सुनिता बिष्ट
हेटौंडा/बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत् सहकारी महाशाखाले ८ वटा सहकारीको फाइल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पठाएको छ । बचतकर्ताहरुले उजुरी दिँदा पनि सहकारी महाशाखाको सम्पर्कमा नआउने, सहकारीका फाइलहरु देखाउन नसक्नेलगायत समस्या भएका ८ सहकारीका फाइल सीआईबीमा पठाइएको सहकारी महाशाखा सहकारी रजिष्ट्रार कुमार तामाङले जनकारी दिए ।
काठमाडौंको गोकर्णेश्वरमा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडमाथि छानबिन गर्न फाइल सीआईबीमा पठाइएको छ । उक्त सहकारीविरुद्ध विभिन्न मितिमा ७६ जनाले उजुरी दिएका थिए । उजुरीका आधारमा उल्लिखित मागदाबी ६ करोड ५५ लाख ७९ हजार ७ सय ५० रुपियाँ छ । नारायणी घिमिरे अध्यक्ष रहेको सहकारीले बचतकर्ताको उजुरीउपर छलफलमै सहभागी नभएपछि फाइल सीआईबीमा पठाइएको सहकारी महाशाखाले जनाएको छ ।
भक्तपुरमा रहेको झिगुु समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको फाइल सीआईबीमा पठाइएको सहकारी महाशाखाले जनाएको छ । जनक थापा अध्यक्ष रहेको सहकारीमा ५ जना बचतकर्ताले विभिन्न मितिमा बचतफिर्ता माग गर्दै उजुरी दिएका थिए । उजुरीका आधारमा उल्लिखित ५६ लाख ५८ हजार ९ सय ७३ रुपियाँ वचतफिर्ता माग गर्दै सहकारी महाशाखामा वचतकर्ताहरुले उजुरी दिएका थिए ।
बनेपामा रहेको मुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको फाइल पनि सीआईबीमा पठाइएको छ । सुमन सुब्बा सञ्चालन समिति अध्यक्ष रहेको सहकारीमा ३५ जनाले वचतफिर्ताको माग गर्दै उजुरी दिएका थिए । ३५ जना वचतकर्ताले कुल १ करोड ४६ लाख ८ हजार ९ सय ९१ रुपियाँ वचतफिर्ता माग गरेका थिए । सहकारी संस्थामा रहेको बचत तथा निक्षेपफिर्ता सम्बन्धमा परेको उजुरीको विषयमा सहकारी सञ्चालकहरुले बेवास्ता गर्दै छलफलमा समेत नआएका कारण यी सहकारीको फाइल थप अनुसन्धान गर्न सीआईबीमा पठाइएको सहकारी महाशाखा कानुन अधिकृत मनोज गुप्ताले जानकारी दिए ।
उनका अनुसार ललितपुरमा रहेको डिलाइट बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको फाइल पनि सीआईबीमा पठाइएको छ । १ करोड ८३ लाख ४३ हजार ३ सय २८ रुपियाँ वचतफिर्ता माग गर्दै सहकारी महाशाखामा बिभिन्न मितिमा ४६ जनाले उजुरी दर्ता गराएका थिए । तर, सञ्चालक समिति सहकारी महाशाखासँग समन्वय गर्न नआएपछि सहकारीको फाइल सीआईबीमा पठाइएको
हो ।
४७ जना वचतकर्ताहरुले आफ्नो वचत रकम १ करोड १ लाख १७ हजार १ सय ७५ रुपियाँ फिर्ता माग गर्दै बिभिन्न मितिमा सहकारी महाशाखामा उजुरी दिएका थिए । डम्बरध्वज सुब्बा अध्यक्ष रहेकोमा लामो समयसम्म पनि सहकारी सञ्चालकहरु सम्पर्कमा नआएपछि भक्तपुरमा रहेको नवजीवन बहुउद्धेश्यीय सहकारी संस्थाको फाइल सीआईबीमा पठाइएको छ ।
काठमाडौंमा रहेको फलफुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको फाइल पनि सीआईबीमा पठाइएको छ । १ करोड ५० लाख वचतफिर्ता माग गर्दै दुई वचतकर्ताले सहकारी महाशाखामा उजुरी दिएका थिए । प्रकाशचन्द्र न्यौपाने अध्यक्ष रहेको सहकारी पनि महाशाखाको सम्पर्कमा नआएपछि छानबिनका लागि फाइल सीआईबीमा पठाइएको हो ।
ललितपुरको कुमारीपाटीमा रहेको ललितपुर सिटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पनि छानबिनका लागि फाइल सीआईबीमा पठाइएको छ । कृष्ण महर्जन अध्यक्ष रहेको सहकारीविरुद्ध उजुरीमा मागदाबी भएको रकम २ करोड २७ लाख ९६ हजार २२ रुपियाँ छ । सहकारीमा उक्त परिमाणको वचत रकम फिर्ता माग गर्दै ४८ जनाले विभिन्न मितिमा उजुरी दिएका थिए । भक्तपुरमा रहेको पशुपति वचत तथा ऋण सहकारी संस्था लिमिटेडको फाइल पनि सीआईबीमा पठाइएको छ । सीबी लामा अध्यक्ष रहेको सहकारीमा वचतफिर्ता माग गर्दै वचतकर्ताहरुले बिभिन्न मितिमा उजुरी दिएका थिए ।
प्रदेश सहकारी ऐन २०७६ को दफा २० मा सहकारीको मूल्यमान्यता र सिद्धान्त पालना गर्नुपर्ने व्यवस्था छ । तर, यी सहकारी संस्थाहरुले कुनै नियमपालना नगरेका कारण सहकारी महाशाखाले छलफल तथा वचतफिर्ताका लागि पत्राचार गरिरहन नपर्ने देखिएपछि यस्ता सहकारीहरुको फाइल सीआईबीमा पठाइएको सहकारी महाशाखा हेटौंडाका कानुन अधिकृत गुप्ताले जानकारी दिए ।