19 C
Makwānpur
Homeमुख्य समाचारघरघरमा भत्किँदै ‘विश्वासका आधार’

घरघरमा भत्किँदै ‘विश्वासका आधार’

बसन्त भण्डारी

हेटौंडा/जेठ २८ गते भोजपुरमा ६८ वर्षीया निरकुमारी तामाङ छोराको खुर्पाप्रहारबाट ज्यान गुमाउँ छिन् । आमाको हत्या गर्ने तामाङले आक्रोश र असन्तोषलाई नियन्त्रण गर्न नसक्दा एउटी आमाको जीवन अन्त्य भयो । साउन २९ गते पर्सामा ससुरा र ज्वाइँबीच झगडाले परिवारको उज्यालो गुम्न पुग्यो । ६५ वर्षीय सीताराम सर्राफको ज्वाइँको कुटपिटबाट मृत्यु भयो । सानो विवाद समाधान गर्न नसक्दा परिवारभित्रको झगडा ज्यानै जाने स्तरमा पुग्नसक्छ भन्ने यो एक दुःखद् उदाहरण पनि
हो ।

साउन २६ गते सुनसरीको इटहरीमा घटेको घटना पनि भयावह छ । डेढ वर्षकी भतिजी काकाको क्रुरता सहन बाध्य भइन् । मानसिक रोगको शिकार शालिकराम लुइँटेलले बालिकाको घाँटी र टाउकोमा ब्लेड प्रहार गरी हत्या गरे । मानसिक स्वास्थ्यलाई समयमै सम्बोधन गर्न नसक्दा यस्ता घटनाले भयावह रुप लिन सक्छन् ।

भदौ २४ मा काभ्रेको पनौतीमा २१ वर्षीया प्रमिला भण्डारीले २ वर्षीय छोरीलाई खोलाकिनारमा फालेर हत्या गरिन् । ‘छोरी हराएको’ भन्दै प्रहरीमा उजुरी दिन पुगेकी प्रमिलाको व्यवहारले सबैलाई झुक्यायो । तर, अनुसन्धानले उनी नै अभियुक्त देखायो । हिकाउँदा बेहोस भएपछि खोलामा फालेको आमाले स्वीकार गरेको प्रहरीले सार्वजनिक गरेको थियो । एक आमाले छोरीलाई यस्तो कसरी गर्न सक्छिन् भन्ने प्रश्नले परिवारभित्रको गहिरो तनाव र निराशालाई उजागर गर्छ ।

असोज २२ गते गोरखाको बोटेगाउँमा ३६ वर्षीया पूर्णमाया बोटे पति पञ्चबहादुरद्वारा डोरीको पासोमा परेर ज्यान गुमाइन् । वैवाहिक सम्बन्धभित्रको विश्वासको चुरो भत्किँदा यस्ता घटना हुने गरेका छन् । कार्तिक २३ मा तनहुँमा भएको अर्को घटनामा ओमनारायण श्रेष्ठले पत्नीलाई बञ्चरो प्रहार गरी हत्या गरे । कारण घरायसी झगडा नै थियो ।

मंसिर ४ गते रुकुममा ३२ वर्षीया दीपा कुमालले पति मधुको हत्या गरिन् । चिर्पट प्रहारबाट पतिको ज्यान लिँदै गर्दा दीपाले परिवारलाई विनाशमार्गमा लगिन् । दीपाले पतिमाथि चिर्पटले टाउकोमा प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको थियो । पुस २१ मा सिन्धुलीमा ७६ वर्षीय डोमानसिं सार्कीले ४९ वर्षीय छोराको हत्या गरे । उनले माइला छोरामाथि घरायसी विवादका क्रममा गलप्रहार गर्दा लीलाबहादुर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको थियो । पितापुत्रबीच सानो विवादले ठूलो रुप लिनु समाजको सम्बन्ध व्यवस्थापनमा देखिएको कमजोरीलाई झल्काएको छ । नेपालमा पछिल्ला दिनमा घरेलुहिंसा र पारिवारिक विवादका कारण हत्याजस्ता गम्भीर घटनामा वृद्धि भइरहेको छ । सोमबार डडेल्धुरामा पतिले पत्नीलाई गोलीप्रहार गरी हत्या गरेको घटना उक्त समस्याको पछिल्लो उदाहरण हो ।

प्रहरी तथ्यांकअनुसार आर्थिक, मानसिक स्वास्थ्य समस्या र पारिवारिक असन्तुष्टिका कारण घरेलुहिंसाले भयावह रुप लिँदैछ । ‘आफ्‌ना भनेकै विश्वासका आधार हुन्,’ भन्ने भनाइ पछिल्ला केही समययता कमजोर हुँदै गएको छ । आफन्त, छिमेकी वा नजिकका चिनजानकै व्यक्तिबाट ज्यान लिने अपराधका घटना समाजलाई झस्काउने गरी वृद्धि भइरहेको देखिन्छ । घरेलुहिंसाबाट उत्पन्न विवाद, आवेग र आन्तरिक असन्तुलनका कारण अपराध बढेको तथ्यांकले प्रमाणित गरेको हो ।

