बसन्त भण्डारी\हेटौंडा/मकवानपुरमा एक वडा-एक उत्पादन कार्यक्रमको सुरुवातसँगै स्थानीय कृषिमा नयाँ क्रान्ति ल्याउने प्रयास गरिएको छ । असोज १६ गते हेटौंडामा आयोजित एक सार्वजनिक कार्यक्रममा कृषि विकास कार्यालय चितवन प्रमुख झलकनाथ कँडेल र योजना अधिकृत निर्मल पौडेलले प्रस्तुत गरेका योजनाहरुले यस क्षेत्रको कृषि उत्पादनलाई नयाँ उचाईमा पुर्याउने भनिएको छ । एक वडा-एक उत्पादन कार्यक्रमअन्तर्गत् हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१३ लाई मेवा उत्पादनका लागि छनौट गरिएको छ भने भीमफेदी गाउँपालिकाको वडा नम्बर-५ लाई किबीखेती र इन्द्रसरोवर गाउँपालिकाको वडा नम्बर-४ लाई तरकारी उत्पादनका लागि चयन गरिएको छ । उक्त कार्यक्रमले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै कृषकको आयमा वृद्धि गर्ने उद्धेश्य राखेको छ ।
कार्यक्रमले विशेषगरि बाँझो जमिनलाई कृषि उत्पादनका लागि उपयोग गर्ने, साना सिचाई योजनामार्फत् सिचाईं सुबिधा उपलब्ध गराउने र कृषकलाई आधुनिक प्रविधि प्रयोग गर्न प्रेरित गर्ने लक्ष्य राखेको छ । सामूहिक खेती प्रवद्र्धन गरिनेछ, जसले कृषकको उत्पादन र उत्पादकत्व वृद्धि गर्नेछ । कृषि विकास कार्यालय चितवनले चालु आर्थिक वर्षमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रमुख कँडेलले आव २०८०/८१ मा सञ्चालन भएका कार्यक्रमको प्रगति विवरण प्रस्तुत गर्दै मकवानपुरको कृषि उत्पादन, सिचाईं सुबिधा र अनुदानित मलको आपूर्तिलाई प्राथमिकतामा राखिएको उल्लेख गरेका थिए । मकवानपुरको कुल क्षेत्रफल २ लाख ४२ हजार ६ सय हेक्टरमा १७.०४ प्रतिशत् जमिन खेतीयोग्य छ भने ३२.२८ प्रतिशत् जमिनमा सिचाई सुबिधा छ । कृषि विकास कार्यालयले प्रमुख खाद्यान्न बाली धान, मकै, गहुँ र कोदो उत्पादनमा ध्यान दिएको छ । मकवानपुरमा ३९ हजार ५ सय १३ हेक्टर जमिनमा खेती गरी १ लाख १७ हजार ९ सय ५१ मेट्रिकटन खाद्यान्न उत्पादन भएको छ ।
खाद्यान्नको आवश्यकतामा २५ हजार ५५६.३९ मेट्रिकटनको कमी रहे पनि कृषि उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आगामी योजनामा साना सिचाईं योजनालाई प्राथमिकता दिँदै यस वर्ष ३० वटा साना सिंचाइ परियोजना सञ्चालन गरिनेछन्, जसले कृषकलाई सिञ्चित जमिनमा उत्पादन वृद्धि गर्न मद्धत पुर्याउनेछ । सिचाईं सुबिधाबाट ३ सय हेक्टर जमिनमा सिञ्चित क्षेत्रफल विस्तार गरिनेछ, जसले स्थानीय कृषकको उत्पादन वृद्धि गर्न योगदान गर्नेछ । १ सय मेट्रिकटन प्रांगाारिक मल वितरण गरिनेछ । जसले माटोको उर्वराशक्ति सुधार्न र उत्पादनमा वृद्धि गर्न सघाउनेछ ।यस कार्यक्रमबाट प्रत्यक्षरुपमा २ सय कृषक घरधुरी लाभान्वित हुने अनुमान छ । कृषि यान्त्रिकीकरण प्रवद्र्धन कार्यक्रममा विशेष ध्यान दिइएको छ । यसअन्तर्गत् विभिन्न आधुनिक कृषि उपकरण जस्तै मिनिटिलर, धान थ्रेसर, मकै छोडाउने मेसिन र स्प्रेयर वितरण गरिनेछ । यस कदमले कृषकको कृषिकार्यमा दक्षता र समयको बचत गराउने विश्वास गरिएको छ ।
तरकारी र फूलखेतीलाई व्यावसायिक बनाउनका लागि ४० हेक्टर क्षेत्रमा व्यावसायिक तरकारी खेती प्रवद्र्धन गरिने योजना छ । पुष्प व्यवसाय प्रवद्र्धन कार्यक्रमअन्तर्गत् सयपत्री फूलको व्यावसायिक उत्पादनलाई प्राथमिकता दिइनेछ । जसले फूल व्यवसायलाई वृद्धि गर्ने अपेक्षा गरिएको छ । चालु आर्थिक वर्षमा स्मार्ट एग्रिकल्चर प्रविधि प्रवद्र्धन कार्यक्रमको पनि शुरुवात गरिनेछ । जसले कृषिक्षेत्रमा आधुनिक प्रविधि प्रयोग प्रवद्र्धन गर्दै कृषकलाई उच्च उत्पादन प्रविधिमा पहुँच पुर्याउनेछ । यस कार्यक्रमले कृषि उत्पादनको गुणस्तर र मात्रा दुवैमा सुधार ल्याउने विश्वास गरिएको
छ ।