सुनिता बिष्ट
हेटौंडा/बागमती प्रदेशसभाको बैठक बुधबार विहान ११ बजे सुरु भयो । प्रदेशसभा सभामुख भुवनकुमार पाठकले आह्वान गरेको समयमै सदनभित्र पस्ने घण्टी बज्यो ।
बैठकमा सहभागी हुन आउने सांसद्हरुको हतारो पनि उस्तै देखिन्थ्यो । घण्टी बजेको आवाज सुनेपछि हतार/हतार स्वकीयहरुलाई आफूसँग भएको ब्याग थमाएर हतारमै डायरी बोक्दै बैठक हल प्रवेश गरे । यति हतारो हुनुको कारण चाहिं समयमै बैठक सुरु गरिनुले हो ।
प्रदेशसभा भवनपरिसरमा खाना खाइरहेका एक सांसद्ले घण्टी बजेको सुनेपछि ॅओहो, आज त कति छिटो बैठक सुरु हुन लाग्यो । खाना पनि राम्ररी खान भ्याइएन’ बर्बराउँदै छेऊमा रहेको बेसिनमा हात धोरर हतारहतार टिस्यु पेपरले मुख पुछ्दै अर्को हातले डायरी च्यापेर सदनतिर प्रवेश गरे । प्रदेशसभा प्रांगणमा मन्त्रीका गाडी पनि हतारमै देखिन्थे । गेटबाट स्पिडमा आएका गाडीबाट हतारिँदै झरेका मन्त्रीहरु सीधैं बैठक हलतर्फ गोडा सोझ्याइरेका दृष्य देखिए ।
केही बेरमा सदनमा राष्ट्रिय गान बज्यो । सबैले उठेर देशप्रति सम्मान जनाए । लगत्तै सभामुख पाठकले बैठक प्रारम्भ भएको सदनलाई जानकारी दिए । सदनलाई बैठकको व्यहोरा जानकारी गराउँदै सभामुख पाठकले रुलिङ गरे–आजको बैठकमा शून्य समय र विशेष समय नरहने जानकारी गराउँदछु ।
यति भन्न नभ्याउँदै सांसद् तीर्थ लामा उभिएर सभामुखलाई रोक्न खोजे । सदनको माहोल शान्त नदेखेपछि सभामुख पाठकले पूर्वमन्त्रीसमेत रहेका लामालाई इशारा गर्दै हात हल्लाए । तर, उताबाट कुनै जवाफ आएन । जवाफ नआएपछि सभामुख पाठकले मुख खोलेर सोधे–माननीयज्यु जरुरी कुरा केही छ ? आउनोस्’ भन्दै रोष्ट्रमतर्फ संकेत गरे । सांसद् लामाले असोजमा भएको विपत्तिमा सरकारको उपस्थिति कमजोर भएको गुनासो गर्दै १० मिनेट आफ्ना कुराहरु रोष्ट्रममार्फत् राखे ।
लामाले सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराएपछि सभामुख आफ्नै कार्यसूचीतर्फ मोडिए । सदनमा दर्ता भएका ५ विधेयक छलफल गरेर स्वीकृत गर्नुपर्ने कार्यसूची तयार थियो । सोहीअनुसार पहिलो बैठकमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश खेलकुद ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धि ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश कृषिविकास विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरियो ।
तत्काल सभामुख पाठकले दिउँसो १ः३० बजेसम्मका लागि बैठक स्थगित भएको सदनलाई जानकारी गराए । करिब २ बजेतिर दोस्रो बैठक प्रारम्भ भयो । लगत्तै सुरु भयो सदनमा पेश भएका ५ वटा विधेयकमाथिको सैद्धान्तिक छलफल । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाका तर्फबाट (अनुपस्थितिका कारण) श्रम, रोजगार मन्त्री प्रेमभक्त महर्जनले विचार गरियोस् भन्ने प्रस्ताव पेश गरे ।
सभामुख पाठकले विधेयकमाथिको सैद्धान्तिक छलफल गर्न इच्छुकहरुलाई सचिवालयका कर्मचारीमार्फत् नाम टिपाउन भने । उक्त विधेयकमाथि विचार प्रस्तुत गर्न बागमती प्रदेशसभा माओबादी केन्द्रमा प्रमुख सचेतक रत्नप्रसाद ढकालले नाम टिपाए । उनले चित्त नबुझेका केही प्रश्न विधेयक ल्याउने सम्बन्धित मन्त्रालय र समितिलाई प्रश्न गरे।
