27.9 C
Makwānpur
Homeमुख्य समाचारहेटौंडा उपमहानगर ‘बालमैत्री’ हुँदै

हेटौंडा उपमहानगर ‘बालमैत्री’ हुँदै

मनिता राना

हेटौडा/मकवानपुरको हेटौंडा उपमहानगर ‘बालमैत्री’ घोषणा हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै उपमहानगरलाई फागुन १ गते बालमैत्री घोषणा गर्न लागिएको जानकारी गराइएको
हो । पत्रकार सम्मेलनमा नगर प्रमुख मीनाकुमारी लामाले विभिन्न सूचक पूरा गरेसँगै उपमहानगरलाई निकृष्ट बालश्रममुक्त, बालविवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्न लागेको बताइन् । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री घोषणा कार्यान्वयन कार्यविधि २०७९ ले हेटौंडाका सबै वडा बालमैत्री घोषित भइसकेको बताउँदै उनले भनिन्‌–हेटौंडाका १९ वटै वडा बालमैत्री घोषित भएसँगै उपमहानगरलाई बालमैत्री घोषणा गर्न लागिएको हो ।

बालमैत्री स्थानीय शासनयुक्त नगर समिति तथा घोषणा मूल समारोह समित संयोजकसमेत रहेकी उनले बालमैत्री घोषणा गर्न उपमहानगरका वडाहरुमा विभिन्न संंरचना बनाइएको बताइन् । हेटौंडालाई बालमैत्री बनाउन विभिन्न चुनौती रहेको बताउँदै उनले सरोकारवाला स्थानीय तहलाई बालमैत्री घोषणा गर्नुभन्दा पनि त्यसलाई निरन्तरता दिनु ठूलो चुनौती रहेको उल्लेख गरिन् ।

बालमैत्री घोषणा गर्न आवश्यक बालमैत्री स्थानीय शासनका ५१ सूचकहरुमा हेटौंडा उपमहानगरले ४३ वटा सूचकमा सत्‌प्रतिशत्, एउटा सूचकमा ९९ दशमलव ९४ प्रतिशत्, एउटा सूचकमा ९९ दशमलव ८९ प्रतिशत्, एउटा सूचकमा ९९ दशमलव ८७ प्रतिशत्, एउटा सूचकमा ९९ प्रतिशत्, एउटा सूचकमा ९८ दशमलव ६३ प्रतिशत्, एउटा सूचकमा ९६ दशमलव ८४ प्रतिशत्, एउटा सूचकमा ९१ प्रतिशत् र एउटा सूचक ८८ दशमलव ०६ प्रतिशत् नतिजा हासिल भएको उनले जानकारी दिइन् ।

पूर्वमा बकैया गाउँपालिका, पश्चिममा मनहरी र राक्सिराङ गाउँपालिका, उत्तरमा मकवानपुरगढी, भीमफेदी, कैलाश गाउँपालिका र दक्षिणतर्फ मधेश प्रदेशअन्तर्गत् उत्तरी सिमानामा पर्ने उपमहानगरको कुल क्षेत्रफल २ सय ६१ दशमलव ५८ वर्गकिलोमिटर छ । पालिकामा १८ वर्ष भन्दा कम उमेर समूहका ५० हजार १ सय ९५ जनसंख्या छ । जसमा २६ हजार १ सय ४५ बालक र २४ हजार ५० बालिका छन् । बालबालिकाको संख्यालाई आधार मान्दा ५२ दशमलव ८ प्रतिशत् बालक र ४७ दशमलव ९१ प्रतिशत् बालिका छन् ।

उपमहानगरमा २ सय ६५ टोलस्तरीय र १ सय ६ बालसमूह गरी ३ सय ७१ वटा बाल समूह तथा १९ वडास्तरीय र १ नगरस्तरीय गरी २० वटा बालसमूह सञ्जालसहित ३ सय ७१ वटा बालबालिका संरचना क्रियाशील छन् । ती संरचनागत् समितिसमेत गरी ९ हजार २ सय ५० बालबालिकाको प्रत्यक्ष सहभागिता छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here