विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्दै पार्टी र संगठनलाई एकाकार गराउन भूमिका खेल्ने बताए । उनले लोकतान्त्रिक विचारमा आवद्ध हुन चाहने शिक्षकहरुलाई समेटेर छिट्टै बृहत् भेलाबाट जिल्ला समितिलाई पूणर्ता दिने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।