हेटौंडा/वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मानव र वातावरणबीच घनिष्ठ सबन्ध
रहेकाले वातावरण संरक्षणमा सबै मिलेर लाग्नुपर्ने बताएका छन् ।
मंगलबार प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजनामा हेटांैंडा उपमहानगरपालिका-९ स्थित दिव्य बालउद्यान बेतखोलसमा भएको वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले पछिल्लो समय वनजंगल विनाश हुने क्रम बढ्नाले मानवलाई प्रत्यक्ष असर गरिरहेको बताए ।
उनले त्यसको संरक्षणमा सबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले पछिल्लो समय अव्यवस्थित बसोबास, जंगलको भूभाग अतिक्रमण लगायतका बिषयले वातावरणलाई प्रत्यक्ष असर गरिरहेको र त्यसको प्रत्यक्ष असर मानवजातिले भोग्नु परेको बताए ।
कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज लामिछानेले वातावरण संरक्षणके निम्ति हाल भएका वनजंगल संरक्षण गर्दे अन्य खाली क्षेत्रमा वृक्षरोपण गर्दै जानुपर्ने बताए । उनले वनजंगलमा बोटबिरुवा रहेमात्र मानव अस्तिव रहने बताए । बिरुवाको विनास हुने क्रम रहे मानवातिको अस्तित्व नै संकटमा रहने उनले बताए ।
कार्यक्रममा प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले लामो समयपछि प्राप्त संघीयतासहित संविधान समावेशी रहेको बताए । उनले नागरिकलाई प्रत्यक्षरुपमा अनुभव गर्ने गरी आएको संविधानले वडा-वडा सिंहदरबार र आफ्नै घरआँगनमा सरकार भएको अनुभूति दिलाएको बताए ।
उनले सिंहदरबारको अधिकार वडा-वडामा आएको बताउँदै वडाबाट धेरै काम सहजरुपमा जनताले गर्न पाएको बताए ।
हालको संविधानले नेपाली जनताका आवश्यकता र औचित्यका आधारमा धेरै मौलिक हकसमेत समावेश गरेर सुनमा सुगन्ध छरेको उनले बताए ।
मन्त्री सिलवालले संविधान दिवसको अवसरमा मन्त्रालयले गरेको वृक्षरोपण कार्यक्रमले समाजलाई मानव र जगत्बीच सम्बन्ध जोड्ने विश्वास गरिएको बताए ।
प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ भव्यतासाथ मनाउने सन्दर्भमा मुख्यमन्त्री लामाको अध्यक्षतामा १८ गतेको बैठकको ३ दिन दिवस मनाउने निणर्य गरेको थियो ।
सोहीअनुसार वृक्षरोपण र खेलकुद कार्यक्रमहरु भएका थिए । वृक्षरोपण कार्यक्रममा प्रदेशका मन्त्रीहरु, सचिव, कर्मचारीलगायत स्थानीय जनप्रतिनिधिको आतिथ्यता थियो ।