हेटौंडा/पूर्णसरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग घाटाको घिटघिटोमा छ । निजी सिमेन्ट उद्योगहरुले एकछत्र बजार जमाइरहँदा सरकारी स्वामित्वको सिमेन्ट उद्योग कोमामा छ भन्दा फरक नपर्ला ।
न सिमेन्ट उत्पादन छ, न त उद्योग पूर्णरुपमा बन्द । उद्योगले आर्थिक संकटको सामना गरिरिँदा सिमेन्ट उत्पादन अन्यौलमा छ । निजी सिमेन्ट उद्योगहरुको उत्पादनले बजार ढाकिरहँदा सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग कहिलेबाट पूर्णरुपमा बन्द हुने हो ठेगान छैन ।
हेटौंडा सिमेन्ट उद्योग आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म करिब १ अर्ब भन्दा बढी घाटामा छ । पछिल्लो तीन वर्षमा उद्योगको घाटा ३५ लाख भन्दा बढी रहेको उद्योग प्रशासनको तथ्यांक छ । एकातर्फ निजी क्षेत्रको लगानी रहेको उद्योगसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता, पुरानो उत्पादन उपकरण । सिमेन्ट उत्पादकका लागि आवश्यक कच्चापदार्थको निरन्तर मूल्यवृद्धि, उत्पादन लागतभन्दा कम मूल्यमा सिमेन्ट बिक्री गर्नुपर्ने बाध्यताबीच उद्योग दिनप्रतिदिन टाट पल्टने स्थितिमा पुगेको तथ्यांकले देखाउँछ । उद्योगको तथ्यांक हेर्दा हरेक वर्ष उद्योगको घाटा १० देखि १२ करोडले बृद्धि भइरहेको छ ।
आर्थिक संकट गहिरिँदै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा छ । उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । झण्डै तीन महिनासम्म बन्द रहेको सिमेन्ट कारखाना अब कहिले खुल्छ भन्ने कुनै खाका छैन ।
२०३३ मा हेटौंडाको लामसुरेमा स्थापना भएको उद्योगले २०४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको हो । उद्योगका मेसिनहरु पुरानो हुँदा उत्पादनमा समस्या हुने गरेको प्राविधिकहरु बताउँछन् । निजी सिमेन्ट उद्योगसरह नै सिमेन्ट उत्पादनका लागि प्लान्ट नयाँ प्रविधिको भिœयाउन आवश्यक रहेको उनीहरु बताउँछन् ।
उपकरण मर्मतसम्भार गरी मंसिर पहिलो साताबाट उत्पादन सुरु गर्ने बताइए पनि उपकरण मर्मत नसकिएकाले उत्पादन सुरु गर्न नसकेको उद्योग प्रशासन प्रमुख तथा सूचना अधिकारी हरेराम आचार्य बताउँछन् । उनका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ मा भदौ तेस्रो साताबाट मात्र सिमेन्ट उत्पादन सुरु गरिएको थियो । त्यसपछि असोजबाट बन्द भएको उद्योग विगत तीन महिनादेखि इन्तु न चिन्तुको अवस्थामा छ । उपकरण मर्मत सम्पन्न गरेर पुसबाट सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरिए पनि उपकरण मर्मत नसकिएकाले उत्पादनमा ढिलाइ भएको उद्योग प्रशासन प्रमुख तथा सूचना अधिकारी आचार्यले बताए ।
उद्योगका मेसिनरी औजार र प्लान्ट पुरानो हुँदा कोइला र विद्युत् खपत बढी रहेको उद्योगका महाप्रवन्धक वसन्तकुमार पाण्डे बताउँछन् । आर्थिक वर्ष २०६६/०६७ देखि २०६७/०६८ दुई वर्ष नाफामा रहेको उद्योग आर्थिक वर्ष २०६८/०६९ देखि २०७०/०७१ सम्म तीन वर्ष पुनः घाटामा गएको तथ्यांकले देखाउँछ । उद्योगले आर्थिक वर्ष २०७१/०७२ देखि आव २०७४/०७५ को ४ वर्ष अवधिमा पुनः नाफा गरे पनि त्यसयता निरन्तर घाटामा सञ्चालन हुँदै आएको छ ।
महाप्रवन्धकको कार्यमा ३५ करोड घाटा
