हेटौंडा । बालरोग विशेषज्ञले शिशुलाई स्तनपान गराउँदा मोबाइल फोन प्रयोग नगर्न आमाहरुलाई आग्रह गरेका छन् । विश्व स्तनपान सप्ताहको अवसरमा चितवनमा आयोजित छलफल कार्यक्रममा चिकित्सकहरुले मोबाइल चलाउँदा आमा र शिशु दुवैलाई फाइदा नगर्ने बताएका हुन् ।
विश्व स्तनपान सप्ताहका अवसरमा भरतपुरमा आयोजित ‘स्तनपानको महत्व: चिकित्सक–पत्रकार छलफल कार्यक्रम’ मा भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा. श्वेताकुमारी गुप्ताले स्तनपान गराउँदा आमाले मोबाइल प्रयोग गर्न नहुने बताइन् । उनले भनिन्–आमाले मोबाइल चलाएर स्तनपान गराउँदा बच्चाले दूध खायो–खाएन, अघायो–अघाएनलगायत केही कुरा पनि जानकारी हुँदैन । उनले बच्चाको मायाममता पनि कम भएर जाने बताइन् । उनले भनिन्–स्तनपान गराउने समयमा शिशुलाई सुमसुमाउनु पर्छ । अन्यत्र ध्यान दिनुहुँदैन ।
स्तनपान गराउँदा आमा र शिशु दुवैको आसनमा विशेष ध्यान दिन जरुरी रहेको बालरोग विशेषज्ञ डा. गुप्ताले बताइन् । शिशुलाई जन्मिएदेखि छ महिनासम्म आमाको दूधबाहेक पानीको आवश्यकता नपर्ने उनको भनाइ छ । बालरोग विशेषज्ञ डा. गुप्ताले भनिन्–नियमित स्तनपान गर्ने शिशुमा निमोनिया, झाडापखाला, दम जस्ता रोगहरु लाग्ने सम्भावना कम हुन्छ । बच्चाको शरीरिक विकासका लागि सकेसम्म आमाको दूध खुवाउनुपर्ने बताउँदै उनले काममा जानुपरे आमाको दूध संकलन गरेर राखेर भए पनि खुवाउन सकिने बताइन् । उनले भनिन्–आमाको दूध संकलन गरेर कोठाको तापक्रममा राखेमा ४ देखि ६ घण्टा र फ्रिजमा राखे २४ घण्टासम्म खुवाउन सकिन्छ । फ्रिजमा राखेरको दूध सीधै नतताउन सुझाव दिँदै उनले भनिन्–तातो पानीमा अर्को भाँडा राखेर दूधलाई तातो बनाउनुपर्छ, सीधै तताउनुहुँदैन ।
शिशु जन्मिएको छ महिनापछि मात्र पुरक खाना खुवाउन उपयुक्त हुने उनले बताइन् । अस्पतालमा शल्यक्रिया गरेर जन्मिएका नवजात शिशुहरुलाई दूध खुवाउन दिने गरी सरकारले नियम बनाउन सके यस्ता बच्चालाई आमाको दूध खुवाउन सकिने उनले बताइन् । हाल शल्यक्रियाबाट जन्मिएका बच्चालाई सुरुमा बजारको पाउडर दूध खुवाउनुपर्ने अवस्था रहेको जनाउँदै उनले यसको अन्त्य गर्न सके बच्चा र आमा दुवैको स्वास्थ्य राम्रो हुने बताइन् ।
कार्यक्रममा भरतपुर अस्पतालका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख विशेषज्ञ प्राडा सुनीलमणि पोखरेलले शिशुलाई नियमित आमाको दूध खुवाउँदा बच्चा र आमा दुवैलाई फाइदा हुने बताए । नवजात शिशुलाई जन्मिएको छ महिनासम्म आमाको दूधमात्र खुवाउन सके उसको स्वास्थ्य र शारीरिक विकास राम्रो हुने उनले बताए । शिशुलाई दिनमा ८ देखि १२ पटक दूध खुवाउन सके बच्चाका लागि फलदायी हुने उनको भनाइ छ ।
स्तनपानले गर्दा आमालाई हुने फाइदाका विषयमा बोल्दै उनले स्तनपान नियमित गराउने आमालाई स्तन र डिम्बासयको क्यान्सर हुने सम्भावना न्यून हुने बताए । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. पोखरेलका अनुसार नियमित स्तनपान गराउँदा महिलामा हुने रक्तस्रावमा कमी आउने गर्दछ । बच्चा जन्मिएको एक घण्टाभित्र आमाको दूध खुवाउन सके सालनाल छुटिनेदेखि स्तन गानिने र पिप जम्ने जस्ता समस्याबाट छुटकारा पाउन सकिने उनले बताए ।
उनले भने–कम्तिमा पनि दुई वर्ष बच्चालाई आमाको दूध खुवाउनुपर्छ । जसले गर्दा आमा र बच्चाबीच ममतादेखि हरेक कुरामा सहयोग पु¥याउँछ । पछिल्लो समय शारीरिक सुन्दरताका लागि शिशुलाई आमाको दूध खुवाउने नगरेको पाइएको भन्दै उनले यस्तो गर्दा बच्चाको शारीरिक, मानसिक वृद्धि र विकासमा समस्या पर्नुका साथै आमामा विभिन्न किसिमका समस्या देखिन सक्ने जानकारी दिए । पछिल्लो समय स्तन ठूलो भयो भन्दै त्यसलाई घटाउने औषधि खोजी गर्नेहरु पनि आफूकोमा आउने गरेको भन्दै डा. पोखरेलले भने–स्तनपान गराइसकेपछि विभिन्न व्यायाम गरेर मोटोपन र स्तन घटाउन सकिन्छ ।
कार्यक्रममा डा. पोखरेलले पछिल्ला वर्षहरुमा भरतपुर अस्पतालमा प्रसूति गराउन आउनेको संख्या घटेको जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा ९ हजारभन्दा धेरैले अस्पतालबाट सेवा लिएका छन् । उक्त तथ्यांक अघिल्लो आर्थिक वर्षमा १२ हजारभन्दा बढी रहेको थियो । उनका अनुसार स्थानीय तहहरुले गाउँगाउँमा स्वास्थ्य क्लिनिक तथा स्वास्थ्य सेवाको पहुँच पु¥याएर सोही स्थानमा प्रसूति सेवा सञ्चालन गर्नु र सन्तान उत्पादन गर्ने युवावस्थाका जनशक्तिहरु विदेश पलायन हुनुले सेवा लिन आउनेको संख्या कमी आएको हो ।