नेपालमा पछिल्ला दिनमा पारिवारिक हिंसा र घरेलु विवादका कारण हुने हत्याका घटनाले गम्भीर रुप लिएको छ । नेपालका विभिन्न ठाउँमा पारिवारिक र घरेलु अपराधका घटनाले एउटा डरलाग्दो सन्देश दिएको छ । परिवारभित्रको सम्बन्धले विश्वासको आधार गुमाउँदै जाँदा जुन ठाउँ सुरक्षित र ममताको केन्द्र हुनुपर्दथ्यो, त्यही ठाउँ हिंसाको अखडा बन्न पुगेको देखिन्छ ।

यी सबै घटनाले एउटा गहिरो प्रश्न उठाउँछ—हाम्रो समाज कहाँ चुकिरहेको छ । घर, जसलाई हामी सुरक्षाको पहिलो स्थान मान्छौं, कहिलेकाहीं हिंसाको केन्द्र कसरी बन्छ । यी अपराध प्रायः घरभित्रको असन्तोष, आर्थिक समस्या र मानसिक रोगका कारण भएका छन् । भोजपुरकी निरकुमारी तामाङको घटना होस् वा काभ्रेको प्रिन्सिका भण्डारीको कथा, यसले एउटै चित्र देखाउँछ कि परिवारभित्रको अव्यवस्थित सम्बन्ध र समाजको कमजोर संरचना ।

घरेलुहिंसाका घटनामा अधिक वृद्धि भएको नेपाल प्रहरीको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७६/०७७ मा ५ सय ८ घटना रेकर्ड भएकोमा यो क्रम २०८१ सम्म पुग्दा १ हजार ६ सय ३३ पुग्यो । यस वर्ष मंसिरसम्म ४ सय ६७ घटना दर्ता भइसकेका छन् । उक्त तथ्यांकले घरेलुहिंसामा गम्भीर वृद्धिको संकेत गर्दछ, जसको सामाजिक र मानसिक असर समाजका विभिन्न पाटोमा देखिरहेका छन् ।

घरेलुहिंसा एक यस्तो समस्या हो, जसले समाजको संरचनालाई आघात पुर्‍याइरहेको छ । आव २०७६/०७७ बाट आव २०८१/०८२ सम्म प्रत्येक वर्ष घटना संख्या उल्लेखनीयरुपमा वृद्धि भएको देखिन्छ । आर्थिक असन्तोष, पारिवारिक विवाद, मानसिक स्वास्थ्य समस्या र समाजमा नितान्त बलियो सामाजिक संरचना अभावका कारण घरेलुहिंसा वृद्धि भइरहेका छन् ।

पछिल्लो समयको तथ्यांकले हिंसा बढेकोमात्र होइन, यसका पछाडि लुकेका गम्भीर कारणलाई पनि उजागर गरेको छ । परिवारका सदस्यबीच असहिष्णुता, परिवारिक समस्या, अनि मानसिक दबाबका कारण यस्ता हिंसात्मक घटना निरन्तर बढिरहेका छन् । आव २०७८/०७९ को तथ्यांकअनुसार प्रहरीमा दर्ता भएका १ हजार ३ सय ३३ घटनाको तुलनामा आव २०८१/०८२ मा बढेर १ हजार ६ सय ३३ घटना भएका छन् । यस समयको तथ्यांकले घरेलुहिंसाका कारण भएका मृत्युमा वृद्धि भएको देखाउँछ । विशेषगरि आव २०८०/०८१ र आव २०८१/०८२ का वर्षमा ८१ र १० घटनामा कर्तव्यज्यानपूर्वक ‘हत्या’ भएको तथ्यांक प्रहरीसँग छ ।

घरेलुहिंसाका घटनाले समाजमा एक नयाँ प्रकारको अस्थिरता र विश्वासको संकटलाई जन्म दिएको छ । जब परिवारभित्रको संरचना कमजोर हुन्छ वा जहाँ विश्वास र माया पर्ने स्थान हो, त्यही स्थानले हिंसात्मक गतिविधिलाई उत्पन्न गर्न सक्छ । यसले समाजमा मानसिक अस्थिरता र सामाजिक संरचनामा गहिरो विकृति ल्याउँछ । विशेषगरि एक पिताले छोरीको हत्या गर्दा वा एक आमाले सन्तानको ज्यान लिनुले परिवारका गहिरो तनाव र निराशालाई उजागर गर्छ ।

