हेटौंडा/पश्चिमी मकवानपुरमा सक्रिय युवाहरुको संस्था चैनपुर जेसिज मनहरीको आयोजनामा हुने खुला फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । जेसिजले कात्तिक २३ गतेबाट मनहरी-४, मसिनेस्थित गोलघर खेलमैदानमा दोस्रो संस्करणको चैनपुर जेसिज मनहरी कप खुला फुटबलको आयोजना गर्दैछ । प्रतियोगिताको तयारीलाई तीव्र पारिएको जेसिज अध्यक्ष रविन ढकालले जानकारी दिए । मनहरी गाउँपालिका-४ नम्बर वडा कार्यालयको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिता विजेताले एकलाख एकहजार १ सय ११ रुपियाँ र उपविजेताले ५१ हजार १ सय ५१ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपियाँ तथा अन्य विधागत् उत्कृष्टले जनही नगद ३ हजार ५ सय रुपियाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी हुन चाहने टिमले कात्तिक २० गतेसम्म टिम दर्ता गराउनुपर्नेछ । टिम दर्ता शुल्क ७ हजार ५ सय रुपियाँ तोकिएको छ । चैनपुर जेसिज मनहरीले स्थापनाकाल अर्थात् अघिल्लो वर्षबाट जेसिज कप खुला फुटबल प्रतियोगिताको सुरु गरेको हो । फुटबल खेलको विकास एवम् युवाबीच भ्रातृत्व सम्बन्ध स्थापनाका लागि प्रतियोगितालाई निरन्तरता दिँदै गएका छौं,’ अध्यक्ष ढकालले भने-प्रतियोगिताको तयारी तीव्र पारिएको छ । चैनपुर जेसिज मनहरीले नेपाल जेसिजबाट अघिल्लो वर्ष पूणर्ता प्राप्त गरेको हो ।
प्रतियोगिताका लागि करिब ५ लाख खर्च हुने अनुमान गरिएको महासचिव श्रीकृष्ण ढकालले बताए । प्रतियोगिताका लागि अन्य विभिन्न व्यक्ति तथा संघसंस्थास“ग सहयोगका लागि समन्वय भइरहेको उनले बताए । प्रतियोगिता संयोजक कार्यकारिणी उपाध्यक्ष महेश खुलाल छन् भने सहसंयोजकमा उपाध्यक्ष उज्ज्वल बिष्ट र खेलकुद संयोजक प्रदीप थापा
छन् । अघिल्लो वर्षको पहिलो संस्करणको उपाधि वागमती प्रदेश प्रहरी गण हेटौंडाले जितेको थियो । पहिलो संस्करणको पुरस्कार विजेतालाई ५० हजार ५ सय ५५ रुपियाँ र उपविजेतालाई २५ हजार ५ सय २५ रुपियाँ पुरस्कार थियो ।