मनिता राना
हेटौंडा/हेटौंडा उपमहानगरपालिका क्षेत्रबाट फोहोर संकलन कार्य रोकिएपछि हेटौंडाका स्थानीय चिन्तित भएका छन् । फोहोर थुपारिएको क्षेत्रमा भएको विवादका कारण उच्च अदालत पाटनको हेटौंडा इजलासले अल्पकालीन आदेश जारी गरेपछि उपमहानगरपालिकाले सूचना जारी गरेर अर्को सूचना नभएसम्म फोहोर संकलन कार्य रोकिएको जनाएको थियो ।
हाल फोहोर संकलन रोकिएपछि हेटौंडामा प्रदुषणको खतरा बढ्ने देखिएकाले अब फोहोर कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा स्थानीयले चिन्ता व्यक्त गरेका छन् । गर्मी बढ्ने र फोहोर व्यवस्थापन पनि नहुँदा बिभिन्न रोगको संक्रमण हुने अवस्था आउने हेटौंडा–४ स्थित चिल्ड्रनपार्क बस्ने रामकृष्ण पोखरेलले बताए । नगरपालिकाले दिनदिनै फोहोर व्यवस्थापन गर्दा त स्थानीयले जथाभावी फोहोर फ्याँक्नेले अब फोहोरको गाडी नआउँदा के हुने हो भन्दै उनले चिन्ता व्यक्त गरे । ॅदिनानुदिन फोहोर जम्मा भइ फोहोरका कारण महामारी फैलियो भने यसको जिम्मा कसलाई लिने ?,’ उनले प्रश्न गरे ।
यसरी फोहोर व्यवस्थापन कार्यमा उपमहानगरपालिका पन्छिने हो भने हेटौंडाका कोठाकोठा, चोकचोकमा फोहोर जम्मा हुने र गर्मी पनि बढ्ने हुँदा रोगको महामारी बढ्नसक्ने उनले अनुमान लगाए । फोहोरको उचित व्यवस्थापन नगरे यसबाट मानव स्वास्थ्यमा हानि हुनसक्ने भन्दै उनले सम्बन्धित निकायको ध्यान जानु आवश्यक भएको बताए ।
सोही ठाउँकी कान्छीमाया थापाले भर्खर फोहोरको शुल्क उठाउन आएको र आफूले ३ महिनाको शुल्क दिएर पठाएको बताइन् । फोहोर संकलन गर्ने गाडी नआए घर दुर्गन्धित हुनेमा उनले चिन्ता व्यक्त गरिन् । आफ्नो घरमा ससाना बालबालिका भएका कारण पनि छिट्टै नै घरमा फोहोर जम्मा हुने गरेको उनले बताइन् । उनले घरबाट निस्कने फोहोरहरु कुहिने र नकुहिने गरी छुट्टै भाँडामा संकलन गर्ने गरेकी बताइन् । बालबालिकाले खानेकुरा बढी फाल्ने हुँदा कुहिने फोहोर चाँडै जम्मा हुने गरेको बताएकी उनले अब फोहोरको गाडी नआए कुनै उपाय नरहेको गुनासो गरिन् ।
फोहोरमैला व्यवस्थापन कार्य उपमहानगरपालिकाको आम समस्या भएको वडा–४ का अध्यक्ष नवीन सिग्देलले बताए । फोहोर व्यवस्थापनको बैकल्पिक व्यवस्था छिट्टै हुने उनले आश्वासन दिए । फोहोरलाई जथाभावी फ्याँक्न नहुने भन्दै उनले केही बिकल्प निस्कने सान्त्वना दिए । घरआँगनबाट निस्केका फोहोरलाई कहाँ फाल्ने भन्ने विषयमा नगरपालिका कानुनी प्रक्रियाबाट जाने उनले बताए ।
उपमहानगरपालिकाले आफ्नै कर्मचारीमार्फत् हेटौंडा बजार क्षेत्रको सरसफाइ गर्दै आएका छन् । निजी क्षेत्रसँगको सहकार्यमा उपमहानगरका २३ हजार घरधुरीबाट फोहर संकलन गरी व्यवस्थापन गरिँदै आएको छ । हेटौंडा–१०, राप्तीतटस्थित डम्पिङसाइट व्यवस्थापन हुन नसकेको, डम्पिङसाइटमा आगलागी भएर वातावरण प्रदुषण भएको भन्दै योगेन्द्रप्रसाद उपाध्यायले दायर गरेको रिट निवेदनमा उच्च अदालत पाटन हेटौंडा इजलासकी न्यायाधीश डा. निर्मला पौडेलभट्टराईको इजलासले मंगलबार निषेधाज्ञा जारी गरेको थियो ।
उपमहानगरपालिका र फोहोर व्यवस्थापनमा उपमहानगरसँग सहकार्य गर्दै आएको ग्रीन एण्ड क्लिन सर्भिसेज नेपालविरुद्ध उपाध्यायले रिट निवेदन दर्ता गराएका थिए । अदालतले २९ गते दुवै पक्षलाई अदालतमा उपस्थित हुन र हाललाई डम्पिङसाइटमा फोहोर नफाल्न आदेश जारी गरेको हो । उपमहानगरपालिकाले घरघरबाट बिहीबारदेखि फोहोर संकलन गरेको छैन ।
