26.1 C
Makwānpur
Homeमकवानपुर विशेषकहाँ हरायो कुकुरलाई ट्याग ?

कहाँ हरायो कुकुरलाई ट्याग ?

मनिता राना\हेटौंडा/कुकुरले टोक्दा हुने रेबिजविरुद्ध खोप लगाउनेको संख्या हेटौंडा अस्पतालमा बढ्न थालेको छ । मकवानपुरमा आर्थिक वर्ष २०८०/८१ मा रेबिज लागेर ५ जना मानिसको ज्यान गएको मकवानपुर जिल्लाका रेबिज फोकलपर्सन सावित्री ढकालले जानकारी दिइन् । नगरपालिका हेटौंडालाई रेबिजमुक्त नगर बनाउने अभियानमा छ ।
पछिल्लो ३ महिना अवधिमा कुकुर वा अन्य जनावरले टोक्दा हेटौंडा अस्पतालमा रेबिजविरुद्ध खोप लगाउनेको संख्या बढ्दै गएको उनले बताइन् । हेटौंडामा प्रायः घरपालुवा कुकुरले टोकेर मानिसहरु रेबिजविरुद्ध खोप लगाउन आउने गरेको उनले बताइन् । गाउँघरबाट पनि फाट्टफुट्ट खोप लगाउन आउने गरेको तर धेरैजसो नगरपालिकाभित्रका आउनुहुन्छ, फोकलपर्स न ढकालले भनिन् ।

हाल रेबिजको जोखिम बढेपछि कुकुरले टोक्दा जतिसक्दो छिटो खोप लगाउने गरी निर्देशिका तयार गरिएको उनले जानकारी दिइन् । मकवानपुरमा रेबिजविरुद्ध खोप सबैको पहुँचमा पुर्‍याउन स्वास्थ्यचौकीहरुमा खोप उपलव्ध भएको उनले बताइन् । घरपालुवा वा बाटोमा हिँड्दा कुकुर वा बिरालोले टोके र्‍यालबाट रेबिज सर्नसक्ने भएकाले कुकुरले टोके टोकेको ठाउँमा सफापानी र साबुनले १० देखि १५ मिनेट सफा गर्ने र सम्भव भए तुरुन्त अस्पताल गएर सुई लगाउन उनले सुझाव दिइन् । हेटौंडा अस्पतालमा पछिल्लो ३ महिनायता रेबिजविरुद्ध खोप लगाउनेको सख्या बढ्दो पाइएको हो । साउनमा ५ सय ६५ जनाले रेबिज खोप लगाएको हेटौंडा अस्पतालले उपलव्ध गराएको तथ्यांकमा उल्लेख छ । जसमा ३ सय ४० महिला छन् । भदौमा ४ सय ७६ जनाले रेबिजविरुद्ध खोप लगाएकोमा १ सय ९५ जना महिलाले खोप लगाए । असोजमा ४ सय ८१ जनाले खोप लगाएकोमा २ सय ३० महिला छन् ।

कुरा यतिमा मात्र सीमित छैन । यो दृष्य संगमचोक हेटौंडाको हो । मर्निङ वाक जानेहरुलाई यी कुकुरहरुले लखेट्ने, भुक्ने, टोक्ने आदि समस्याहरु भइरहेकाले नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु, मकवानपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले सामाजिकसञ्जालमार्फत् यस्तो आग्रह गरेका थिए । तर, सार्वजनिक स्थल, सडकपेटीमा रहेका सामुदायिक कुकुरलाई हेटौंडा उपमहानगरपालिका कार्यालयले नियन्त्रणमा लिने अभियान थाल्ने बताएको वर्षौ बितिसकेको छ । करिब २० दिनसम्म अभियानलाई निरन्तरता दिइने उल्लेख थियो ।  उपमहानगरपालिका क्षेत्रमा त्यस्ता कुकुर नियन्त्रण अभियानमा पहल थालिने भए पनि ती कुकुरलाई के गर्ने भन्नेमा नगरपालिका आफैंमा अन्यौलमा छ ।

