Homeमकवानपुर विशेषउच्च जोखिममा हेटौंडा उपमहानगर

उच्च जोखिममा हेटौंडा उपमहानगर

सुनिता बिष्ट
हेटौंडा/मकवानपुरमा पछिल्लो समय डेंगु संक्रमितको संख्या उल्लेख्य बढेको छ । जिल्लामा डेंगु बिरामीको संख्या बढ्दा अस्पतालका बेडहरु डेंगु ज्वरोका बिरामीले भरिएका छन् । पछिल्लो २४ घण्टामा मकवानपुरमा ३६ जनामा डेंगु पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जसमा सबभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका ३३ जना छन् । जनस्वास्थ्य कार्यालयका अनुसार मकवानपुरका १० स्थानीय तहमध्ये हेटौंडा उपमहानगरपालिका सबभन्दा धेरै डेंगु प्रभावित स्थानीय तह हो । जहाँ चालु आर्थिक वर्षको हालसम्म अवधिमा ५ सय ३८ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । जसमा २ सय ७५ महिला र २ सय ६३ जना पुरुष संक्रमित छन् ।

हेटौंडापछि मनहरी गाउँपालिकामा ३६ जनामा डेंगु भएको जनस्वास्थ्य कार्यालय मकवानपुरको तथ्यांक छ । जसमा २० जना महिला र १६ जना पुरुषमा डेंगु संक्रमण भएको छ । थाहा नगरपालिकामा ५, मकवानपुरगढी गाउँपालिकामा २५, वागमती गाउँपालिकामा १, कैलाशमा ५, भीमफेदी गाउँपालिकामा १२, बकैया गाउँपालिकामा ११ र राक्सिराङ गाउँपालिकामा १ जनामा डेंगु पुष्टि भएको कार्यालयको तथ्यांक छ ।

ठेगाना नखुलेका २६ जनामा पनि डेंगु पुष्टि भएको छ भने अन्य जिल्लामा बसोबास गर्ने तर मकवानपुरका विभिन्न अस्पतालमा जाँच गराएका १८ जनामा समेत डेंगु संक्रमण भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको हो । कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म अवधिमा डेंगुका कारण मृत्यु भएको छैन । यस अवधिमा जिल्लामा कुल ६ सय ८१ जनामा डेंगु पुष्टि हुँदा ३ सय ५७ जना महिला छन् भने ३ सय २४ जना पुरुषमा डेंगु संक्रमण भएको हो ।
डेंगु संक्रमणको जोखिम उच्च भएको हेटौंडा उपमहानगरपालिकाले डेंगुका लार्भा नष्ट गर्ने विभिन्न उपाय अपनाएको हेटौंडाका जनप्रतिनिधिहरु बताउँछन् । विभिन्न सचेतनामूलक कार्यक्रम, डेंगु न्यूनीकरण अन्तत्र्रिmया र लार्भा नष्ट गर्न औषधि प्रयोग आदि कामहरु भइरहेको हेटौंडा उपमहानगरपालिका प्रवक्ता सबिन न्यौपानेले बताए ।

यो डेंगु भाइरसको संक्रमणले गर्दा लाग्ने रोग हो । यो भाइरस ४ प्रकारका हुन्छन् । डेंगु भाइरस-१, २, ३ र ४ । एक खालको भाइरसको संक्रमणबाट यो रोग लागेपछि जीवनभरलाई त्यस भाइरसबाट सुरक्षा मिल्छ । अर्थात्, एक पटकको संक्रमणपछि लाइफलङ्ग इम्युनिटी हुन्छ । तर, अन्य प्रकारका डेंगु भाइरसको संक्रमणबाट भने केही समयलाई मात्र सुरक्षा हुन्छ र त्यो लागेपछि त्यसका जटिल समस्या आउने सम्भावना बढेर जान्छ । हेमोरेजिक र सक सिन्ड्रोम ज्वरो खतरनाक हुन्छ । सामान्य डेंगु ज्वरो नियन्त्रणमा नआउँदा यो हेमोरेजिक वा सक सिन्ड्रोममा परिवर्तित हुँदा नियन्त्रण गर्न गाह्रो हुन्छ । यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु सक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्युसमेत हुनसक्छ ।

डेंगु रोग मानिसबाट मानिसमा सोझै सर्दैन र सबै खालका लामखुट्टेले यसलाई सार्दैन । डेंगु ज्वरो लागेको बिरामीलाई टोक्दा यसको भाइरस लामखुट्टेमा सर्ने गर्छ र उक्त लामखुट्टेले अरुलाई टोक्दा ती भाइरसहरु सर्ने गर्छ । डेंगु ज्वरोका रोगीको रगत अरुलाई चढाउँदा, अंग प्रत्यारोपण गर्दा पनि यो रोग सर्ने सम्भावना रहन्छ । डेंगु भाइरस एडिज लामखट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ । यो ग्रामीणमा भन्दा शहरी क्षेत्रमा बढी पाइन्छ । डेंगु भाइरस संक्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षण देखिन थाल्छन् । यसका प्रमुख लक्षण ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेसी तथा जोर्नीहरुमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि हुन् । यस रोग निको हुन दुईदेखि सात दिनसम्म लाग्न सक्छ ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here