माधव न्यौपाने\ हेटौंडा/मकवानपुरका चेपाङ समुदायका सबभन्दा ज्येष्ठ नागरिक जयपति चेपाङको २०७३ भदौ ११ गते मृत्यु भयो । तत्कालीन भार्ता गाविस-४, सिलौतीका १ सय ५ वर्षीय चेपाङको झाडापखालाले घरमा नै मृत्यु भएको
थियो । करिब ७ दिनदेखि उनी पखाला लागेर थला परेका थिए ।औषधि उपचार गर्न नपाएर उनको मृत्यु भएको स्थानीयले बताए । १६ वर्षीया नातिनी बुहारीले झाँक्री खोजेर ल्याएर झारफुक गराएकी थिइन् । २०७० माघ १४ गते मकवानपुरका तत्कालीन प्रजिअ एकनारायण अर्यालको अगुवाइमा उनलाई ओडारबाट घरमा प्रवेश गराइएको थियो । ओडारमा नै उनी जन्मेका थिए । जनता आवास कार्यक्रमअन्तर्गत् बनेको घर भुकम्पले भत्केपछि उनी फेरि त्यही ओडारमा फर्केका थिए । सरकारले बनाइदिएको घर भन्दा देवताले बनाएको घर बलियो हँुदो रहेछ भन्दै उनी ओडारमा नै बसेका थिए ।
तत्कालीन प्रजिअ एकनारायण अर्यालको हातबाट नागरिकता पाएपछि उनले तोतेबोलीमा भनेका थिए-ओडारमा बस्ने मजस्ता जंगलीले पनि नागरिकता पाउँदो रहेछ । २०६९ बैशाख २९ गते उनले नागरिकता पाएका थिए । भुकम्पले घर भत्केपछि वृद्ध चेपाङ ओडारमा फके पछि सहृदयीको सहयोगमा घर पुनर्निर्माण गरेर २०७२ जेठ ८ गते ओडारबाट घर फकाईएको थियो । १७ वर्षीय नाति अगमसिंह चेपाङ विवाह गरेर उनीसँग बस्दै आएका थिए । नाति रोजगारी लागि काठमाडौं गएका थिए । लत्ताकपडा नभएकाले चारऔंले लंगौटीले मात्र लाज ढाक्लै आएका थिए उनी । गाला चाउरिसकेका थिए । तर, उनको इमानमा कहीं पनि अलिकति दाग लागेको थिएन । लठ्ठीको सहारमा उनी कुप्रेर यताउति गर्दै जंगली साग र गिठ्ठा—भ्याकुर खोजेर ल्याउँथे । जयपतिको मुत्युबाट चेपाङको एउटा जिउँदो इतिहास ढलेको थियो ।
चेपाङलाई घर प्रवेश गराएको श्रेय थापेका उनै अर्याल हाल मुख्यसचिव छन् । बाढीपहिरोले देश रोइरहेका बेला असोज १२ गते स्याङ्जाको फेदीखोला गाउँपालिका कार्यालयको खुला सभाहलभित्र उनै मुख्यसचिव अर्याल सेतो खादासहित सम्मानग्रहण गरेर धन्यबाद मन्तव्य दिन व्यस्त देखिन्थे । भदौ १३ मा मुख्यसचिव भएका अर्याल गृहजिल्ला पुगेर पालिकादेखि जनप्रतिनिधि र कर्मचारीको दायित्व सम्झाइरहेका थिए । तर, उनीमाथि नै हाल देश गम्भीर संकटमा पर्दा पनि दायित्व ननिभाएको र भद्धा सम्मानमा रमाएको भन्दै आलोचना भइरहेको छ । उनी सम्मान थापिरहेको त्यही दिन, जुन दिन देशका अधिकांश भाग भीषण वर्षाका कारण बाढीपहिरोले संकटग्रस्त थिए । समन्वय अभावले घण्टौं उद्धार कुरिरहेकाहरुलाई खोलाले बगाइरहेको थियो । त्यही बेला मुख्यसचिव अर्याल भने गृहजिल्लामा विभिन्न पालिकाहरुमा पुग्दै सम्मान थापिरहेका थिए । ती कार्यक्रममा पुगेर उनले आफू सचिवका रुपमा सम्बन्धित पालिकाका लागि केके गरियो भन्ने स्मरण गराइरहेका थिए ।
उनी त्यही दिन फेदीखोलापछि आँधीखोला गाउँपालिका पनि पुगेर सम्मान थापे । आँधीखोला गाउँपालिकाले त उनलाई पञ्चैबाजा बजाएर स्वागत गरेको थियो । उनी फूलमाला र खादा, दोसल्लासहित अबिर लगाएर पञ्चैबाजा टोलीको अग्रभागमा रहेर गाउँपालिका प्रवेश गरेका थिए । उनी त्यहाँ राष्ट्रिय माध्यमिक विद्यालयको कार्यक्रममा पनि सहभागी भएका थिए । जुन उनले पढेको विद्यालय पनि हो । सोही दिन अर्यालसँगै रहेका एक अधिकारीका अनुसार उनलाई तारन्तार काठमाडौंबाट फोन आएका थिए । उनले केही फोनहरुको रेस्पोन्स त गरे । तर, कार्यक्रममा व्यस्त भएकाले कतिपय फोनसमेत उठाएनन् । उनले कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको मन्त्री र सचिवहरुको बैठकका लागि आफ्नो सचिवालयहरुमार्फत् सचिवहरुलाई बैठकमा डाकेका थिए । तर, उनी आफैं भने स्याङ्जामै कार्यक्रममा व्यस्त रहे ।
असोज १२ मा विपद्ले देशभर क्षति पुर्याएपछि उनी तत्काल काठमाडौं फर्किहाल्ने अपेक्षा थियो । तर, उनी १३ गते विहान वालिङ नगरपालिकाले आयोजना गरेको सम्मानग्रहण गर्ने कार्यक्रम थियो । उनी विहान वालिङ नगरपालिकाबाट दोसल्लासहित सम्मानित भए । त्यसपछि उनले स्याङ्जाका उद्योगी, व्यवसायी, नेता तथा नागरिक समाजसँग जिल्लाको विकासबारे राउण्डटेबल छलफलसमेत गरे । प्रधानमन्त्री केपी शर्माओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका हिँडेपछि मुख्यसचिव अर्यालले असोज १० मै काठमाडौ छाडेका थिए ।
जबकि, जल तथा मौसम विज्ञान विभागले असोज ७ मै विशेष बुलेटिन जारी गरेर असोज १२ सम्म सातै प्रदेशमा वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कताका लागि सूचित गरिसकेको थियो । नेपालभर मनसुन अवधिकै भीषण वर्षाको सम्भावना औंल्याउँदै विभागले १० देखि १३ असोजसम्म ५६ जिल्लालाई रेड जोन अर्थात् अति उच्च जोखिम क्षेत्रमा राखेर उच्च सतर्कता अपनाउनुपर्ने बताएको थियो । उक्त सूचना तीन तहकै सरकार, सुरक्षा संयन्त्रदेखि विपद् व्यवस्थापन हेर्ने निकायलाई पुर्याएर समन्वयको काम गर्नुपर्ने मुख्य जिम्मेवारी बोकेका मुख्यसचिव नै प्रधानमन्त्री नभएको मौका छोपेर स्याङ्जा पुगेका थिए ।