वडा नम्बर १ देखि १९ सम्मका कुकुर हटाउने अभियानमा वडा अध्यक्ष र अधिकारीहरुबीच बहस चलेको थियो । केही वडा अध्यक्षले कुकुर धेरै भएकाले मार्नु नै अन्तिम बिकल्प भएको बताएका थिए भने केहीले पशुअधिकारको ख्याल गर्दै ज्यान लिन नहुने तर सम्बन्धित घरका मालिकलाई जिम्मा लगाउनुपर्ने बताएका थिए । नगरपालिका स्वयम् पनि कुकुरलाई मार्ने कुराको विपक्षमा छ । घरमा पालिएका कुकुरको पहिचानका लागि बेल्ट लगाइदिन र छाडा नछाड्न उपमहानगरपालिकाले अनुरोध गरेको छ । कुकुरलाई व्यवस्थित नगर्दा सार्वजनिकस्थलमा कुकुरले सर्वसाधारणलाई सताउने, टोक्ने गर्दा विभिन्न रोगको संक्रमण हुने सम्भावना भएपछि अभियान थालिएको थियो । नगरवरिपरि कुकुरले सर्वसाधारणमाथि आक्रमण गरेको गुनासो आएपछि कार्यालयले अभियान थाल्ने बताएको हो ।

नगरपालिका घरपालुवा कुकुरको सशुल्क दर्ता गर्ने सोचमा थियो । घरमा पालिएका कुकुरको दर्ता गरी ती कुकुरलाई ट्याग दिइने र कुकुरलाई दिसापिसाब गराइने ठाउँ र भ्याक्सिनबारे निरन्तर अनुगमन गरिने उसले बताएको थियो । अनलाइन पद्धतिबाट उनीहरुले पालेको कुकुरबारे जानकारी सम्बन्धित धनीलाई दिने व्यवस्था गरिने नगरको निणर्यले हावा खाएको छ । कुकुरको दिसा अन्य जनावरको भन्दा हानिकारक हुन्छ । मानिस, गाईभैंसी, घोडालगायत जनावरको दिसाभन्दा कुकुरको दिसा खतरनाक हुने स्वास्थ्यकर्मीको भनाइ छ । मानवीय चेतनाका कारण यसको नियन्त्रण गर्न सकिने उनीहरुको विश्वास छ । उनीहरुले कुकुरपालन गम्भीर विषय भएको भन्दै कुकुरको दिसा र कुकुरमा लाग्ने रोगले मानिसको स्वास्थ्यमा प्रतिकुल असर निम्त्याउने बताएका छन् । नगरमा सामुदायिक कुकुर हटाउँदै सडकमा खुलारुपमा कुकुरलाई दिसा गराउने परम्परा अन्त्य नगराएसम्म नगर सरसफाइमा चुनौती देखापरिरहने उनीहरुले बताए ।

सहरबजारतिर हुनेखानेले घरमा पालेका कुकुरलाई दिसा गराउन साँझविहान सडकतिर घुमाउने गर्छन् । सडकछेउमा बेलाबेलामा देखिने फोहर, सडकको धुलो र हिलोले कुरुप बनाउने गरेका कारण कुकुरले सडकछेउमा दिसा गरेर वा गराएर बनाएको फोहरको विषयलाई कसैले पनि चासोका रुपमा हेरेको पाइन्न । सहरलाई सफा, स्वच्छ र विभिन्न प्रकारका रोगबाट सुरक्षित राख्न कुकुरधनीले प्रयास नै नगर्दा उक्त सडक भएर आवतजावत गर्ने र छरछिमेकलाई प्रभाव परिरहेको हुन्छ । कुकुरलाई यस प्रकारको नराम्रो बानी लगाइनु र उसको शारीरिक अभ्यासको कमीले गर्दा कुकुरधनीमात्र होइन, सबैमा दुर्गन्ध र विभिन्न रोगको डर रहने गर्दछ ।

कुकुरलाई जथाभावी दिसा गराउनु मानव स्वास्थ्यका लागि अतिसंवेदनशील हो । कुकुरको दिसा अन्य जनावरको भन्दा हानिकारक भएकाले जनावरबाट मानिसमा सर्ने रोगहरुको संक्रमणको कारण कुकुर जटिल छ । कुकुरको दिसाबाट सर्ने रोगको संक्रमणले गर्भवतीको गर्भपतन हुनसक्ने सम्भावना हुन्छ । यसबाट मानिसमा जटिल रोगहरु देखा पर्न सक्दछ । कुकुरको दिसाका कारण टक्सोप्लाज्मोसिस नामक रोग लाग्नसक्ने पशु चिकित्सक बताउँछन् । हेटौंडाका कुकुरधनीले पशु कार्यालयमा उपचार गराउन ल्याउँदा कुकुरमा जुका, डायरिया, लुतो, केनाइन डिस्टेम्पर, पार्वो मुख्य रोग देखापरेको छ । पशु कार्यालयमा वार्षिकरुपमा करिब ९ सय बढी कुकुर उपचारका लागि कुकुरधनीले ल्याउने गर्दछन् । समयमै भ्याक्सिन लगाए कुकुरबाट सर्ने संक्रमणबाट बच्न सकिन्छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here