मञ्जिता मैनाली
हेटौंडा/कुनै पनि रासायनिक पदार्थ, जसको सेवन मानिसको केन्द्रीय स्नायु प्रणालीमा असर गरी सेवनकर्ताको भावना सोचाइं तथा शारीरिक अवस्थामा परिवर्तन ल्याउँछ भने यसलाई लागुऔषध भनिन्छ । यसले मानसिक चेतना, अनुभूति र मनोभावनालाई प्रभावित पारेर बुझ्ने, सम्झने र सोच्ने शक्तिलाई विकृत तुल्याउँछ ।
युवालाई राज्यको कर्णधारका रुपमा लिइन्छ । स्वास्थ्य युवा देशका कर्णाधार हुन्छन् । तर, देशविकासका आधार शक्ति नै जोखिम तथा धरापमा परेर राज्यले ठूलो संकट बेहोर्नुपर्ने हुन्छ । सुईद्वारा लागुऔषध प्रयोग गर्ने गरिएको छ । सानो उमेरका प्रयोगकर्ता गरिब तथा ग्रामीण बस्तीमा रहेको पाइन्छ । तथ्यांक केलाउँदा जोखिममा रहेका युवामा महिलाको अनुपात पनि भयावह खालको छ ।
लागुऔषधको जोखिम जुनसुकै उमेर, लिंग, वर्ग र पेसा समूहको व्यक्तिलाई पर्न सक्दछ । तर, केही कारण छन् जसले गर्दा लागुऔषधको जोखिम बढाउन मछत गर्दछ । लागुऔषध प्रयोग गर्ने साथीको संगत, फेसन, मिडिया, बढ्दो सामाजिक कुरीति, विवाह, व्रतबन्ध, अन्नप्राशन तथा विभिन्न शुभकार्यमा मादकपदार्थ तथा सुर्तीजन्य पदार्थ प्रयोग बढ्दै जानु र विभिन्न धार्मिक कार्यमा गाँजा, भाङ र धतुरो प्रयोगलाई सामान्य परम्पराका रुपमा लिनु, चुरोट तथा मदिराको विज्ञापनमा प्रसिद्ध कलाकारलाई प्रयोग गरिनु र त्यसको नक्कल गर्ने बानीले पनि लागुऔषधको शिकार हुने सम्भावना प्रवल रहेको पाइन्छ ।
समयसापेक्षढंगले नेपालमा महिला लागुऔषध प्रयोगकर्ता पनि बढ्दै गएको पाइन्छ । लागुऔषध प्रयोग गर्नेमा पुरुषभन्दा महिलाको संख्या कम छैन । तर, उपचारमा आउने महिलाको संख्या भने निकै न्यून छ । त्यसैले महिला लागुपदार्थपीडित हुनु र एचआईभी संक्रमित हुनु निकै जोखिमपूर्ण विषय हो ।
पुरुष लागुऔषध प्रयोगकर्ता आफूलाई सहयोग गर्ने समूह निर्माण गर्दै उपचारको पहुँचसम्म पुग्न सक्छन् । यद्यपि, महिलाको हकमा भने उनीहरु त्यसरी अवसर प्रयोग गर्न सक्दैनन् । लागुऔषध प्रयागकर्ता भनेर आफन्त तथा चिन्ने/जान्नेले देख्दा आफूलाई हेर्ने दृष्टि गलत हुने डरले महिला खुल्दैनन् । त्यसकारण उनीहरु बढी जोखिममा परिरहेको अवस्था छ । यदि उनीहरुले पनि संगठित भएर आपसमा विचार, अनुभव आदानप्रदान गरी आफूलाई सबल र संगठित बनाउने वातावरण पाए उठ्न सक्षम हुने कुरामा दुईमत छैन ।
त्यसैले महिलामा पनि सहजरुपमा सहभागी गराइ अनुभव वा विचार व्यक्त गर्ने तथा लिने वातावरणको खाँचो छ । उनीहरु यसरी बैठकमा गए फलानाको छोरी लागुऔषध प्रयोगकर्ता भनेर थाहा पाए बाबुआमाको इज्जतमा दाग लाग्दछ भन्ने आमधारणा छ । विडम्बना के छ भने महिला लागुऔषध प्रयोगकर्ताको उपचार एवम् सहयोगका लागि एकाधबाहेक हालसम्म कुनै आमाबुबा वा आफन्त अघि सर्दैनन् । यसको एउटा कारण त के पनि हो भने महिलाले कडाखाले कुनै पनि किसिमको लागुऔषध सेवन गर्दैनन् भन्ने भ्रम पनि छ ।
