Homeमकवानपुर विशेषहेटौँडाचोनाम पर्व मनाउंदै चेपाङ

चोनाम पर्व मनाउंदै चेपाङ

हेटौंडा/चेपाङ समुदायले आज चोनाम पर्व मनाउँदै छन् । यो उनीहरुको मुख्य पर्व हो । नयाँ अन्नबाली, फलफूल पाकेपछि यस पर्वमा पूजा गर्ने गरिन्छ । घैया धानको चामल, पिंडालु, निबुवा आदिले भूमिलाई पूजा गरी पितृलाई चढाउने चलन
छ ।

चेपाङ समुदायले आजको दिन छरछिमेकीनाताकुटुम्बलाई बोलाएर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये चेपाङ पनि एक हो । आज चेपाङको विशेष पर्व चेपाङ चोनाम, नयाँ घैया बाली अर्थात् धान बाली खानका लागि झाँक्री अर्थात् पाम्बेलाई घरमा बोलाएर ढ्यांग्रो ठोकेर यस पर्व मनाउने गर्दछन्, फलफूल कर्कलो गाभा अगाडि राखेर पितृ अनि देवतालाई मन्त्र फलाक्दै झाँक्रीले बोलाउने गर्दछ ।

रातभर ढ्यांग्रो ठोकेर झाँक्रीले यसरी पितृलाई अनि देवतालाई मन्त्रबाट बोलाएर आयु हुनेलाई बाँच्न देऊ भनी धानको टीका लगाइदिन्छ, यसपछि धान र फलफूल खानयोग्य मानिन्छ । आजको रात चेपाङ युवाले नाचगान गरी रमाइलो गरेर बिताउँदछन् । मात्र १ प्रतिशत् चेपाङलाई मात्र गरेको कृषिले खान पुग्छ । चेपाङ एउटा सीमान्तकृत समुदाय हो र यो समुदायको रक्षा र सँस्कृति जगेर्ना आवश्यक छ ।

महाभारत पर्वत श्रृङखलावरिपरि बसोवास गर्ने तिब्बती वर्मन समुदायको एउटा जुझारु जाति, चेपाङ जातिको आज विशेष पर्व चोनाम पर्व हो । प्रकृतिसँग अत्यन्त नजिक, कृषिप्रधान अनि धेरै नै आत्मीय स्वभावका चेपाङहरु सुरुसुरुमा बसाईं सरिरहने अनि घुमन्ते तवरले जीवनयापन गर्ने खुला अनि रसिक जीवनशैलीका लागि अत्यन्त प्रख्यात छन् ।

ऐतिहासिकरुपमा जंगल तथा जंगलआसपासबाट दाउरा संकलन गर्दै नजिक रहेका खोलाको माछा मार्दे, चमेरालगायत जंगली पक्षी र जनावरको शिकार खेल्दै आफ्नो सरल र प्राकृतिक जीवनयापन गर्ने चेपाङ जाति बिस्तारै अब एक ठाउँमा थलो बनाएर आजभोलि व्यवस्थित बसोबास गर्दै छने । तीव्रगतिमा भइरहेको जंगल फँडानी, सहरीकरण अनि वन्यजन्तुको विनाशका कारण यस जातिको मूलभुत जीवन आधारमा समस्या ल्याएको हो । आफूले उत्पादन गरेको वालीले सामान्यतया ३ महिना खान पुग्ने यस जातिले ९ महिना कष्टपूर्वक जिन्दगी बाँच्नुपर्दछ ।

धेरैजसो मकवानपुर, तनहु, गोरखा, चितवन र धादिङलगायत जिल्लामा जंगलको पाखा र खोलाको तिरमा करिब ३ हजार मिटरआसपास बसोबास गर्ने समुदायलाई सहरीकरण, विकास अनि चेतनाको लहरले मज्जाले छुन सकेको छैन । उनीहरुको मुख्य धर्म बोन अर्थात् प्रकृति पूजा हो । हुन त उनीहरुको परम्परागत जीवन शैलीको पनि बेग्लै मज्जा छ । तथापि, विकासका आधारभुत पूर्वाधार, संरचना अनि आयाम सँग उनीहरुलाई अभ्यस्त गराउन जरुरी छ ।

राजा महेन्द्रको पालामा उनले चेपाङ समुदायलाई आफ्ना प्रजा भनी सम्बोधन गरेकोमा तत्पश्चात् अधिकांश चेपाङले आफ्नो नाम पछाडिको थरमा प्रजा लेखाउन थालेको इतिहास छ भने कसैकसैले सामान्यरुपमा चेपाङमात्र थर राखेको पनि पाइन्छ । विगतका समयमा उनीहरुको गरिबी र शिक्षाको कमीलाई आधार बनाएर धर्म परिवर्तन गराउने, मानव र अंग तस्करीमा प्रयोग गर्ने कार्यहरुमा देखिएकोमा सम्बन्धित निकायले चालेका कदम र उनीहरुलाई समष्टीगत् विकासको मूलधारमा ल्याउने कदम यथेष्ट नभएको देखिन्छ ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here