हेटौंडा/मातृभूमि साहित्य समाज मकवानपुरले केशबलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार-२०८० हेटौंडा सन्देश दैनिकका सम्पादक माधबप्रसाद न्यौपानेलाई प्रदान गरेको छ । न्यौपानेलाई दश हजार राशिसहित शनिबार एक कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो । उक्त पुरस्कार समाजसेवी ईश्वर मैनालीद्वारा आफ्ना बुबाको स्मृतिमा स्थापित भएको हो ।
समाज र महालक्ष्मी विकास बैंकद्वारा संयुक्तरुपमा प्रदान गरिने महालक्ष्मी साहित्य पुरस्कार-२०८० मकवानपुरकी महाकाव्यकार मुना अर्याललाई प्रदान गरिएको छ । अर्याललाई ५१ हजार राशिसहित सम्मानपत्रले सम्मान गरिएको हो । समाज अध्यक्ष कृष्णप्रसाद दाहालको सभाध्यक्षता तथा वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । अर्याललाई मन्त्री लामिछाने र महालक्ष्मी विकास बैंकका क्षेत्रीय प्रवन्धक शम्भुप्रसाद पराजुलीले पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा मकवानपुर श्री सम्मान-२०८१ मकवानपुरका अग्रज शिक्षाप्रेमी बद्रीनाथ शर्मालाई प्रदान गरिएको छ । २०५६ सालमा स्थापना भएको समाजले २०५९ सालमा यति फाइनान्स साहित्य पुरस्कार स्थापना भएको हो । २०७४ को १५ औं श्रृंखलादेखि पुरस्कारको नाम महालक्ष्मी साहित्य पुरस्कार बनाइएको थियो ।
कार्यक्रममा समाज प्रमुख संरक्षक मुक्तिगोविन्द वैद्य, संस्थापक अध्यक्ष ह्यग्रीव आचार्य, बैंकका क्षेत्रीय प्रवन्धक पराजुली, हेटौंडा शाखा प्रवन्धक अनन्तराज धिताल, सम्मानित व्यक्तित्वहरुका साथै मकवानपुरका विभिन्न साहित्यिक संघसंस्थाका प्रतिनिधिको आतिथ्यता थियो ।