हेटौंडा/वागमती प्रदेश सरकारले पेरिस पारा ओलम्पिक कास्य पदक दिलाएकी पलेशा गोवद्र्धनलाई नगदसहित सम्मान गरेको छ । संविधान दिवसको अवसरमा बिहीबार हेटौंडामा आयोजित कार्यक्रममा उनलाई नगद १० लाखसहित सम्मानित गरिएको हो । १९ औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत् करातेमा नेपाललाई रजत पदक दिलाएकी एरिका गुरुङलाई नगद ५ लाखसहित प्रशंसापत्रले सम्मान गरिएको छ ।
कार्यक्रममा पलेशाले आउने दिनहरुमा अझ यस्तै पदकहरु जित्न सक्ने आँट भएको बताइन् । मेडल जित्नका लागि निकै चुनौतीहरु भोग्नु परेको अनुभव उनले सुनाइन् । पछिल्लो समय पारास्पोर्टस्लाई आगामी पुस्ताले बुझ्न सजिलो भएको उनले बताइन् । साना भाइबहिनीले तपाईं जस्तै बन्छु भन्दा मलाई निकै खुशी लाग्छ, उनले भनिन् ।
प्रदेश खेलकुद विकास परिषद्का अनुसार अगष्ट ३० मा पेरिसमा तेक्वान्दो खेलमा सर्बियाली खेलाडीलाई पराजित गर्दै पलेशाले नेपाललाई ऐतिहासिक सफलता दिलाएकी थिइन् । उनी नेपालले ओलम्पिकमा सहभागिता जनाउन थालेको ६० वर्षको इतिहासमा पहिलो पटक पदक जित्न सफल खेलाडी हुन् ।
सन् २०२१ मा बहराइनमा भएको एसियाली युथ पारा गेम्समा उनले स्वणर् जितेपछि पलेशाको चर्चा एकाएक चुलियो ।
पढाइलाई उत्तिकै महत्व दिने उनी टोकियो पुग्नुअगावै झण्डै खेल छाडिसकेकी थिइन् । पढाइ बिग्रिएको आफैंलाई महसुस भएपछि उनी घरमा आएर रोइछन् । सम्झाएपछि उनी फेरि खेलमा फर्किइन् । सन् २०२० को टोकियो ओलिम्पिकमा दुई वाउट जितेर पनि पदक चुम्न नपाउँदा भने उनी खुब दुःखी बनेकी थिइन् । युनिग्लोब कलेज बाट १२ कक्षा सकाएपछि उनको बढ्ता ध्यान पढाइतिर मोडियो ।
उनले सन् २०२० को ग्रीष्म- कालीन प्यारालिम्पिक्समा ५८ किलो तौल वर्गमा प्रतिस्पर्धा गरेकी थिइन् ।
फ्रान्सको पेरिसमा सम्पन्न सन् २०२४ को ग्रीष्मकालीन प्यारालिम्पिक्समा नेपाली पारा तेक्वान्दो खेलाडी पलेशाले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी हुन् । कुनै पनि ओलम्पिकमा नेपाली खेलाडीले जितेको यो पहिलो आधिकारिक पदक हो । जुन नेपाली खेलकुदको सबभन्दा ठूलो उपलब्धि मानिन्छ ।
जन्मँदै बायाँ हातको नाडीदेखि तलको भाग नभएकी पलेशाले स्कुलमा अध्ययनरत् रहँदा १० वर्ष उमेरदेखि तेक्वान्दो खेल्न थालेकी हुन् । उनी सन् २०१६ देखि पारा राष्ट्रिय टिममा आबद्ध भएकी थिइन् । पलेशाले सन् २०१६ देखि नै नेपाल तेक्वान्दो संघका प्रशिक्षक नेगीसँग प्रशिक्षण लिइ-रहेकी छन् ।
उनको अन्तर्राष्ट्रिय प्रतियोगिताको डेब्यु सन् २०१७ मा दक्षिण कोरियाको छुञ्चियोनमा भएको तेस्रो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप हो । त्यसमा उनी पाँचौं स्थान रहिन् ।
५७ वर्षदेखि खेल्न थालिएको ओलम्पिकले निराश बनाए पनि १० वर्षदेखि खेल्न थालिएको पारालि- म्पिकले भने यस निराशालाई चिर्दै नेपालीलाई खुशी दिलाएको छ । दुई वटा विश्व पारा तेक्वान्दो च्याम्पिय- नसिप र तीन वटा एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा भाग लिइसकेकी पलेशाबाट नेपाली खेलकुद क्षेत्रले यस सफलताको अपेक्षा गरेको पनि हो । जसलाई सार्थक तुल्याउँदै उनले मुलुकको नाम राख्न सक्नुको प्रशंसा जति गरे पनि अपुग हुन्छ ।
कार्यक्रममा प्रदेश सरकारले खेललाई उच्च स्थानमा राखेर अगाडि बढाइ युवालाई खेलमार्फत् रोजगारी प्रदान गर्ने मुख्यमन्त्री बहादुरसिंह लामाले प्रतिबद्धता व्यक्त गरे । उनले आगामी दिनमा नेपाललाई गोल्ड मेडल ल्याइ विश्वभर चिनाउन सफल हुन शुभकामना व्यक्त गरे । खेल अत्यन्त महत्वपूणर् पाटो भएको र खेलले राष्ट्र चिनाउन मद्धत पुर्याउने मुख्यमन्त्री लामाले बताए । पलेशा देशको शिर उच्च राख्न सफल भएकोमा उनले खुशी व्यक्त गरे ।
नेपाली खेलकुद क्षेत्रमा नेपालकी छोरी पलेशाले प्राप्त गरेको सफलताले खेलजगत्मै उत्साहको नयाँ सञ्चार गरेको छ, लामाले भने-यस सफलता नेपाल र नेपालीका लागि गर्वको विषय हो । ओलम्पिक यात्रामा नेपाली खेलाडीको सफलता अब यसैगरी दर्ज हुँदै जानेछ । भविष्यमा हुने कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका खेलाडीको प्रेरणाको स्रोतका रुपमा गोवद्र्धनको सफलता महत्वपूणर् हुने उनले उल्लेख गरे ।
नेपालले लामो समयदेखि ओलम्पिक गेम्समा सहभागिता जनाउँदै आएको छ, उनले भने-तर, हालसम्म पदक तालिकामा नेपालको नाम चढेको थिएन । पलेशाले त्यसको अभावलाई सम्बोधन गर्ने स्थानमा पुर्याएकी छन्, यो खेलाडीका लागि महत्वपूणर् प्रेरणा हो । पाराओलम्पिक बाट आएपछि लगातार सम्मानमा व्यस्त पलेशा केही दिनपछि चीन जाँदैछिन् ।
आर्किटेक्चरर इञ्जिनियरिङमा अध्ययनरत् पलेशा ओलम्पिककै लागि बिदामा आएकी थिइन् ।
प्रदेश सरकारले पलेशाका प्रशिक्षक कविराज नेगीलाई २ लाख र नेपाल तेक्वान्दो संघ वागमती प्रदेश समितिलाई १ लाख रुपियाँ प्रदान गरेको छ । एरिकाका प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख र नेपाल कराते महासंघ वागमती प्रदेश समितिलाई १ लाख प्रदान गरिएको छ । सम्मानित खेलाडी तथा प्रशिक्षक र संघ अध्यक्ष एवम् प्रतिनिधिहरुलाई मुख्यमन्त्री लामा र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले सम्मानपत्र प्रदान गरेका थिए ।