सुनिता बिष्ट/मनिता राना
हेटौंडा/हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्नुपर्ने माग गर्दै चलाइएको हस्ताक्षर अभियानमा संकलन भएका हस्ताक्षर प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठमार्फत् गृह मन्त्रालयलाई बुझाइ“दै गर्दा अन्य प्रकारका स्वास्थ्य सेवा दि“दै आएको हेटौंडा अस्पतालमा अब मुटुरोगीले पनि उपचार पाउने गरी एक पाइला अगाडि बढेको छ । उक्त अस्पतालमा केही दिनअघि संकलित हस्ताक्षर अस्पतालमा मुटुरोग सेवा विस्तार सुरु भएकै दिन प्रमुख जिल्ला अधिकारी श्रेष्ठमार्फत् गृह मन्त्रालयलाई बुझाइएको अभियान संयोजक विशालराज महतले बताए । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालमा मंगलबारबाट मुटुरोग सेवा विस्तार गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा र स्वास्थ्य मन्त्री किरण थापाले उक्त सेवाको संयुक्त उद्घाटन गरेका हुन् ।
तर, हेटौंडा अस्पताललाई पूर्णरुपमा सरकारी अस्पतालका रुपमा सञ्चालन गर्नुपर्ने माग गर्दै अस्पताल बचाऊ तथा सुधारका लागि भन्दै फागुन ११ गतेदेखि ७ दिन अस्पतालपरिसरमा नागरिक हस्ताक्षर अभियान चलाइएको थियो । हस्ताक्षर अभियानमा ४ हजार बढीले हस्ताक्षर गरेर समर्थन जनाएको अभियान संयोजक महतले जानकारी दिए । हेटौंडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा अलग स्थानमा अलग पहिचानसहित आमजनताको पहु“चमा स्वास्थ्य सेवाप्रवाह गर्नुपर्ने, हेटौंडा अस्पतालको ६६ वर्षदेखिको सेवा इतिहास कायम राख्न, संविधानप्रदत्त सेवा प्राप्त गर्न पाउने मौलिक हक कार्यान्वयन गराउनुपर्ने माग गर्दै हस्ताक्षर अभियान चलाएको र माग पूरा नभएसम्म विभिन्न अभियान चलिरहने उनले दाबी गरे ।
हेटौंडा अस्पतालको स्वामित्व प्रतिष्ठानमा जाने गरी निर्माण गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ खारेज हुनुपर्नेलगायत विषयमा सरोकारवाला निकायलाई दबाब दिने उद्धेश्यले हस्ताक्षर अभियान चलाइएको उनको भनाइ छ । वर्षौंदेखि सरकारी स्वामित्वमा रहेको सरकारी अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभिएपछि समस्या उत्पन्न भएको दाबी छ । नेकपा एमालेको सत्ता हु“दा बागमती प्रदेशसभाबाट पास गराएर अस्पताललाई प्रतिष्ठानमा गाभिएको हेटौंडा अस्पताल बचाऊ अभियानका मुख्य अभियन्ता वरिष्ठ अधिवक्ता केशब गौतमले बताए । गौतमले नै यसबारे सर्वोच्च अदालतमा नेपाल सरकार र बागमती प्रदेश सरकार, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विपक्षी बनाएर मुद्धा दायर गरेका थिए । सर्वोच्चमा यसबारे एकपटक बहससमेत भइसकेको छ । जेठ ७ गते फेरि बहस हु“दैछ ।
सेवासुबिधामा फड्को
सामान्य बिरामीका लागि हेटौंडा अस्पतालमा सेवा नपाउ“दा भरतपुर र काठमाडौं जानुपर्ने बाध्यता थियो । तर, पछिल्लो समय अस्पतालको सेवासुबिधामा फड्को मारेको दाबी छ । कुनै समय ॅरिफर अस्पताल’ को नामले परिचित हेटौंडा अस्पतालमा बिरामीका लागि पर्याप्त औषधिसमेत पाइ“दैनथ्यो । सेवा उद्घाटन गर्दै मुख्यमन्त्री लामाले हेटौंडा अस्पतालले स्वास्थ्य सेवाको क्षेत्रमा फड्को मारेका बताए । ॅबागमती प्रदेशको राजधानी हेटौंडामा रहेको अस्पताल प्रादेशिक अस्पतालमध्ये सबभन्दा ठूलो अस्पताल हो,’ मुख्यमन्त्री लामाले भने–प्रदेश स्थापनापछि हेटौंडा अस्पतालको संरचना बढेको र सेवासुबिधा पनि थपिएको छ । प्रदेश सरकारको स्याहारसम्भारका कारण हेटौंडा अस्पतालसहित १३ वटै प्रादेशिक अस्पतालको सेवा विस्तारमा सहजता पुगेको छ । बा“की अस्पतालमा पनि मुटुरोग सम्बन्धि सेवा विस्तार गर्न लाग्नेछौं ।
