बसन्त भण्डारी
हेटौंडा/नेपालको सवारी दुर्घटना तथ्यांक हेर्दा सडकसुरक्षाको गम्भीर समस्या स्पष्टरुपमा देखिन्छ । साउनदेखि पुससम्म ६ महिनामा देशभर ११ हजार ३ सय ३८ सवारी दुर्घटना भएका छन् । यी आँकडाहरु औसतमा दैनिक ६२ दुर्घटना हुने र त्यसमा ७ जनाको ज्यान जाने अवस्थालाई व्यक्त गर्छन् ।
यो केवल तथ्यांकको कुरा होइन, यो देशको सडकसुरक्षाको अवस्थाको गम्भीर संकेत हो । यसले ट्राफिक व्यवस्थापन र जनचेतनाको अभावलाई उजागर गरेको छ । ६ महिना अवधिमा १ हजार २ सय ३६ जनाको मृत्यु र ३ हजार २ सय ६२ जना गम्भीर घाइते हुनुले सडक सुरक्षाको स्थिति जटिल बनाएको छ । सामान्य घाइते हुनेको संख्या १५ हजार ५ सय १८ छ, जुन आँकडाले सडक दुर्घटनाका प्रभावको गहिराइलाई देखाउँछ । यी दुर्घटनामा सबभन्दा बढी मधेश प्रदेशमा भएका छन् भने सबभन्दा कम गण्डकी प्रदेशमा । प्रदेशगत् आँकडा हेर्दा मधेश प्रदेश ३ हजार २ सय ४८ दुर्घटनाका साथ सबभन्दा अगाडि छ भने गण्डकीमा १ सय ८५ दुर्घटना भएका छन् ।
लुम्बिनी प्रदेशका आँकडा झन् गम्भीर छन् । पुस महिनामा उक्त प्रदेशमा ३ सय ६५ सवारी दुर्घटनामा ५७ जनाले ज्यान गुमाएका छन् । ५ सय ९२ जना घाइते भएका छन् । उक्त तथ्यांकले लुम्बिनी प्रदेशका सडकको स्थिति कति कमजोर छ भन्ने कुरा प्रष्ट पार्छ । त्यहाँ रुपन्देही र दाङजस्ता जिल्लामा धेरै दुर्घटना भएको पाइन्छ । रुपन्देहीमा ८३ दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने दाङमा ५६ दुर्घटनामा ११ जनाले ज्यान गुमाएका छन् । नवलपरासी पश्चिम, बाँके र बर्दियाजस्ता जिल्लामा पनि सवारी दुर्घटनाको अवस्था गम्भीर छ ।
दुर्घटनाका प्रमुख कारण अध्ययन गर्दा तीव्रगति, मदिरासेवन, ट्राफिक नियम उलंघन र सडक संरचनाका समस्या मुख्यरुपमा पाइएको छ । धेरैजसो दुर्घटनामा चालकको लापरबाही प्रमुख कारण बनिरहेको छ । सडकमा गतिसीमा पालना नगर्ने, रातको समयमा मदिरासेवन गरेर सवारी चलाउने र ओभरटेक गर्ने जस्ता व्यवहारले दुर्घटनाको जोखिम बढाएको नेपाल प्रहरी बताउँछ ।
मधेश प्रदेशमा दुर्घटनाको संख्या सबभन्दा धेरै छ । ३हजार २ सय ४८ दुर्घटनाका घटना उक्त प्रदेशमा भएका छन् । यसले ट्राफिक व्यवस्थापन र सडक संरचनामा ठूलो सुधारको आवश्यकता देखाउँछ । काठमाडौं उपत्यकामा २ हजार ४ सय २९ दुर्घटना भएका छन्, जसमा धेरैजसो घटना सहरका भिडभाडयुक्त क्षेत्रमा भएको पाइन्छ । कोशी प्रदेशमा २ हजार ८ सय १७ दुर्घटना भएका छन्, जसमा २ सय ३२ जनाको मृत्यु भएको छ ।
लुम्बिनी प्रदेशमा पुस महिनामा भएका दुर्घटनाको आँकडाले उक्त क्षेत्रको जोखिमलाई झन् प्रष्ट बनाएको छ । रुपन्देहीमा ८३ दुर्घटनामा १ सय १६ जना घाइते भएका छन् । दाङमा ९७ जना घाइते भएका छन् । यस्ता दुर्घटनाको मुख्य कारण तीव्रगतिमा सवारी चलाउनु, मदिरासेवन र सडक संकेत अभाव रहेको प्रहरीको रिपोर्टले देखाएको छ ।
नेपाल प्रहरीका अनुसार पुस महिनामा ट्राफिक नियम उलंघन गर्ने १२ हजार २ सय ६७ सवारीसाधन कारबाहीमा परेका छन् । कारबाहीबाट १ करोड ३० लाख राजस्व संकलन भएको छ । तथ्यांकले ट्राफिक नियमपालना नगर्ने प्रवृत्तिको ठूलोस्तरलाई देखाउँछ । यसरी संकलित राजस्वलाई सडक संरचना सुधार र जनचेतना कार्यक्रममा लगानी गर्न सकिने ठोस योजना बनाइनुपर्छ ।
प्रहरीले जनचेतनामूलक कार्यक्रममार्फत् दुर्घटना न्यूनीकरणको प्रयास गरिरहेको छ । पुस महिनामा ५२ हजार भन्दा बढी सहभागी भएका १ हजार १ सय २६ वटा कार्यक्रम गरिए । यी कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक छ । विशेषगरि युवालक्षित सचेतना कार्यक्रम आवश्यक छ । किनभने, दुर्घटनामा पर्नेहरुको ठूलो हिस्सा युवावर्गमा पर्छ ।
आगामी दिनमा दुर्घटनाको संख्यामा कमी ल्याउनका लागि सडक संरचना सुधार र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्नु अपरिहार्य छ । दुर्घटनाका लागि जोखिमपूर्ण क्षेत्र पहिचान गरी त्यहाँका सडक संरचना सुधार गरिनुुपर्छ । स्पिडब्रेकर, संकेत बोर्ड र राति प्रकाशको राम्रो व्यवस्था गर्नुपर्छ । सीसीटिभी जडान र स्वचालित गतिजाँच प्रणाली प्रयोगबाट नियम उलंघन रोक्न सकिन्छ ।
नेपालका सडक हाल गम्भीर चुनौतीको सामना गरिरहेका छन् । दैनिक ६२ दुर्घटना र ७ जनाको मृत्यु हुने आँकडाले ट्राफिक व्यवस्थापनमा व्यापक सुधारको खाँचो देखाएको छ । यदि यी समस्या समयमै समाधान गर्न सकिएन भने भविष्यमा दुर्घटनाको संख्या बढ्ने निश्चित छ । दुर्घटनाका कारण न्यून गर्दै सडकसुरक्षाका लागि दीर्घकालीन योजना बनाउनुपर्छ । प्रहरी, प्रशासन, स्थानीय सरकार र नागरिकबीचको सहकार्यले मात्र उक्त चुनौती समाधान सम्भव छ ।