हेटौंडा/ग्रामीण महिला सेवाकेन्द्र मकवानपुरको हेटौंडामा २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभा बुधबार केन्द्र अध्यक्ष सुलोचना स्यांतानको सभाध्यक्षता तथा प्रदेशसभा सदस्य एवम् वागमती प्रदेश सामाजिक विकास निवर्तमान मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा अध्यक्ष स्यांतानले संस्थाको चुनौती सुनाउँदै संस्थालाई जोगाउन स्थानीय तह, गैसस महासंघ र सरकारका अन्य निकाय सँग सहयोगको अपेक्षा रहेको बताइन् । उनले आफू मन्त्री रहँदा सामाजिक विकास मन्त्रालयबाट सहयोग भएको समेत बताइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मोक्तानले केन्द्र महिलाको क्षेत्रमा काम गर्ने संस्था भन्ने पहिल्यैदेखि सुनेको तर संस्थाको कार्यक्रममा धेरै पटक सहभागी भए पनि संस्थाको इतिहास थाहा पाएको बताइन् ।
उनले ग्रामीण महिला सेवामा आवद्ध सबै महिला नेतृत्वको सवालमा सफल रहेको र केन्द्रलाई व्यवस्थित गराउन उनीहरुकै भूमिका महत्वपूणर् रहने कुरामा जोड दिइन् ।
उनले संस्थाबाट महिलाहरु करोडौंको कारोबार हुने संस्थाको नेतृत्वमा रहँदा पनि संस्था परनिर्भर हुनुपरेको भन्दै दुःख व्यक्त गरिन् ।
करोडौंको कारोबार गर्ने संस्थाले संस्था बचाइदिनुस् भनेर आग्रह गर्नुपरेकोमा पीडाबोध भएको र इतिहास बुझ्दा संस्थाको माया लागेको बताइन् । संस्थाको नेतृत्वले जोगाउन गरेको सबै प्रयास सराहनीय रहेको भन्दै उनले हौसला दिइन् ।
उनले थपिन्-आजजस्तै भोलि नरहन सक्छ । संस्थाको विधानअनुसार नयाँढंगले अघि बढाउनेबारे छलफल भएको थियो।
उनले संस्थाको नेतृत्वले सक्रियता बढाए उक्त संस्था धेरै अगाडि बढ्ने संस्था रहेको बताइन् ।
महिलाको नेतृत्व विकासका लागि लगानी धेरै मात्रामा भएको तर कहीं पनि व्यवस्थित नभएको मोक्तानले टिप्पणी
गरिन् । उनले महिलाका लागि खोलिएको संस्था व्यवस्थित हुनुपर्नेमा जोड दिइन् । उक्त संस्थालाई व्यवस्थित गर्नका लागि वडा, पालिका, प्रदेश र संघीय सरकार पनि सहयोग गर्न तयार रहेको उनको भनाइ थियो ।
हेटौंडा-५ का वडा अध्यक्ष सुशील घिमिरे र गैरसरकारी महासंघ मकवानपुर सचिव सन्तोष पौडेलको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुर सदस्य शर्मिला महत, संस्था पूर्वअध्यक्ष तथा सल्लाहकार शर्मिला श्रेष्ठ, संस्था निवर्तमान अध्यक्ष तथा सल्लाहकार उर्मिला कार्कीलगायतको उपस्थिति थियो ।