हेटौंडा/वागमती प्रदेशका कृषि तथा पशुपक्षी विकास मन्त्री प्रकाश श्रेष्ठले आफ्नो १०० दिनको कार्यकालमा भएका प्रमुख उपलब्धिहरु सार्वजनिक गरेका छन् ।
मन्त्रालयले बाढीपहिरोपीडित कृषकहरुको तथ्यांक संकलन गरी राहत प्याकेजका लागि आवश्यक बजेट माग गरेको छ । समुदायमा आधारित खेती प्रणालीमार्फत् कृषि उत्पादनमा स्वनिर्भर वडा निर्माण गर्न ५० वटा वडामा कार्यक्रम सुरु हुने क्रममा रहेको र थप २५ वटा वडा छनौट प्रक्रिया अघि बढेको छ ।
मन्त्रालयले लम्पिस्किन डिजिजविरुद्ध सप्ताहव्यापी खोप अभियान सञ्चालन गरी ७१ हजार ९ सय ७७ गाईभैंसीलाई खोप लगाएको छ । हेटौंडा-११ मा निर्माणाधीन प्रादेशिक कृषि थोकबजार निर्माण कार्य सम्पन्न हुने चरणमा पुगेको छ । प्रदेशका ८ जिल्लाका १० स्थानमा निर्माणाधीन शीतभण्डार निर्माण कार्य ८५ प्रतिशत् सम्पन्न भएको छ । यी शीतभण्डारमा करिब १५ हजार ८ सय मेट्रिकटन भण्डारण क्षमता छ ।
प्राकृतिक विपद्बाट क्षति पुगेका १ सय ३ किसानलाई हालसम्म २ करोड ५४ लाख ३४ हजार १ सय ६३ रुपियाँ राहत रकम उपलब्ध गराइएको छ । चालु आर्थिक वर्षमा यसका लागि ५ करोड रुपियाँ विनियोजन गरिएको छ । प्रदेशका २६ स्थानमा निर्माणाधीन एक वडा एक पशु स्वास्थ्य क्लिनिकमध्ये १८ वटाको भवन निर्माण कार्य सम्पन्न भएको छ । दूध उत्पादक कृषकलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्षमा २० करोड रुपियाँ स्थानीय तहमा वित्तीय हस्तान्तरण गरिएको छ ।