विधेयक सदनमा पेश गरेर छलफल गर्ने बेला सम्बन्धित मन्त्रालयका मन्त्री नहुनु दुःखद् भएको सचेतक ढकालले बताए । उनीपछि विधेयकमाथि कोही सांसद्ले छलफलमा भाग लिएनन् । सदनमा उपस्थित सांसद्हरु सबैलाई उक्त विधेयकमाथि पूर्ण ज्ञान भएर हो वा किन हो, छलफल गरिरहन जाँगर नै चलेन ।
सचेतक ढकालले सोधेका प्रश्नहरुमा जवाफ दिन श्रममन्त्री महर्जनलाई सभामुख पाठकले अनुरोध गरे । यतिबेलासम्म सदनमा हाँसोको माहोल सिर्जना भयो । कारण, आफूलाई ज्ञान नै नभएको विषयमा अर्को विभागीय जिम्मेवारी बोकेका मन्त्रीले के जवाफ देलान् । सभामुख पाठक आफंै पनि हाँसिरहेका थिए । श्रम मन्त्री महर्जनले सैद्धान्तिक छलफलको भूमिका पूरा गर्नकै लागि भए पनि जसोतसो ढकालले गरेका प्रश्नको उत्तर दिन रोष्ट्रममा उभिए ।
‘माननीय सभामुखज्यु, यो मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक कानुन्सम्मत्ढंगबाट ल्याएको भन्ने मैले बुझेको छु,’ मन्त्री महर्जनले भने–त्यसकारण यस विधेयक ठीक छ भन्ने मलाई लागेको छ । धन्यबाद । प्रमुख सचेतक ढकालले ३ मिनेटमा राखेको प्रश्नको जवाफ मन्त्री महर्जनले १ मिनेट पनि नलाग्दै सकाइदिए । यत्तिकैमा विधेयक सदनबाट सर्वसम्मत् स्वीकृत भयो ।
सदनमा विचार गरियोस् भन्दै प्रस्तुत भएका अन्य ४ वटा विधेयकहरुमाथिको छलफल पनि यस्तै सुस्ततामै सकियो । प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले प्रदेश खेलकुद ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरे । सदन एकछिन सुनसान बन्यो । सुनसान हुनुको कारण थियो सभामुख पाठकले उक्त विधेयकमाथिको छलफलमा भाग लिन चाहनेको नाम मागेका थिए । झण्डै २ मिनेट होल्ड भएपछि माओबादीका प्रमुख सचेतक ढकाल पुनः छलफलमा भाग लिन रोष्ट्रम उक्लिए । केही असन्तुष्टि र सच्याउनुपर्ने विषयहरु औंल्याएर ढकालले आफ्ना विचार राखे ।
प्रदेश खेलकुद ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्न माओबादीबाट निर्वाचित प्रेमबहादुर पुलामी पनि सहभागी बने । उनले ३ मिनेट आफ्नो धारण राखेर रोष्ट्रमबाट ओर्लिए ।
मर्यादाविपरीत प्रश्न
सभामुख पाठकले युवा तथा खेलकुद मन्त्री महर्जनलाई छलफलमा उठेका प्रश्नको जवाफ दिन रुलिङ गरे । रोष्ट्रम पुगेका मन्त्री महर्जन रोष्ट्रममै केहीबेर होल्ड हुनपर्यो । कारण थियो, सदन सुरु भएको १५ मिनेटसम्म पनि बैठककक्षमा प्रवेश नगरेका राप्रपाका सांसद्हरुलाई कुरिएन भन्ने ध्यानाकर्षण । राप्रपा संसदीय दलका नेता उद्धब थापाले आफू बसेको बेञ्चको माइकबाट बोलेर मन्त्रीलाई होल्ड गराए । राप्रपा संसदीय दलको बैठक बसिरहेको छ भन्ने थाहा हुँदाहुँदै केही समय पनि नपर्खिएर सदन सुरु गरेकोप्रति थापाले आपत्ति जनाए । सभामुखको रुलिङ अटेर गर्दै पूर्वमन्त्रीसमेत रहेका थापाले खेलकुद मन्त्रीलाई प्रश्नसमेत गर्न भ्याए ।
थापाले आफ्नो विचार राखेपछि प्रदेश खेलकुद ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सदनबाट स्वीकृत भयो । राप्रपा संसदीय दलका नेता थापासमेतको विचारलाई गणना गर्दा उक्त विधेयकमाथि ३ सांसद्ले आफ्नो विचार प्रस्तुत गरे ।
छैन प्रश्न उठाउने जाँगर
