20 C
Makwānpur
Homeमुख्य समाचारफुटबल रंगशाला निर्माण अन्तिम चरणमा

फुटबल रंगशाला निर्माण अन्तिम चरणमा

हेटौंडा/बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले हेटौंडा–६ स्थित गौरीटार रंगशालामा निर्माणाधीन खेलकुद पूर्वाधारको स्थलगत् निरीक्षण गरी पूर्वाधार निर्माणको प्रगति विवरणबारे जानकारी लिएका छन् ।

निरीक्षणका क्रममा मन्त्री महर्जनले सम्बन्धित कार्यालय र निर्माण व्यवसायी कम्पनीलाई निर्माण कार्य तोकिएको मितिभित्र सम्पन्न गर्न निर्देशन दिँदै निर्माणको क्रममा गुणस्तरलाई विशेष ध्यान दिन आग्रह गरे । प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि गुणस्तरीय खेलकुद संरचना निर्माणका साथै खेलाडी प्रोत्साहनमा समेत काम गर्ने लक्ष्य लिएको उनले बताए । निरीक्षणका क्रममा मन्त्रालयका सचिव केशबराज सुबेदी र प्रदेश खेलकुद विकास परिषद्का इञ्जिनियर निवेश बर्तौलाले ब्रिफिङ गरेका थिए ।

रंगशालापरिसरमा करिब १८ करोड लागतमा फुटबल रंगशाला निर्माण गरिएको परिषद्ले जनाएको छ । सामाजिक विकास कार्यालय मकवानपुरमार्फत् निर्माण भइरहेकोे फुटबल रंगशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको र केही दिनभित्र प्रदेश खेलकुद विकास परिषद्लाई हस्तान्तरण गर्ने तयारी रहेको परिषद्का सदस्यसचिव दीपक लामाले जानकारी दिए ।

उनका अनुसार सोही क्षेत्रमा निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट रंगशाला र नेपालकै ठूलो पौडीपोखरी निर्माणको काम करिब ८० प्रतिशत् सम्पन्न भइसकेको छ । २० असार २०८२ भित्र क्रिकेट रंगशाला र पौडीपोखरी निर्माण सम्पन्न हुने उनले बताए ।

क्रिकेट रंगशालामा पहिलो चरणमा ६ सय ५० दर्शक क्षमताको प्याराफिटसहित ५ वटा पिच, ७० मिटर रेडिएसनको ग्राउण्ड भीआईपी कक्ष, खेलाडीकक्ष, चेञ्जिङ रुम, टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपांगमैत्री क्षेत्र, पार्किङलगायत संरचना निर्माण हुँदैछ । अन्तर्राष्ट्रियस्तरको पौडी प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरी नेपालकै ठूलो पौडीपोखरी र खेलाडीका लागि अभ्यास गर्न पौडी पोखरी तथा प्याराफिटलगायत संरचना निर्माण गरिँदैछ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here