Homeमकवानपुर विशेषबागमतीकहिले आउलान् पाँच मन्त्रालयका सचिव ?

कहिले आउलान् पाँच मन्त्रालयका सचिव ?

हेटौंडा/वागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित पाँच वटा मन्त्रालयमा सात सचिव रिक्त छन् । यसले नियमित कार्यसम्पादनमा समस्या छ ।

संघीय सरकारले प्रदेशमा आवश्यक सचिव सरुवा गरी नपठाउँदा प्रदेशका सात सचिव रिक्त भएको हो । सचिव नहुँदा मुख्यमन्त्री कार्यालयकै काम प्रभावित भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तीन सचिवसहित सँस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, श्रम, रोजगार तथा यातायात मन्त्रालयमा सचिव रिक्त छ । स्वास्थ्य र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पनि सचिव रिक्त छ ।

हाल प्रदेशको मुख्यमन्त्री कार्यालयमा एक प्रमुख सचिव छन् । मुख्यमन्त्री कार्यालयको शासकीय सुधार तथा सुशासन महाशाखा, प्रशासन तथा बैठक महाशाखा र कानुन महाशाखाका सचिव रिक्त रहेका हुन् । मुख्यमन्त्री कार्यालयको शासकीय सुधार तथा सुशासन महाशाखामा असोज १६ मा पदस्थापित भएका विदुर खनालले कात्तिक २७ मा अनिवार्य अवकास लिएसँगै उक्त पद रिक्त रहेको हो । उनी उक्त स्थानमा भदौ २७ मा सरुवा भएर आएका थिए ।

मुख्यमन्त्री कार्यालयका कानुन सचिव कृष्णकुमार कार्की ऊर्जा, जलस्रोत तथा सिचाईं मन्त्रालयमा सरुवा भएर गएसँगै पद पनि रिक्त छ भने प्रशासन महाशाखाका श्रवणकुमार पोखरेल पनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएर गएपछि पद रिक्त छ । उनको सरुवा दशैंलगत्तै भए पनि आइतबारमात्र मन्त्रालयमा हाजिर भएका छन् । प्रदेश सरकारले कर्मचारी व्यवस्थापनमा ध्यान नदिँदा मुख्यमन्त्री कार्यालयकै तीन सचिव रिक्त रहेको हो ।

प्रदेशको सँस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयमा सचिव नभएको चार महिना बितिसकेको छ । साउन ३२ मा सँस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयमा कार्यरत् हरिशरण पुडासैनी संघीय अर्थ मन्त्रालय सरुवा भएपछि मन्त्रालय निमित्तको भरमा छ । मन्त्रालयको सचिवको जिम्मेवारी नवौं तहका कर्मचारीलाई दिइएको छ ।

श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौलाको सरुवा भइसकेको छ । निरौलाको समावेशी आयोगमा सरुवा भएको १५ दिनभन्दा बढी भइसकेको छ । सरुवा भए पनि उनी प्रदेशमा बसिरहेका छन् । संघीय सरकारले उक्त पदमा अर्को सचिव नपठाउँदा उनले हालसम्म रमाना बुझेका छैनन् ।

प्रदेशको स्वास्थ्य मन्त्रालय सचिवविहीन छ । उक्त स्थानमा प्रदेशका ११ औं तहका बद्रीबहादुर खड्का सचिव थिए । उनी मंसिर पहिलो सातामा अनिवार्य अवकास हुँदैछन् । सोही कारण उनले राजीनामासमेत बुझाइसकेका छन् । उक्त पदमा पनि जिम्मेवारी तोकिन सकेको छैन । यसअघि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पूणर्बहादुर दर्जी दोहोरो जिम्मेवारीमा कामकाज गर्दै आएका छन् । उनको दरबन्दी प्रदेशसभा सचिवालयमा छ । उनले प्रदेशसभाको सचिवालय सचिवका रुपमा कामकाज गर्दै आएका छन् ।

सचिव अभावका कारण काम प्रभावित भएपछि मुख्यमन्त्री कार्यालय अन्य मन्त्रालयका सचिवलाई जिम्मेवारी तोक्ने गरी अघि बढेको छ । मुख्यमन्त्री बहादुरसिंह लामाको सचिवालयका अनुसार अन्य मन्त्रालयका सचिवलाई जिम्मेवारी तोक्ने गरी तयारी गरिएको छ ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here