महिला हुन् वा पुरुष, लागुऔषध प्रयोगकर्ता पनि यसै समाजका सदस्य हुन् । सबै मान्छेको सोच्ने शक्ति र जिउने तरिका एउटै हुँदैन । र, कोही पनि मान्छे जान्दाजान्दै वा बुझ्दाबुझ्दै लागुऔषधको दलदलमा फस्दैन । विविध कारण र परिस्थितिले लागुऔषधमा फसेर उन्मुक्ति नपाइरहेकाको उद्धार र सहयोग गर्नु मानवीय धर्म मानिन्छ ।
पछिल्लो समय मकवानपुरमा लागुऔषध प्रयोगकताको संख्या बढ्दै गएको छ । लागुऔषध प्रयोगकर्ता पुरुष बढी हुन्थे । तर, पछिल्लो समय महिला पनि लागुऔषधको दलदलमा पुरुषसरह नै फसिरहेका देखिन्छन् ।
लहलहै र बाध्यतामा परेर लागुऔषधको दलदलमा भासिन पुगेका उनीहरु उम्किन सकेका छैनन् । पढेलेखेका, उच्च घरानाका युवती पनि कुलतमा फसेको पाइएको छ । लागुऔषध कारोबारमा पनि महिला अगाडि छन् । सेवन नगर्नेहरु पनि छिटो पैसा कमाउने लोभले कारोबारमा लागेको पाइएको छ । लागुऔषध ओसारपसार गरिदिने वा सम्पर्कस्थल बनेर कारोबारमा सघाउने गरेको पाइन्छ । अन्य जिल्लाका महिला चरेस, अफिम बोकेर आउनु र यहाँका रैथाने महिला वा युवतीले कारोबार गर्नुलाई नौलो मानिने गरेको छैन ।
मकवानपुरमा पछिल्लो समय महिला पनि लागुऔषधमा फसेर नियन्त्रणबाहिर गएपछि लागुऔषधको विकराल अवस्थालाई मध्यनजर गर्दै हेटौंडा–९, लामसुरेहाइटमा लागुऔषध तथा मादकपदार्थ महिला पुनर्स्थापनागृह सञ्चालनमा ल्याइएको छ ।
२०८० पुस १६ गते सञ्चालनमा आएको पुनर्स्थापनागृहमा हाल १४ जना उपचाररत् तथा परामर्श लिरहेका छन् । ४ जना पुनर्स्थापित भइसकेको सिआन महिला पुनर्स्थापनागृह सञ्चालक तान्या अग्रवालले जानकारी दिइन् । स्थानीय सरकारसँगको बैठकमा सिआन महिला पुनर्स्थापनागृह सञ्चालक अग्रवालले यस्तो बताएकी हुन् । सिआन महिला पुनर्स्थापनागृहमा लागुऔषध, मादकपदार्थ, मानसिक समस्याको आवासीय उपचार तथा परामर्श सेवा दिइने गृहमा ४ महिलाहरुले रोजगारी पाएको उनले जानकारी दिइन् । सिआन महिला क्षति न्यूनीकरण परियोजनाअन्तर्गत् सुइद्वारा सेवन गरिने लागुऔषध महिला प्रयोगकर्तालाई हुनसक्ने क्षति न्यूनीकरणका काम गर्दै आएको सञ्चालक अग्रवालले जानकारी दिइन् ।
सिआन महिला क्षति न्यूनीकरण परियोजनाअन्तर्गत् सुइद्वारा सेवन गरिने लागुऔषध महिला प्रयोगकर्तालाई हुनसक्ने क्षति न्यूनीकरण अभियानसमेत सञ्चालन गरिएको अग्रवालले बताइन् । लागुऔषध प्रयोगकर्ताको संख्याका आधारमा पुरुष भन्दा महिलाको संख्या डरलाग्दो अवस्थामा बढिरहेको उनले बताइन् । उपचाररत् महिलालाई उपचारसँगै विभिन्न प्रकारका तालिमसमेत दिने गरिएको उनले बताइन् ।