२८ चैत २०७८ मा महाप्रवन्धक नियुक्त भएका थिए पाण्डे । उनी उद्योगमा आउँदा उद्योगको घाटा ८५ करोड थियो । त्यसयता वर्षेनी १०/१२ करोड घाटा बढ्दै जाँदा हाल कुल घाटा १ अर्ब १५ करोड भन्दा बढी पुगेको महाप्रवन्धक पाण्डे बताउँछन् ।
उनको कार्यअवधि चैत अन्तिममा सकिँदैछ । आफ्नो कार्यकालमा उपलब्धिमूलक काम गर्न नपाएको बताउँदै पाण्डेले भने–उद्योगलाई चलायमान बनाउँछु भनेरै आएको थिएँ । तर, सोचेजस्तो भएन । सिमेन्ट उत्पादन राम्रोसँग गर्न पाएनौं । अलिअलि भएको उत्पादन कर्मचारीको तलबमै सीमित भयो । उनले थपे–उद्योग चलायमान बनाउनुपर्छ भनेर संघको उद्योग मन्त्रालय र अर्थ मन्त्रालय त कति धाएँ, धाएँ । तर, सरोकारवाला निकायले चासो देखाएनन् ।
तलबमा मासिक करोड बढी
उद्योग घाटाको घिटघिटीमा रहे पनि कर्मचारीको संख्या भने व्यापक छ । उद्योगमा स्वीकृत दरबन्दी ६ सय ५५ जनाको थियो । हाल महाप्रवन्धकदेखि प्रशासन तथा प्राविधिक गरी १ सय ६६ जनाले काम गरिरहेका छन् । उनीहरुका लागि मासिक ७६ लाख बढी खर्च हुने गरेको प्रशासन प्रमुख आचार्यले जानकारी दिए ।
उनका अनुसार त्यसबाहेक दैनिक ज्यालादारीमा ९० जनाले उद्योगमा काम गर्दै आएका छन् । उनीहरुको दैनिक ज्यालादारी तलबबापत् २२ लाख भन्दा बढी खर्च हुने गरेको छ भने सुरक्षागार्ड ५३ जना कार्यरत् छन् । उनीहरुको मासिक तलबमा १४ लाख बढी खर्च हुने गरेको छ । कुल ३ सय ९ कर्मचारी रहेको उद्योगमा मासिक १ करोड १२ लाख भन्दा बढी रकम तलबमा खर्च हुने गरेको छ । त्यसबाहेक इन्धन, भत्तालगायत शीर्षकमा पनि उद्योगले कर्मचारीको खातामा रकम उपलब्ध गराउँदै आएको छ ।
के काम गर्छन् कर्मचारी ?
तीन महिनादेखि बन्द रहेको उद्योगमा यत्तिका कर्मचारीले के गर्छन् ? जो कोहीको मनमा पनि यो प्रश्न उठ्नु स्वभाविक हो । उद्योग प्रशासन प्रमुख आचार्यका अनुसार उद्योग बन्द रहे पनि कर्मचारीहरुले हाजिर गरिरहेका छन् । प्रशासन र प्राविधिक पक्षको काम उद्योग बन्द रहे पनि भइरहेको उनले बताए । ‘उद्योगका सिमेन्ट उत्पादन भएन भनेर जागिरमै नआउने कुरा भएन,’ उनले भने–आइरहनु भएको छ । हाजिर गरेपछि तलब उपलब्ध गराउनैपर्यो । हाल मासिक १ करोड १५ लाखजति तलबमा खर्च हुने गरेको छ ।
कसरी खान्छन् तलब ?
उद्योग आफैं घाटामा रहेको र उत्पादन ठप्प भएको अवस्थामा कर्मचारीलाई दिने तलबको व्यवस्थापन कसरी भइरहेको छ भन्ने प्रश्नमा प्रशासन प्रमुख तथा सूचना अधिकारी आचार्यले भने–सधैं उद्योग चलेको छैन । उद्योगमा उत्पादन भएको सिमेन्ट बजारमा गएर रकम आएपछि सोही रकमले तलब खाने काम भइरहेको छ ।
उनका अनुसार चालु आर्थिक वर्षमा उद्योगले ८ करोड ७७ लाख ५० हजारको सिमेन्ट बिक्री गरेको थियो । सोही रकमबाट कर्मचारीको तलबभत्ता व्यवस्थापन गरिरहेको छ । तर, पछिल्लो समय भने तलब पनि बाँड्न नसकिने अवस्थामा पुगेको उनले बताए ।
६ महिनामा २२ दिन उत्पादन
चालु आर्थिक वर्षको हालसम्म अवधिमा उद्योगले २२ दिन सिमेन्ट उत्पादन गरेको थियो । यस अवधिमा १ लाख ३५ हजार बोरा उत्पादन भएको सिमेन्ट प्रतिबोरा ६ सय ५० रुपियाँ (भ्याटसहित) का दरले बिक्री गरिएको थियो । एक दिन सिमेन्ट उत्पादन गर्दा कोइला खर्चमात्र ३३ लाख ६० हजार आउँछ । उक्त तथ्यांकअनुसार २२ दिन उद्योग चल्दा कोइला खर्चमात्र ७ करोड ३९ लाख २० हजार भएकोमा सिमेन्ट बिक्रीबाट ८ करोड ७७ लाख ५० हजार आम्दानी गरिएको थियो ।