20 C
Makwānpur
Homeमुख्य समाचारफोहोर थुप्रिदा दुर्गन्धित बन्यो हेटौंडा, कहिले उठ्छ सडकका फोहोर ?

फोहोर थुप्रिदा दुर्गन्धित बन्यो हेटौंडा, कहिले उठ्छ सडकका फोहोर ?

सुनिता बिष्ट

हेटौंडा/बागमती प्रदेशको राजधानी हेटौंडा देशकै सफा शहरका रुपमा परिचित शहर हो । हेटौंडा पटकपटक सफा शहरका रुपमा पुरस्कृत भएको छ । ग्रिन एण्ड क्लिन सिटी नामले परिचित हेटौंडामा पछिल्लो केहीदिन सडकहरुमा फोहोर थुप्रिँदा दुर्गन्धित बन्दै गएको छ ।

हेटौंडाका १९ वटै वडाहरुबाट संकलित फोहोर व्यवस्थापनका लागि हेटौंडा–१० स्थित सिसौघारीलाई डम्पिङसाइडका रुपमा प्रयोग गरिँदै आएको छ । हाल फोहोर फालिरहेको स्थानमा फोहोर नफाल्न अदालतले आदेश दिएसँगै उपमहानगरपालिकाले फोहोर व्यवस्थापनका अन्य उपायबारे केही नसोची फोहोर संकलनलाई स्थगन गरेको छ । जसका कारण पछिल्लो केही दिनयता हेटौंडाका सडकमै फोहोरको डंगुर लागेको छ । फोहोर नउठाइएपछि हेटौंडा दुर्गन्धित बनेको छ ।

हेटौंडामा बस्दै आएको वर्षौं बित्दा पनि हेटौंडाका सडक यतिधेरै फोहोर आफूहरुले कहिल्यै नदेखेको हेटौंडा–१० का चुडा उप्रेती बताउँछन् । हेटौंडाका जनप्रतिनिधिहरुको कमजोरीका कारण फोहोरमा राजनीति भएको उनले बताए । ‘जनजीविकामा प्रत्यक्ष असर पर्ने यस्तो फोहोरको सवालमा हेटौंडाकी मेयर आफैंले पनि सम्बोधन गर्नुपर्ने हो,’ उप्रेतीले भने–न्यायिक प्रक्रियालाई दुरुपयोग गरेर स्थानीयलाई फोहोरसँगको सम्पर्कमा राखिरहने वातावरण अन्त्य गरिनुपर्छ ।

दैनिक करिब २६ टनभन्दा बढी फोहोर संकलन हुने हेटौंडामा फोहोर संकलन रोकिँदा सडकमा फोहार थुप्रिएर वातावरण दुर्गन्धित भएको छ । तापनि, उपमहानगरपालिकाले बैकल्पिक व्यवस्था गर्नेबारे उपाय अपनाएको छैन । फोहोर फाल्ने स्थानमा प्रत्येक वर्ष प्लाष्टिकजन्य फोहोरमा आगो लगाएर मानव स्वास्थ्यमा असर पर्ने काम गरेको भन्दै स्थानीयले उक्त स्थानमा फोहोर फाल्न नदिन संघर्ष समिति बनाएर आवाज उठाइरहेका छन् ।

गोरक्षेश्वर क्षेत्रनजिकको डम्पिङसाइडमा आगो लगाइँदा त्यसआसपास बसोबास गर्ने मानिसहरुलाई समस्या परेको भन्दै डम्पिङसाइड दीर्घकालिन समस्या समाधान संघर्ष समिति, हेटौंडा बनाएर उक्त क्षेत्रबाट डम्पिङसाइड हटाइनुपर्ने माग आफूहरुले राख्दै आएको संघर्ष समिति अध्यक्ष सोमबहादुर लामाले बताए ।

उनका अनुसार वर्षौंदेखि एउटै ठाउँमा फोहोर फाल्ने र त्यसको उचित व्यवस्थापनसमेत नगरिँदा मानव स्वास्थ्यमा प्रतिकूल असर परेको छ । ‘२०२६ सालदेखि हेटौंडाका फोहोरहरु सोही स्थानमा बिसर्जन गरिँदै आएको छ,’ उनले भने–हेटौंडा सानो हुँदा, थोरै फोहोरमात्र संकलन हुने बेलामा पनि फोहोर व्यवस्थापन गर्ने थलो उही थियो । हाल हेटौंडामा बस्ती बढे । दिनहुँ टनका टन फोहोर संकलन हुने स्थितिमा पनि ठाउँ फेरिएन । फोहोर राख्ने ठाउँ नभएपछि रातिको समयमा वर्षेनी आगो लगाइदिने गर्दा प्लाष्टिकजन्य फोहोरको धुँवाले बस्तीमै बस्न नसक्ने भएपछि हामीले त्यहाँबाट डम्पिङसाइड हटाइनुपर्छ भनेर आवाज उठाएका हौं ।

पाटन उच्च अदालतको हेटौंडा इजलासले उक्त स्थानमा फोहोर नफाल्न स्टेअर्डर दिएपछि हेटौंडाले फोहोर संकलन तथा व्यवस्थापन कार्य रोकेको छ । वैकल्पिक स्थान खोजी नगरी फोहोर नगरपालिकाले फोहोर सडकबाट नउठाउनु गैरजिम्मेवारीपन भएको आवाज उठिरहेको बेला उक्त स्थानबाहेक अन्य स्थानको विकल्प नभएका कारण फोहोर संकलन रोकेको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपाने बताउँछन् ।

अदालतले उक्त स्थानमा फोहोर नफाल्न स्टेअर्डर दिएपछि अन्य ठाउँको विकल्प नभएकै कारण फोहोर संकलन नै रोक्नुपरेको न्यौपानेको भनाइ छ । ‘हेटौंडा उपमहानगरपालिकाले दीर्घकालिन फोहोर व्यवस्थापनका लागि विभिन्न उपायहरु खोजिरहेको छ,’ न्यौपानेले भने–जसका कारण विभिन्न दातृ निकायहरुसँग समन्य गरेर हेटौंडा–१५ को चित्रेपानी क्षेत्र, १९ नम्बर वडाका केही क्षेत्र, १८ नम्बर वडाको पूर्वपश्चिम दक्षिण सबैतिर हुने गरी फोहोरलाई एकै ठाउँमा केन्द्रित गर्नुभन्दा पनि सानोसानो डम्पिङसाइड भयो भने सजिलो हुन्छ भन्ने हिसाबले ठाउँहरुको अध्ययन गरिरहेका छौं । प्राविधिक टोलीहरुबाट त्यसको निरीक्षण भइसकेको छ ।

फोहोर व्यवस्थापन अव्यवस्थित भएको र नकुहिने फोहोरलाई आगो लगाएर वातावरण प्रदुषण गरिएको भन्दै योगेन्द्रप्रसाद उपाध्यायले उच्च अदालत हेटौंडा इजलासमा रिट दिएका थिए । निवेदनमाथि न्यायाधीश डा. निर्मला पौडेलभट्टराईको इजलासले मंगलबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उच्च अदालत पाटन हेटौंडा इजलासले माघ २९ गते दुवै पक्षलाई अदालतमा छलफलका लागि बोलाएको छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here