21.7 C
Makwānpur
Homeमकवानपुर विशेषमकवानपुर क्याम्पस-केसीजीआई सहकार्य सम्झौता
spot_img

मकवानपुर क्याम्पस-केसीजीआई सहकार्य सम्झौता

spot_img

हेटौंडा/हेटौंडा-२ स्थित वागमती प्रदेशको प्रतिष्ठित मकवानपुर बहुमुखी क्याम्पस र जापानको क्योटो कलेज अफ ग्राजुयट स्टडिज फर इन्फर्मेटिक्स (केसीजीआई) बीच सम्झौता भएको छ । मकवानपुर बहुमुखी क्याम्पसको सभाकक्षमा आइतबार क्योटो कलेज र मकवानपुर क्याम्पसबीच आपसी सहकार्यसम्बन्धि सम्झौता भएको हो । दुई क्याम्पसबीच सम्झौता अवधि ५ वर्ष हुनेछ ।

जापानमा पहिलो पटक स्नातक तहमा कम्प्युटर शिक्षा सुरु गर्ने क्योटो कलेज र मकवानपुर क्याम्पसबीच शैक्षिक अध्ययन, अनुसन्धान, तालिम, कार्यशाला, प्राध्यापक तथा विद्यार्थी आदानप्रदान, शैक्षिक गुणस्तर अभिवृद्धिमा सहकार्य गर्ने उद्धेश्यले सम्झौता गरिएको हो । दुवै पक्षले एकपटकमा बढीमा २ प्राध्यापक र १० विद्यार्थीलाई एकर्काको क्याम्पस, विश्वविद्यालय भ्रमणको कार्यक्रम सञ्चालन गर्नसक्ने सम्झौतामा उल्लेख छ ।

- Advertisement - Ad Banner

मकवानपुर बहुमुखी क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख डा. यमबहादुर सिलवालले हस्ताक्षर गरेका छन् । क्योटो कलेजका तर्फबाट उपाध्यक्ष प्राडा ग्यारी होइची सुचिमोचीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार मकवानपुर क्याम्पसको संयोजकमा सहायक क्याम्पस प्रमुख उत्तम अर्याल छन् । क्योटोका तर्फबाट संयोजक आनन्द नेपाल छन् ।

जापानी कलेजसँगको सम्झौताले मकवानपुर क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, प्राध्यापक, कर्मचारी, विद्यार्थीको क्षमता विकासका लागि पनि महत्वपूणर् हुने मकवानपुर बहुमुखी क्याम्पस प्रमुख डा. सिलवालले बताए । विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तरमापनमा सुनिश्चितता प्राप्त गरेको मकवानपुर बहुमुखी क्याम्पसले विदेशी क्याम्पस तथा विश्वविद्यालयहरुसँग सम्झौता गर्नुपर्ने आवश्यकता पूरा गर्दै अगाडि बढेको क्याम्पस सञ्चालक समिति अध्यक्ष अनन्तप्रसाद पौडेलले बताए । यसपछि अष्ट्रेलिया, अमेरिका, बेलायतसँगै थप मुलुकका शैक्षिक संस्थासँग पनि साझेदारीको प्रयास हुने उनले जानकारी गराए ।

मकवानपुर बहुमुखी क्याम्पस नेपालको त्रिभुवन विश्वविद्यालयको सबभन्दा ठूलो क्षेत्रीय क्याम्पस हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी तथा प्रमुख राजनीतिक दलका प्रतिनिधि, मकवानपुर जिल्ला समन्वय समिति, हेटौंंडा उपमहानगरपालिका, उद्योग वाणिज्य संघ, नारायणी यातायात व्यवसायी संघका साथै अन्य प्रतिष्ठित सदस्य रहेको व्यवस्थापन समितिले क्याम्पस सञ्चालन गर्दछ । उक्त क्याम्पस सन् १९८१ मा स्थापना भएको थियो । सन् २००७ मा भारत सरकारको अनुदान २ करोड ३६ लाख प्रयोग गरेर दुई नयाँ भवन निर्माण गरिएका थिए । जसमध्ये एउटामा कलेज पुस्तकालय सञ्चालनमा गरिएको छ ।

वागमती प्रदेश सरकारले हेटौंडास्थित मकवानपुर बहुमुखी क्याम्पसलाई वागमती प्रदेश सार्वजनिक विश्वविद्यालय बनाउने निणर्य गरिसकेको छ । मन्त्रिपरिषद् बैैठकले प्रदेशको केन्द्रीय क्याम्पसका रुपमा उक्त क्याम्पसलाई विकास गर्ने निणर्य गरेको हो । जसरी कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस छ, त्यसरी नै वागमती प्रदेशको प्रदेश विश्वविद्यालय मकवानपुर बहुमुखी हुनेछ । यसका लागि कार्यालय स्थापना गरेर विश्वविद्यालयका लागि प्रक्रिया सुरु गरिएको छ ।

मकवानपुर बहुमुखी क्याम्पसमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत् स्नातकमा मानविकी, वाणिज्य, शिक्षा र विज्ञान संकाय तथा स्नातकोत्तरमा वाणिज्य, मानविकी र शिक्षा संकाय पढाइ भइरहेको छ । मकवानपुर क्याम्पसमा ६ हजार ५ सय बढी विद्यार्थी छन् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि