सुनिता बिष्ट \हेटौंडा/वागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१/०८२ को ३ महिना अवधिमा विनियोजित बजेट खर्च निराशाजनक देखिएको छ । चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म अर्थात् पहिलो ३ महिना अवधिमा ६.८८ प्रतिशत्मात्र खर्च गरिएको हो । जसमा विकास खर्च अझ न्यून देखिएको छ । यस अवधिमा चालु खर्च १२.९३ प्रतिशत् भएको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ भने पुँजीगत् खर्च २.८८ प्रतिशत्मात्र भएको मन्त्रालयले जनाएको छ । असोज मसान्तसम्म समष्टीगत खर्च ४ अर्ब ४४ करोड १ लाख २४ हजार भएको मन्त्रालयले जनाएको छ । चालु आवका लागि छुट्याइएको कुल ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार बजेटमा कुल ६.६८ प्रतिशत् बजेट खर्च भएको अर्थ मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिए । उनका अनुसार पु“जीगत् खर्चतर्फ छुट्याइएको ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजारमा ३ महिना अवधिमा १ अर्ब ६ करोड ४० लाख बजेट खर्च भएको छ ।
चालुतर्फ विनियोजित कुल २६ अर्ब १० करोड १६ लाख ८२ हजारमा उक्त अवधिमा ३ अर्ब ३७ करोड ६१ लाख १७ हजार खर्च भएको सूचना अधिकारी पौडेलले बताए । कुन मन्त्रालयको खर्च कति ? चालु आर्थिक वर्षको बैशाखसम्म सबभन्दा धेरै बजेट पाएको भौतिक पूर्वाधार विकास मन्त्रालयले कुल बजेटको जम्मा ३.६७ प्रतिशत्मात्र खर्च गरेको छ । भौतिकले २२ अर्ब ६४ करोड ७२ लाख २९ हजार कुल बजेटमा ८३ करोड १५ लाख ३६ हजारमात्र खर्च गरेको प्रदेशको अर्थ मन्त्रालयले जनाएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयले ९३ करोड ९२ लाख ३७ हजार कुल विनियोजित बजेटमा ३ महिना अवधिमा ८ करोड ९९ लाख ७२ हजार अर्थात् ९.५८ प्रतिशत् बजेट खर्च गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले कुल ७४ करोड ५८ लाख २७ हजार विनियोजित रकममा हालसम्म ५ करोड २१ लाख १२ हजार अर्थात् कुल बजेटको ६.९९ प्रतिशत् खर्च गरेको छ ।
सँस्कृति तथा पर्यटन मन्त्रालयको कुल २ अर्ब ४६ करोड २ लाख १६ हजार विनियोजित बजेटमा हालसम्म ४ करोड ७ लाख ६२ हजार अर्थात् १.६६ प्रतिशत् बजेट खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३ महिना अवधिमा ११ करोड ४४ लाख ४७ हजार अर्थात् २१.१८ प्रतिशत् बजेट खर्च गरेको छ । उक्त मन्त्रालयका लागि चालु आवका लागि ५४ करोड २ लाख ५७ हजार बजेट विनियोजित भएको थियो । स्वास्थ्य मन्त्रालयले कुल ४ अर्ब ८ करोड ५ लाख १ हजार समष्टीगत बजेटमा ४२ करोड ९८ लाख ८४ हजार अर्थात् १०.५४ प्रतिशत् बजेट खर्च गरेको छ । सामाजिक विकास मन्त्रालयले २२ करोड ७० लाख ५१ हजार अर्थात् ५.८० प्रतिशत् खर्च गरेको पाइएको छ । उक्त मन्त्रालयका लागि चालु आवमा ३ अर्ब ९१ करोड ६५ लाख १२ हजार बजेट विनियोजन भएको थियो ।
प्रदेशको उद्योग मन्त्रालयले यस अवधिमा ५ करोड ३६ लाख ९२ हजार अर्थात् ७.३७ प्रतिशत् बजेट खर्च गरेको पाइएको छ । उक्त मन्त्रालयका लागि कुल ७२ करोड ८५ लाख बजेट विनियोजन भएको थियो । मुख्यमन्त्री कार्यालयको लागि कुल ५० करोड ६४ लाख ३७ हजार बजेट विनियोजन भएकोमा ४ करोड ३ लाख २८ हजार अर्थात् ७.९६ प्रतिशत् बजेट खर्च गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले २ करोड १५ लाख ७ हजार अर्थात् ८.९५ प्रतिशत् खर्च गरेको छ । उक्त मन्त्रालयले कुल २४ करोड २ लाख ९ हजार बजेट पाएको थियो । खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्रालयका लागि विनियोजन भएको कुल बजेट ६ अर्ब ९३ करोड २८ लाख ७७ हजारमा ३ महिना अवधिमा २२ करोड १२ लाख ४१ हजार अर्थात् ३.१९ प्रतिशत् बजेट खर्च गरिएको प्रदेशको अर्थ मन्त्रालयको तथ्यांक छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले पाएको कुल बजेट २ अर्ब ६२ करोड २६ लाख ४२ हजारमा यस अवधिमा १६ करोड ४ लाख ११ हजार अर्थात् ६.११ प्रतिशत् बजेट खर्च गरेको छ । वन तथा वातावरण मन्त्रालयका लागि विनियोजित कुल बजेट ३ अर्ब २१ करोड ३२ लाख ८७ हजारमा यस अवधिसम्म २१ करोड ४८ लाख २९ हजार अर्थात् ६.६९ प्रतिशत् बजेट खर्च भएको जनाइएको छ ।