मुख्यमन्त्री लामाले हेटौंडा अस्पतालमा कर्डियो सेवा तथा क्याथल्याब दीर्घकालिन सञ्चालनका लागि उपकरण र दक्ष जनशक्ति व्यवस्थापनको काममा सरकारले सघाउने प्रतिवद्धता व्यक्त गरे । स्वास्थ्य सेवामा राजनीतिकरण गर्न बन्द गर्नुपर्नेमा उनले जोड दिए । स्वास्थ्य मन्त्री थापाले मुटुरोग सम्बन्धि उपचारका लागि आवश्यक पर्ने उपकरणका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए । सबभन्दा धेरै बिरामीले सेवा लिने अस्पतालको गुणस्तर बृद्धि गर्न स्वास्थ्य मन्त्रालयले सधैं साथ दिने बताउ“दै मन्त्री थापाले प्रदेशका अन्य अस्पतालमा समेत मुटुसम्बन्धि उपचार सेवा सुरु गर्ने प्रतिवद्धता जनाए । मन्त्री थापाले संघीयता लागु भएस“गै स्वास्थ्य क्षेत्रमा ठूलो सुधार भएको बताए । हेटौंडा अस्पतालको स्तरोन्नतिका लागि थप उपचार सामग्रीहरु उपलब्ध गराउने पनि उनले प्रतिवद्धता व्यक्त गरे ।
तत्कालका लागि बहिरंग सेवामार्फत् मुटुरोग उपचार सेवा थालनी गर्ने गरी उक्त सेवा अस्पतालमा विस्तार गरिएको हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए । उनका अनुसार अस्पतालमा हाललाई सामान्य उपचार सेवा थालिने छ । प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गर्दै स्वास्थ्यकर्मीहरुलाई अनिवार्यरुपमा ड्रेसकोड पालना गर्न सुझाव दिए । स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री र अनुसन्धानमुखी बनाउनुपर्नेमा जोड दिइन् ।
बागमतीमा रहेका १३ प्रादेशिक अस्पतालमध्ये हेटौंडा अस्पतालमा पहिलो पटक मुटुरोग सम्बन्धि उपचार सुरु भएको हो । रोटरी क्लब अफ मकवानपुरले हेटौंडा उपमहानगरपालिकास“गको साझेदारीमा १ करोड मूल्य बराबरको मुटुपरीक्षण उपकरण डेढ वर्षअघि नै अस्पताललाई उपलब्ध गराएको थियो । तर, विशेषज्ञ डाक्टर नहु“दा अस्पतालले उक्त उपकरण थक्याएर राखेको थियो । प्रतिष्ठान र अस्पतालले गत बैशाखमा पनि विशेषज्ञ डाक्टर नियुक्तिका लागि आवेदन माग गरेको थियो । मागअनुसार एक चिकित्सकको आवेदन परे पनि मापदण्डअनुकूल नहु“दा नियुक्त गर्न कठिन भएको थियो । प्रतिष्ठानले फागुन १३ मा पनि मुटुरोग विशेषज्ञ नियुक्तिका लागि आवेदन माग गरेको थियो । टिचिङ अस्पतालबाट मुटुरोग विशेषज्ञ डा. बिकेश श्रेष्ठ अस्पतालमा हाजिर भएस“गै अब हेटौंडा अस्पतालमा मुटुरोग सम्बन्धि उपचार सेवा सुरु भएको हो ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार तथा हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष भीमसागर गुरागाईंका अनुसार अब हेटौंडामै मुटुरोग सम्बन्धि पनि उपचार सेवा सुरु भएकाले काठमाडौं र भरतपुर धाउनुपर्ने समस्या अन्त्य भएको छ । हेटौंडा अस्पतालबाट गुणस्तरीय सेवा पाउने गरी मुटु चेकजा“च र उपचार थालिने उनले बताए ।
अब ओपीडी
अस्पतालमा अब मुटुको इको, ईसीजी, टीएमटी जस्ता परीक्षण गर्न सकिने छ । तत्काल मुटुरोग सम्बन्धि ओपीडी सेवा सञ्चालन गरिने अस्पतालले जनाएको छ । दुई चिकित्सकबाट हाल उपचार तथा परीक्षण गर्ने र क्रमशः व्यवस्थापन गर्दै आगामी वर्षमा थप विशेषज्ञ सेवासहित सर्जरीलगायत सेवा विस्तार गर्ने योजना अस्पतालको छ । मुटुरोग सम्बन्धि चेकका लागि उपकरण उपलब्ध भए पनि मुटुको अपरेसन, हर्टअट्याकका बिरामीलाई उपचार गर्ने, पेसमेकर राख्नेलगायत सेवाका लागि विशेष उपकरण आवश्यक पर्ने तर उक्त सुबिधाका लागि आवश्यक उपकरण हाल अस्पतालमा नरहेको मुटुरोग विशेषज्ञ डा. श्रेष्ठ बताउ“छन् ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमातहत सञ्चालित अस्पतालमा हाल ३ सय बेड छन् । ९५ जना विशेषज्ञ चिकित्सहित ५ सय स्वास्थ्यकर्मी कार्यरत् अस्पतालमा दैनिक १ हजार ५ सय बढी बिरामीले सेवा लि“दै आएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार तथा गुरागाईंले बताए । केही समयभित्र २ सय बेड थप गर्नका लागि अस्पतालपरिसरमा ५ तले भवन निर्माणाधीन छ । हेटौंडा अस्पताल पछिल्लो समय यस क्षेत्रका बिरामीको भरपर्दो र विश्वसिलो स्वास्थ्य संस्थाका रुपमा परिणत भएको छ । यहा“ मकवानपुरसहित बारा, रौतहट, पर्सालगायत छिमेकी जिल्लाबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन् ।
प्रतिष्ठानमातहत राख्न नमिल्ने
२०१६ सालमा तत्कालीन समय केन्द्रीय सरकारको प्रत्यक्ष लगानीमा स्थापाना र सञ्चालन गरिएको सरकारी हेटौंडा अस्पताल रहनुबाहेक संविधान र कानुनविपरीत, संघीय सरकार वा प्रदेश सरकारअन्तर्गत्बाहेक कुनै बहाना, छलछाममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमातहत स्वामित्व राख्न/रहन नमिल्ने जिकिर गरिएको छ ।
नेपाल सरकारको सरकारी स्वास्थ्य सेवा प्रदान गर्ने अस्पताललगायत बागमती प्रदेशभरका सरकारी अस्पताललाई प्रतिष्ठानमातहत हुने, प्रतिष्ठानले सञ्चालन गर्ने गरी कुनै पनि प्रदेश ऐन, कानुन, नियम, नियमावली बनाउने, प्रतिष्ठानले सरकारी सम्पत्ति प्रत्यक्ष, अप्रत्यक्ष वा जुनसुकै तवरले प्रतिष्ठानको बनाउने र सञ्चालन गर्ने अधिकार नेपालको संविधान र कुनै संघीय कानुनले प्रदान नगरेको भन्दै उत्प्रेषणयुक्त, परमादेशलगायत उपयुक्त आदेश जारी गरी नेपालको संविधान तथा संघीय कानुनस“ग बाझिएको प्रदेश कानुन अमान्य वा बदर घोषित गरिपाउन माग गरिएको छ ।
नेपालको संविधान र संघीय कानुनविपरीतका ऐन, नियम र निर्देशिका बनाइ पूर्ण सरकारी स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको अस्तित्व समाप्त गर्ने, अस्पतालको सरकारी सम्पत्ति अनाधिकार प्रतिष्ठानको बनाउने, सरकारी सम्पत्ति कब्जा, बिक्री/व्यवहार गर्ने, अस्पतालको आर्थिक, प्रशासनिक, दैनिक कार्यमा हस्तक्षेप गरी जबर्जस्ती प्रतिष्ठानमातहत ल्याउने, अस्पतालको बैंक खाता सञ्चालनमा रोक लगाउने, खाताको रकम प्रतिष्ठानको खातामा जम्मा गर्न निर्देशन गर्ने, सरकारी रकममा हस्तक्षेप गर्ने, अस्पतालका काम र नेपाल सरकार, प्रदेश सरकारमातहत अस्पतालका सरकारी स्वास्थ्यकर्मी, कर्मचारीलाई स्वतन्त्ररुपमा सेवाप्रवाह गर्न गैरकानुनी हस्तक्षेप गरिएको दाबी छ ।
गैरसंवैधानिक र संघीय कानुनविपरीतका सम्पूर्ण काम तत्काल रोक्नुपर्ने र सरकारी अस्पताललाई स्वास्थ्यसम्बन्धि सेवासुबिधामा अवरोध हुने गरी बागमती प्रदेशसभाले बनाएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ को दफा १५ को उपदफा (२), (३), (४), दफा ३६ को उपदफा (१), (२), (३), दफा ४७ को उपदफा (१), दफा ४७ को उपदफा (१), (२), (३), (४) समेत कानुनी प्रावधान नेपालको संविधानको कानुनी व्यवस्थाविपरीत भएकाले अमान्य वा बदर घोषित गर्नुपर्ने माग छ ।
नेपालको संविधान, संघीय कानुनस“ग बाझिने गरी भएका विभिन्न निर्णय, ऐनअन्तर्गत् बनेका नियमावली, विनियममा भएका प्रावधान, आदेश, निर्देशन, पत्राचार कार्यान्वयन हुन नपाउने गरी उत्प्रेषण आदेशले बदर गरी केन्द्रीय सरकारबाट संघीय कानुनबमोजिम स्थापना, सञ्चालन भएको सरकारी अस्पताललाई साबिकदेखिको नियमित प्रदान गर्दै आएका सेवा, कामलाई प्रतिष्ठानसमेतबाट कुनै पनि हस्तक्षेप गर्न नपाउने, अस्पताल र विपक्षी प्रतिष्ठानलाई छुट्टै सञ्चालन गर्ने गरी सुबिधा सन्तुलनका दृष्टिले अन्तरिम आदेशसहित उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउन भनिएको छ ।