27.9 C
Makwānpur
Homeमुख्य समाचारसप्ताहव्यापी अभियानसाथ पीपीआर खोप निःशुल्क

सप्ताहव्यापी अभियानसाथ पीपीआर खोप निःशुल्क

सुनिता बिष्ट

हेटौंडा/बागमती प्रदेशमा सप्ताहव्यापी अभियान सञ्चालन गरेर निःशुल्करुपमा पीपीआर खोप लगाइने भएको छ । प्रदेशका १३ वटै जिल्लामा माघ २४ गतेदेखि खोप अभियान सञ्चालन गरिने भएको हो । प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार ३० गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । भेंडाबाख्रामा लाग्ने हैजा रोग नियन्त्रण गर्ने उद्धेश्यले वर्षेनी पीपीआर खोप अभियान सञ्चालन हुँदै आएको छ । जसअन्तर्गत् यस वर्ष १६ लाख ५० हजार २ सय भेंडाबाख्रामा पीपीआर खोप लगाउने लक्ष्य राखिएको मन्त्रालयका प्रवक्ता सुजन कँडेलले जानकारी दिए ।

उनका अनुसार खोप अभियानका लागि संघीय सशर्त अनुदानमार्फत् २३ लाख ६८ हजार १ सय ७३ डोज खोप प्राप्त भएको छ । खोपको उपलब्धता धेरै रहे पनि अभियानमा भने १६ लाख बढी मात्र खोप लगाइने लक्ष्य मन्त्रालयले लिएको छ । यद्यपि, बाँकी खोप अभियानपश्चात् पनि लगाइने प्रवक्ता कँडेलले बताए । कुल प्राप्त खोपको ७० प्रतिशत् डोज खोप लगाइने मन्त्रालयले जनाएको छ ।

जिल्लास्थित पशुसेवा कार्यालयमार्फत् खोप लगाइने मन्त्रालयले जनाएको छ । जसअर्न्तगत् पशुसेवा कार्यालय दोलखालाई १ लाख ९२ हजार ३ सय २१ डोज खोप उपलब्ध गराइएको प्रदेशस्थित कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्यांक छ । मकवानपुरलाई ३ लाख २८ हजार, धादिङलाई ३ लाख ३४ हजार ८ सय ५७, चितवनलाई २ लाख १९ हजार ९ सय ५३ डोज खोप उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । काभ्रे र सिन्धुपाल्चोकलाई ५ लाख ५२ हजार ५१ डोज, नुवाकोट र रसुवालाई २ लाख १९ हजार ७ सय ५८, रामेछाप र सिन्धुलीलाई ४ लाख ६१ हजार ८ सय ९९ डोज र ललितपुर, भक्तपुर र काठमाडौंलाई १ लाख ३१ हजार ३ सय ३४ डोज खोप उपलब्ध भएको कृषि मन्त्रालयको तथ्यांक छ ।

यसअघि आर्थिक वर्ष २०७८/०७९ मा संघीय सशर्त अनुदानमार्फत् ११ लाख ९० हजार डोज खोप प्राप्त भएकोमा प्रदेशका १३ जिल्लामा ८ लाख ३० हजार १ सय ८७ भेंडाबाख्रामा खोप लगाइएको मन्त्रालयको तथ्यांक छ । आर्थिक वर्ष २०७९/०८० मा १२ लाख ६९ हजार डोज खोप प्राप्त भएकोमा ९ लाख ७९ हजार ९ सय २९ डोज खोप लगाइएको बताइएको थियो भने आर्थिक वर्ष २०८०/०८१ मा १५ लाख ९४ हजार डोज खोप प्राप्त भएकोमा ११ लाख ९७ हजार ९७८ डोज खोप लगाइएको मन्त्रालयको तथ्यांक छ ।

विगतमा प्राप्त खोपको तथ्यांक हेर्दा चालु आर्थिक वर्षको लागि खोप संख्या बढेर आएको पाइएको छ । यद्यपि, खोप लगाउन खटाइने भ्याक्सिनेटरलाई दिइने पारिश्रमिक अभावका कारण सबै खोप लगाउन नसकिने मन्त्रालयले जनाएको छ । पीपीआर भेंडाबाख्रामा लाग्ने घातक संक्रामक रोग भएकाले रोग फैलिँदा करिब ८० प्रतिशत्‌सम्म संक्रमित भेंडाबाख्रा मरेकाले उक्त रोग बढी घातक मानिन्छ ।

उक्त रोग अफ्रिका महादेशबाट आए पनि हाल विश्वका धेरै मुलुकमा फैलिसकेको र नेपालका अधिकांश जिल्लामा देखापरिसकेको छ नेपालमा २०५१/५२ तिर उक्त रोग देखापरेको हो । नेपाल सरकारले सन् २०३० भित्र उक्त रोग उन्मूलन गर्ने लक्ष्यसाथ कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रायः कृषकको आर्थिक आयआर्जनको पाटो कृषि र कृषिमध्ये पनि पशुपालन क्षेत्र भएको हुँदा भेंडाबाख्रा पालन गरिने भएकाले आर्थिक दृष्टिबाट उक्त रोगलाई विशेष घातक मानिन्छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here