27.9 C
Makwānpur
Homeमुख्य समाचारकिसानको चिन्ता, अफ्रिकन स्वाइन फिबरले रित्तियो खोर

किसानको चिन्ता, अफ्रिकन स्वाइन फिबरले रित्तियो खोर

सुनिता बिष्ट

हेटौंडा/हेटौंडा उपमहानगरपालिका–११, सिमलटारकी साबित्री गोङ्बा पुरानो बंगुरपालक कृषक हुन् । उमेरले झण्डै ७० लाग्नै लागेकी साबित्रीले सिमलटारमा बंगुर पाल्न थालेको दुई दशक बित्यो । सुरुमा २/४ वटा बंगुरबाट सुरु गरेको बंगुलपालनले साबित्रीलाई व्यवसायी बनायो । कुनै समय उनले बनाएका खोरमा ७० देखि ९० वटासम्म बंगुर हुन्थे । वार्षिक ८/१० लाख त फाइदा हुन्थ्यो । तर, पछिल्लो समय बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिबर रोगका कारण साबित्रीमात्र होइन, मकवानपुरका बंगुरपालक किसानहरु मारमा परेका छन् ।

रोग नियन्त्रणका लागि खोप तथा औषधिसमेत हुने नभएकाले रोग लागिसकेपछि उपचार गरेर बंगुर बचाउँछु भन्न नपाएकै कारण आफ्‌नो खोरमा रहेका बंगुर मरेर खोरै रित्तो हुनेसम्मको अवस्थामा पुगेको उनको गुनासो छ । ‘खै रोग हो ? थररर काँप्छ, घर्लप्प भुइँमा ढलेपछि उठाउन सकिन्न,’ साबित्रीले भनिन्‌–यसरी नै कति बंगुर मर्‍यो मर्‍यो । तीन क्वीन्टलजतिको २० वटा बंगुर मर्‍यो । पठापाठीको त हिसाबै छैन । जन्मिएपछि निलो भएर मर्‍यो । गर्भिणी माउमात्र ६ वटा जति मरिसक्यो । पेटमा बच्चा भएकै बेला माउ मरेपछि बच्चाले जन्म लिनै पाएन ।

आफूले पालेका बंगुर मर्न थालेपछि साबित्रीलाई अब बंगुर पालौं कि नपालौं भएको छ । उनीजस्तै बंगुरपालन पेशामा रमाइरहेका कृषक हुन् पाल्देन गोम्बा । उनका खोरमा पनि कुनै समय ३५ वटासम्म बंगुर थिए । केही बेचेर भ्याए । तर, बेचेको भन्दा धेरै मरेरै सकियो । अटाइनअटाइ खोरमा बस्ने गरेका बंगुर मरेपछि उनको खोर पनि रित्तिएको छ । सबै मरेपछि एउटा बेच्ने बेला भएको र दुई वटा पाठामात्र बाँकी छन् । त्यो पनि कुन बेला भुइँमा ढल्ला भन्ने चिन्तामा आफूहरु रहेको गोङ्बा बताउँछन् । ‘सबै मरेर सकियो, यो एउटा बाँकी छ । त्यो पनि कुन बेला ढल्ने हो थाहा छैन,’ उनले भने–यस वर्षमात्र बंगुर मर्नाले ५ लाख भन्दा धेरै घाटा लाग्यो । खोर सबै खाली भएका छन् । अब त कहिल्यै बंगुर नपालौं जस्तै लागेको छ ।

सिमलटार क्षेत्रमा मात्र होइन, मकवानपुरको अन्य स्थानीय तहहरुमा पछिल्लो समय अफ्रिकन स्वाइन फिबर रोगले आक्रान्त बनाइरहेको छ । आफ्‌नो खोरमा पालेका बंगुर ज्वरो आएर थरथर काँप्दै भुइँमा ढलेपछि मर्ने समस्याले मकवानपुरका बंगुरपालक किसान चिन्तित देखिएका हुन् ।

वर्षौंदेखि व्यावसायिकरुपमा बंगुरपालन गर्दै आएका सिमलटारका किसानहरु अफ्रिकन स्वाइन फिबरले पेशाबाट विस्थापित हुनुपर्ने अवस्थामा पुगेका छन् । मकवानपुरमा मात्र उक्त रोगका कारण झण्डै २ सय हाराहारीमा बंगुर मरेको पशुसेवा कार्यालय मकवानपुरको तथ्यांक छ । पछिल्लो तथ्यांकअनुसार १ सय ९० बंगुर मरिसकेका छन् । बंगुरहरुमा तीव्ररुपले अफ्रिकन स्वाइन फिबर फैलिएसँगै यसको रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न कार्यहरु सञ्चालन गरिएको पशुसेवा कार्यालय मकवानपुरका प्रमुख डा. ब्रजकिशोर ठाकुर बताउँछन् ।

उनका अनुसार उक्त रोग नियन्त्रणका लागि जिल्लामा अफ्रिकन स्वाइन फिबरको प्रकोप न्यूनीकरणका लागि बंगुरपालक किसानसँग सचेतनामूलक अन्तत्र्रिmया, किसानका लागि जैविक सुरक्षा कायम गर्न चुन, फिनाइल र स्प्रे र जिल्लाको विभिन्न स्थानमा सचेतनामूलक बोर्ड राखिएको उनको भनाइ छ ।

छिमेकी मधेश प्रदेश हुँदै मकवानपुर भित्रिने नाका हेटौंडाको रातोमाटे, बागमतीको राईगाउँ र चितवनसँग जोडिएको लोथर क्षेत्रमा कडाइ गर्नु आवश्यक छ । तर कुनै पहलकदमी नभएको उनी बताउँछन् । आफ्‌नो पशुधनको रुपमा रहेको बंगुर मरेर खोर नै रित्तो हुँदा चिन्तामा रहेका किसानहरुलाई पशुवीमाबापत् रकम उपलब्ध गराउनका लागि समेत पहल भइरहेको कार्यालयको दाबी छ ।

मंंसिर दोस्रो साताबाट हेटौंडा उपमहानगर र भीमफेदी गाउँपालिकामा स्वाइन फिबरबाट १ सय ९० बंगुर मरेका छन् । बंगुर मरेपछि काठमाडौंमा रहेको केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला पठाइएको नमूनामा अफ्रिकन स्वाइन फिबर पुष्टि भएको थियो । अफ्रिकन स्वाइन फिभर फैलिन नदिन मरेका बंगुरलाई सावधानीपूर्वक जमिनमा गाड्न, एक ठाउँबाट अर्को ठाउँमा बंगुरका पाठा तत्काल नलैजान, फर्ममा स्प्रे गरेर निसंक्रमण बनाउन पशुसेवा कार्यालय मकवानपुर प्रमुख डा. ठाकुरले आग्रह गरे । उनले रोगबाट मरेका बंगुर काटेर नखान सुझाए ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here