पछिल्लो ५ वर्षको तथ्यांकअनुसार नेपालमा घरेलुहिंसा वृद्धि भएको देखिन्छ । प्रदेशगत् हेर्दा कोशीमा घरेलुहिंसाका घटना लगातार बढिरहेका छन् । आर्थिक वर्ष २०७६/०७७ मा ५ सय ८ घटनाबाट आव २०८०/०८१ मा १ हजार ६ सय ३३ पुगेका छन् । हाल आव २०८१/०८२ को मंसिरसम्म ४ सय ६७ घटना त रिपोर्ट नै भएका छन् । मधेश प्रदेशमा पनि घरेलुहिंसा बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७६/०७७ मा २ हजार ५ सय २९ घटना दर्ता भएका थिए भने आव २०८०/०८१ मा ५ हजार ५ सय ९६ घटना पुगेका थिए । चालु आर्थिक वर्षको मंसिरसम्म २ हजार ६ सय ७९ घटना रिपोर्ट भइसकेका छन् ।

बागमती प्रदेशमा आव २०७६/०७७ मा १ हजार १ सय २६ घटना थिए भने आव २०८०/०८१ मा १ हजार ३ सय ३८ घटना रिपोर्ट भए । आव २०८१/०८२ मंसिरसम्म त्यस्ता घटना ५ सय ८७ पुगेका छन् । काठमाडौं उपत्यकाको भने छुट्टै तथ्यांक छ । जहाँ आव २०७६/०७७ मा २ हजार ४ सय ५९ घटना थिए भने आव २०८०/०८१ मा २ हजार ४ सय ५८ घटना घटे । आव २०८१/०८२ मा ८ सय ५४ घटना देखिन्छन् ।

आव २०८०/०८१ मा गण्डकीमा ५ सय १ घटना र लुम्बिनीमा २ हजार ७ सय ९६ घटना रिपोर्ट भएका थिए भने आव २०८१/०८२ मंसिरसम्म यी घटना क्रमशः २ सय ३९ र १ हजार २ सय १६ पुगेका छन् । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा घरेलुहिंसाका घटना तुलनात्मकरुपमा कम भए पनि आव २०८१/०८२ मंसिरसम्म ३ सय ६३ र ४ सय ८९ घटना रिपोर्ट भएका छन् । घरेलुहिंसाका कारण कर्तव्यज्यानको संख्या पनि चिन्ताजनक छ । कोशी प्रदेशमा आव २०८०/०८१ मा ३९ कर्तव्यज्यानका घटना भए भने आव २०८१/०८२ मंसिरसम्म ५ घटना घटेका छन् ।

समाधान के त ?
घरेलुहिंसा र पारिवारिक विवादका समस्या समाधानका लागि सबभन्दा पहिला समुदायस्तरमा जनचेतना अभियानलाई बलियो बनाउनु आवश्यक छ । नेपाल प्रहरीले यस विषयमा ४० हजारभन्दा बढी जनचेतना कार्यक्रम सञ्चालन गरेको छ, जसले हिंसा रोक्न महत्वपूर्ण भूमिका खेल्नसक्छ । यस्ता कार्यक्रमले मानिसलाई पारिवारिक र मानसिक तनावका लक्षण पहिचान गर्न र उनीहरुका समस्या समाधानमा मद्धत पुर्‍याउन सक्छ । समाजमा आएका संरचनात्मक परिवर्तन र मानसिक स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै समयमै परामर्श र उपचार सुबिधा उपलब्ध गराउनु जरुरी मानिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता विश्व अधिकारी भन्छन्‌–पहिला पनि यस्ता घटना घटेका थिए होलान् । तर, सूचनाको पहुँच र प्रचलनले हाल घटना बढेजस्तो देखिन्छ । अधिकारीका अनुसार घटना वृद्धि तथ्यांकले पुष्टि गरेको छ र यसलाई सम्बोधन गर्न ४० हजारभन्दा बढी जनचेतना कार्यक्रम सञ्चालन गरिएका छन् । आवेग, झगडा, नशासेवन, गलत सोच र पारिवारिक असन्तुष्टि नै हिंसाका प्रमुख कारक हुन् ।

मनोचिकित्सक र समाजशास्त्रीले भनेका छन् कि हिंसाको प्रमुख कारण आवेग नियन्त्रण कमी र मानसिक तनाव हो । त्यसैले मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न र परिवारभित्रको विश्वास र समर्थनलाई सुदृढ गर्न अत्यन्त आवश्यक छ । सामाजिक संरचनामा आएको परिवर्तन र मानसिक तनावलाई समयमै सम्बोधन नगर्दा हिंसा बढिरहेको भन्दै समाजशास्त्रीहरुले यसलाई एक गम्भीर चिन्ता मानिरहेका छन् ।

लैंगिक समानता र परम्परागत् सोचविरुद्ध सामाजिक चेतना फैलाउनका लागि सरकारी र गैरसरकारी संस्थाको समन्वय आवश्यक छ । कानुनी प्रक्रियामा ढिलाइ र पीडितको न्याय अभावले घरेलुहिंसा र महिलाविरुद्ध अपराधमा वृद्धि भएको महिला अधिकारकर्मीहरुको भनाइ छ । यसकारण सामाजिक र कानुनी संरचना सुधार गरिएमात्र हिंसा नियन्त्रणमा ल्याउन सकिने उनीहरुको विचार छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here