27.9 C
Makwānpur
Homeमुख्य समाचारनिकुञ्जले नै मार्‍यो हात्ती, मकुना मार्नेलाई के हुन्छ कारबाही ?

निकुञ्जले नै मार्‍यो हात्ती, मकुना मार्नेलाई के हुन्छ कारबाही ?

सुनिता बिष्ट

हेटौंडा/चितवन राष्ट्रिय निकुञ्जमा निकुञ्जकै कर्मचारीले गोली चलाउँदा जंगली हात्ती मकुनाको मृत्यु भयो । निकुञ्जबाहिर निस्किएको मकुनालाई निकुञ्ज प्रवेश गराउन बुधबार ६ वटा हात्ती प्रयोग गरेर झण्डै एक दर्जन निकुञ्ज र नयाँ गोरखगण (क) गुल्म सौराहाका नेपाली सेनाको संयुक्त टोली लागिपरे ।

मकुना रिसाहा स्वभावको हात्ती थियो । निकुञ्जबाट निस्किएर निकुञ्जनजिकका बस्तीहरुमा दुःख दिन थालेपछि स्थानीयले मकुनाबाट आफूहरुलाई सुरक्षा चाहिएको भन्दै मकुनालाई निकुञ्जको कोरक्षेत्र प्रवेश गराइदिन भनेका थिए । सोहीअनुसार निकुञ्जका प्राविधिक टोलीसहित नेपाली सेनाको टोली बुधबार दिउँसो निकुञ्ज प्रवेश गराउन ६ वटा हात्ती लिएर मकुनालाई पछ्याउन निस्किए । हात्ती स्विप गस्ती टोलीले स्विपिङ गर्दै जाँदा कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा अकस्मात् मकुनासँग भेट भयो । मानिससहितको हात्ती देखेपछि मकुना बिच्कियो ।

हात्ती स्विप गस्ती टोलीमाथि नै जाइलागेपछि दुई राउण्ड हवाइफायर गरियो । त्यसो गर्दा पनि मकुना भागेन । ऊ थप आक्रामक बन्दै खगेन्द्रप्रसाद नामक सानो हात्तीमाथि जाइलाग्यो । खगेन्द्रप्रसादमा सवार रेञ्जर श्याम तामाङ भुइँमा खसे । उनको सुरक्षा अत्यन्त कठिन भएपछि स्विप टोलीले मकुनालाई ३ राउन्ड गोली हान्यो ।

तीन राउण्ड गोली लागेको मकुना त्यहाँबाट भाग्यो । रेञ्जर तामाङको त ज्यान जोगियो तर नेपालकै राष्ट्रिय सम्पत्ती मकुना सदाका लागि गुमाउनुपर्‍यो । खगेन्द्रप्रसाद हात्तीमाथि बसेका तामाङसहित मकुनाले घरपालुवा हात्ती चुरेगजलाई समेत आक्रमण गर्न लागेपछि अन्य विकल्प नभएकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २१ मा भएको व्यवस्थाबमोजिम आत्मरक्षाका लागि टोलीले ३ राउन्ड हवाइफायर गरेको निकुञ्जका संरक्षण अधिकृत गणेश पन्त बताउँछन् ।

निकुञ्जको टोलीकै गोली लागेर मकुनाको मृत्यु हुँदाको जिम्मेवारी कसले लिने ? गोली चलाउने व्यक्तिलाई कानुनको दायरामा उभ्याइन्छ कि उभ्याइँदैन ? यो प्रश्नमा संरक्षण अधिकृत पन्त भन्छन्‌–आपत्‌कालीन अवस्थामा आत्मारक्षाका लागि गोली चलाइएको हो । प्रोटोकल फलो गरेर घटना भएको छ । अरु समयमा पनि यसरी हात्ती स्वीपिङका लागि हवाइफायर गरिन्थ्यो । हिजोमात्र गोली चलाइएको होइन ।

उनले थपे–कुनै जनावरलाई चारीशिकार गर्ने अभिप्रायले मारियो भने नियमसम्म्त् कानुन लाग्छ । तर, आत्मारक्षाका लागि मार्नसमेत पाइने भन्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा उल्लेख छ । यदि यही हात्तीलाई निकुञ्ज टोलीबाहेकका स्थानीयले आत्मरक्षाका लागि मारेका भए पनि छुट पाउँथे भन्ने प्रश्नमा पन्तले भने–कानुन नै लाग्दैन भन्न खोजिएको होइन । ऐनमा उल्लेख गरिएको छ भन्न खोजेको हुँ । यस विषयमा हामी घटनाको वस्तुस्थितिका विषयमा रिपोर्टिङ गर्छौं । सम्बन्धित निकायबाट के गर्ने भन्ने विषयमा कुनै निर्क्यौल निक्लिएला । मकुनामाथि एउटै व्यक्तिले हवाइफायर गरेको पुष्टि भएको निकुञ्ज प्रमुख पन्तले बताए ।

गोलीप्रहारबाट मृत्यु भएको मकुनाको राति नै खाल्टो खनेर दाहसंस्कार गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए । मकुना वयस्क भाले हात्ती हो । निकुञ्जका सूचना अधिकारी थापामगरका अनुसार निकुञ्ज टोलीकै गोलीप्रहारबाट हात्तीको मृत्यु भएको यो पहिलो घटना हो । केही समयअघि जंगली ध्रुवे हात्तीलाई पनि नियन्त्रणमा लिन हवाइफायर गरिएको थियो । तर, मृत्यु भने भएन ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here