मकवानपुरमा लागुऔषध प्रयोगकर्ताका सुधारगृह थुप्रै छन् । तर, महिला सुधारगृह नहुँदा अन्यत्र लैजानुपर्ने अवस्था थियो । मकवानपुरमा महिला लागुऔषध प्रयोगकर्ताको अवस्थालाई मध्यनजर गर्दै केही समयअघि पहिलो पटक महिला सुधारगृह सञ्चालनमा ल्याइएको हो । पुरुषमा लागुऔषध समस्या देखिएकाले पुरुष पुनर्स्थापना कार्य गरिरहेको अवस्थामा हाल महिला लागुऔषध प्रयोगकर्ताको समस्या विकराल देखिएका अग्रवालले जानकारी दिइन् ।
‘मकवानपुरमा यस विषयमा महिलाविज्ञ कम रहेको र चुनौती रहेको अवस्थामा युवतीहरुको सकारात्मक जीवनका लागि अवसर सिर्जना गर्ने उद्धेश्य राखेका छौं,’ अग्रवालले भनिन्–हेरचाहका लागि महिलालाई महिला नै आवश्यक पर्ने भएकाले २ महिला परामर्शदाता, १ महिला चिकित्सकको व्यवस्था गरेका छौं ।
सरकारी मापदण्डअनुरुप गृह व्यवस्थापन र सञ्चालन प्रमुख प्राथमिकतामा रहेको र त्यसअनुरुप व्यवस्थापन र विभिन्न निकायसँग समन्वय गरिरहेका उनले बताइन् । विशेषतः मनोपरामर्श, हेरचाह, योग, ध्यान, आध्यत्मिक जागरण, खेलकुद, परिवारको महत्व र सामाजिकीकरणयुक्त बनाउन दैनिक कक्षाहरुको व्यवस्था गरिएको उनले बताइन् । निकट भविष्यमा यसलाई थप व्यवस्थित गर्दै उपचारको पहुँच र चेतना वृद्धिसहित अघि बढ्ने योजना रहेको उनले बताइन् । मकवानपुरआसपास चितवनमा १ र काठमाडौंमा महिला सुधारगृह रहेको हुँदा मकवानपुरमा महिलालाई व्यवस्थित वातावरण दिने लक्ष्य रहेको उनको भनाइ छ ।
गृह मन्त्रालयको २०७६ सालको सर्वेक्षणअनुसार बागमती प्रदेशमा महिला प्रयोगकर्ताको संख्या ५ हजार ६ सय २५ जना रहेकोमध्ये सबभन्दा बढी काठमाडौं र मकवानपुरमा रहेको तथ्यांक ‘सुरक्षित जीवन’ नामक गृह मन्त्रालयको वार्षिक पुस्तिकामा रहेको उनको भनाइ छ ।
स्थानीय तहसँगको बैठकमा हेटौंडा उपमहानगरपालिका सामाजिक विकास शाखा प्रमुख गगा चौलागाईं, हेटौंडा उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख भोलानाथ चौलागाईं, ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, सिआन पुनर्स्थापनागृह अध्यक्ष विजेन्द्र अग्रवाल, सिआन पुरुष पुनर्स्थापनागृह सञ्चालक सौजन डीसी, गैसस अध्यक्ष तथा सिआन पुनर्स्थापना सल्लाहकार रमिला सापकोटा र कमल पौडेल, टोलविकास संस्थाकी शोभा अर्याल, सामुदायिक प्रहरी सेवा–९ नम्बरका महेश्वरमान श्रेष्ठलगायतको उपस्थिति थियो ।
नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षण, २०७६ अनुसार एक लाख ३० हजार चार सय २४ जना लागुऔषध प्रयोगकर्ता रहेको देखिन्छ । यसअघि २०६९ मा गरिएको सर्वेक्षणमा ९१ हजार पाँच सय ३४ जना लागुऔषध प्रयोगकर्ता थिए । प्रतिवेदनअनुसार लागुऔषध प्रयोगकर्ताको संख्यामा वार्षिकरुपमा वृद्धि हुँदै गएको देखिन्छ ।