बुधबार प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धि ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश कृषिविकास विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गर्न सभामुख पाठकले रुलिङ गरे । तर, सदनमा उपस्थित सांसद्हरुले विधेयकमाथिको छलफलमा चासो देखाएनन् । सचेतक ढकालले मात्र पटकपटक विधेयकमाथिको छलफलमा भाग लिए । ५ विधेयक सदनबाट स्वीकृत गर्दा विचार प्रस्तुत गर्ने सांसद्को संख्या ३ मात्र भयो । माओबादीका प्रमुख सचेतक ढकाल, पुलामी, राप्रपामा थापाले मात्र विधेयकमाथिको छलफलमा भाग लिए । सभामुखबाहेक ६९ सांसद् सहभागी प्रदेशसभा बैठकमा विधयेकमाथिको छलफलमा किन चासो दिइएन, यो गम्भीर प्रश्न हो ।
न त चित्तबुझ्दो जवाफ
सदनबाट सांसद्हरुले विधेयकहरुमाथि उठाएका प्रश्नहरुमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले चित्तबुझ्दो र तर्कसम्मत् जवाफ भने दिन सकेनन् । प्रदेशको उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले सदनमा पेश गरेको प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र उनैले पेश गरेको अर्को विधेयक प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धि ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सचेतक ढकालले प्रश्न गर्दा मन्त्री तामाङले भरलाग्दो जवाफ दिन सकिनन् ।
‘हामीले ल्याएको विधेयक कानुनमा रही संशोधन गर्नुपर्ने भएकाले यसलाई छलफलको विषय बनाएका छौं,’ उनले भनिन्–सदनबाट आएका विषयहरुलाई मध्यनजर गरेर समितिमा दफावार छलफल गर्नेछौं । खेलकुद मन्त्री महर्जनले विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै आफूलाई खेलकुदप्रेमीहरुले नै सांसद् बनाएर पठाएको रोष्ट्रमबाट बोले । ३ सांसद्ले उठाएको प्रश्नको उत्तर दिने क्रममा मन्त्री महर्जनने खेलकुदक्षेत्रमा बजेट हालेन भन्नुभन्दा बजेट सुनिश्चिता गरिदिनु अनि कुनै सांसद्ले माग गरेको बजेट नकाट्दिने भन्दै जवाफ दिए । उनले दिएको जवाफ न विधेयकमाथिको छलफलमा केन्द्रित थियो, न त सांसद्हरुले उठाएका प्रश्नहरुको चित्तबुझ्दो जवाफ नै ।
उक्त विधेयकहरु प्रदेशसभाको चालु अधिवेशनमा पारित गर्ने प्रदेशसभाले तयारी गरेको छ । प्रदेशसभाको अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ ।
छलफल कति आवश्यक ?
बुधबार प्रदेशसभा बैठकमा पेश भएका विधेयकहरुमाथि सांसद्हरुले चासो नदेखाउनुले विधेयकमाथि सांसद्हरुको चासो छैन भन्ने बुझाउँछ । प्रदेशसभाका कानुन अधिकृत मनोज गुप्ताका अनुसार सांसद्हरुले सदनमा पेश भएका विधेयकहरुमाथि छलफल नभए कमीकमजोरी औंल्याउन नसकिने बताउँछन् । ॅविधेयकमाथि छलफलमा भाग नलिनु भनेको विधेयकप्रति चासो कम हुनु पनि हो,’ उनले भने–हुन त यो संशोधन गर्ने विधेयक हो । पहिल्यै बनिसकेको ऐन परिमार्जनका लागि सदनमा पेश गरिएको हो । तथापि, छलफल भने हुनैपर्छ ।
सदनको मर्यादा बुझेनन्
प्रदेशसभा सभामुख पाठक सांसद्हरुले सदनको मर्यादा नबुझेको स्वीकार गरेका छन् । समयमै बैठक हलमा उपस्थित नहुनु, छलफलमा सहभागी हुन नाम नटिपाउनु तथा सदन चलेकै समयमा दलको बैठक राख्नु गलत भएकोमा पाठक सहमत छन् । बैठक सकिएपछि आफूले सांसद्हरुलाई नियमावलीअनुसार अघि बढ्न सुझाव दिएको बताउँदै उनले भने–बैठकमा केही माननीयज्युहरुले मर्यादापालना त नगर्नु भएकै हो । उहाँहरुलाई मैले सजेसन दिएको छु । आगामी बैठकमा यस्तो नहोला ।