आदेशमा भनिएको छ–वातावरण प्रदुषण जस्तो संवेदनशील विषयमा अन्तरिम आदेशसमेत माग गरिएकाले विपक्षीबाट हेटौंडा–१० स्थित गोरक्षश्वर मन्दिरभन्दा दक्षिणतर्फ राप्तीतटमा फोहोर नफाल्नू, फोहोर फाल्न नलगाउनू भनी विपक्षीहरुका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ । अन्तरिम आदेशलाई निरन्तरता दिने/नदिने सम्बन्धमा दुवै पक्षको उपस्थितिमा छलफल गराइ निष्कर्षमा पुग्नु उपयुक्त हुने देखिँदा उक्त प्रयोजनार्थ २९ गते दोहोरो छलफलका लागि पेशी तोकी, प्रस्तुत आदेशको जानकारी विपक्षीहरुलाई दिइ नियमानुसार गर्नू ।
उपमहानगरपालिकाले गोरक्षश्वर मन्दिरको दक्षिणतर्फ राप्ती खोलाकिनारमा अव्यवस्थित तरिकाले फोहोर फाल्ने गरेको छ । फोहोरको थुप्रो बढेपछि फोहोर उठाउने ठेक्का पाएको ठेकेदारले प्लास्टिकजन्य फोहोरमा आगो लगाउने र उपमहानगरपालिका आफैंले पुर्ने गरेको छ । फोहोर व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनीले फोहोरको थुप्रोमा पटकपटक आगो लगाउने गरेको स्थानीयको आरोप छ । डम्पिङसाइटमा लागेको आगोबाट निस्केको विषाक्त धुँवाले वातावरण प्रदुषित बनाउने गरेको छ । जथाभावी फालिएको प्लास्टिकजन्य फोहोरको थुप्रोमा आगो लगाइँदा धुँवाको मुस्लोले उपमहानगरपालिका–१, १०, ११ र १२ का बस्ती निकै प्रभावित हुने गरेका छन् । धुँवाको कारण स्कुले बालबालिका, वृद्धलाई सबभन्दा बढी असर पर्दै आएको छ । यसबारे उपमहानगरपालिकालाई बारम्बार जानकारी गराए पनि सुनुवाइ नभएको स्थानीयको गुनासो छ ।
राप्तीतटस्थित फोहर डम्पिङसाइडमा माघ १० गते राति आगजनीका कारण हेटौंडा बजार र आसपासका वस्ती प्रभावित भए । हेटौंडा–१० न्युरेनी, भुटनदेवी, हेटौंडा–१, चाइनाक्वार्टर, हेटांैडा–११, सिमलटार, गोल्फिन्टार, थानाभञ्ज्याङ, नवलपुर र हेटौंडा–९ को धार्मिक क्षेत्र कुष्माण्ड सरोवर, गोरक्षेश्वर धार्मिक क्षेत्र, चौधघरे बस्ती, हेटांैडा–१३, बनस्पतिलगायतमा प्लाष्टिकजन्य फोहोर वस्तुको जलनबाट प्रशस्त प्रदुषण फैलियो ।
स्थानीयको श्वासप्रश्वासमा कठिनाइका कारण विशेषगरि ससाना बालबालिका, दीर्घरोगी, वृद्धको स्वास्थ्यमा प्रत्यक्षरुपमा असर पर्यो । उक्त समय आँखा पिरो हुने, खोकी लाग्ने, स्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण देखापरे । ‘जनताको स्वास्थ्यमा खेलवाड गर्ने छुट कसैलाई छैन । यसको जवाफ उपमहानगरपालिकाले दिनुपर्छ र जिम्मेवारी लिनुपर्छ,’ नवगठित डम्पिङसाइड दीर्घकालीन समस्या समाधान संघर्ष समिति संयोजक सोमबहादुर लामाले भने–आगजनीको दुई दिन बित्दासमेत फोहोरजन्य प्लाष्टिकको गन्ध आइरह्यो । जलाइएका प्लाष्टिजन्य वायुका कारण क्यान्सरसमेत हुने सम्भावना हुन्छ ।
उनका अनुसार यस्तो आगो लाग्ने र लगाइने समस्या यस वर्षको मात्र होइन । विगत ४/५ वर्षदेखिको समस्या हो । नजिक रहेको राप्तीनदीलाई प्रदुषित बनाइ जलचर र वन्यजन्तु विशेष गरेर चित्तलको बासस्थान र चरिचरन प्रभावित पार्ने र पिउने पानी प्रदुषित पार्ने तथा वातावरणीयरुपमा प्रदुषित हुने गरी डम्पिङसाइड राखिएको हुँदा डम्पिङसाइडको दीर्घकालीन समस्या समाधानका लागि संघर्ष समिति गठन गर्न बाध्य भएको उनको दाबी छ ।
समस्याको समाधान ३५ दिनभित्र नगरिए समाधानका निम्ति संघर्ष समितिले उपमहानगरका सबै १९ वडाका फोहोर र फोहोर ल्याउने गाडी छेकथुन गर्न बाध्य हुने चेतावनी नगर प्रमुख मीना लामासमक्ष बुझाइएको पत्रमा उल्लेख छ । उक्त पत्र प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, डिभिजन बन र हेटौंडा–१० वडा कार्यालयलाई पनि दिइएको छ ।